डाक्टर, नर्स र स्वास्थ्यकर्मीको सुरक्षाप्रति राज्यको ध्यान पुगोस्
चीनबाट फैलिएको कोरोना भाइरसका कारण संक्रमण हुने रोग कोभिड—१९ ले अहिले संसारलाई अस्तव्यस्त बनाएको छ । गत जनवरीमा चीनमा पहिलोपटक देखिएको यो भाइरस छोटो अवधिमा नै विश्वका प्रायजसो सबै राष्ट्रमा फैलिइसकेको छ ।
नेपालमा पनि कोभिड—१९ को संक्रमण नहोस् भनी सरकाले विभिन्न क्रियाकलाप जारी राखेको छ । त्यसको म सराहना गर्दछु । तर साथै यसमा अलिकति पनि नरमी तथा ढिलाई गर्न नहुन हार्दिक आग्रह गर्दै हामी सबै आ—आफ्नो ठाउँबाट त्यत्तिकै जिम्मेवार भै संवेदनशील भै होस्टे मा हैंसे गर्नुपर्ने देखिन्छ । क्वारेन्टाइन र आसोलेसन बेड बनाइरहँदा त्यो भन्दा धेरै ठूलो, बृहत् र चुनौतीपूर्ण तयारीहरुको गम्भीर जिम्मेवारी बेलैमा हामीले पूरा गर्नुपर्ने टड्कारो आवश्यकता महसुस भइरहेको छ ।
साथै हामीले जति सुकै जिम्मेवारीको बोध गरेपनि सरकार यति खेर ठोस, विभेदरहित, स्पष्ट र अर्थपूर्ण योजना समयमै नल्याएमा हामीले आफूलाइ यो घडीमा असहाय एवं हिनताको बोध हुनुबाहेक अरु केही गर्न सकिन्न ।
लकडाउनलाई अझै कडाइका साथ पालन गर्दै, देशवासी, स्वस्थ्यकर्मीहरु, सुरक्षाकर्मी तथा कोरोना संक्रमणमा दिन रात घरबाहिर रही खट्नेहरुको दैनिक आवश्यकतालाई सहजिकरण गर्ने जिम्मा नागरिक समाजसेवीहरु, उद्योग ब्यापरका संघ संगठनहरुमार्फत नियोजित ढङ्गले गर्दै, देशका अस्पतालहरु, हजारौं डाक्टर, नर्स तथा अस्पतालको अरु सबै कर्मचारीहरुलाई कोरोना भाइरस संक्रमितको उपचारमा कसरी योजनाबद्ध रुपले लगाउने भन्ने काम गम्भीरतापूर्वक गर्नुपर्ने देखिन्छ ।
यो बेला सरकारी, निजी, यो त्यो भन्ने र विभेदपूर्ण बोली र व्यवहार गर्ने बेला होइन ।
निजी अस्पतालमा सेवा लिन जानेहरु पनि यही देशका नागरिक हुन् । देशका अस्पतालहरु, हजारौं डाक्टर, नर्स तथा अस्पतालका अरु सबै कर्मचारीहरु कोरोना भाइरस संक्रमितको उपचारमा जोखिमपूर्ण काम गर्न तयार छन् ।
तर सरकारले यसका लागि चाहिने आवश्यक उपकरणको ब्यवस्था छिटोभन्दा छिटो गर्नुपर्दछ ।
सरकार चालकको स्थानमा बसी स्वास्थ्यका कर्मचारी तयार पारेर कहाँ र कता खटाउने ? कसलाई के जिम्मा दिने ? कसको निगरानीमा कसलाई राख्ने भन्नेबारे नीति सबैलाई स्पष्ट पार्न अरु ढिलो गर्नुहुन्न ।
अस्पतालहरू पिपिई (पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट) नभएको भन्दै मन्त्रालय धाइरहेका छन् ।
स्वास्थ्यका कर्मचारीहरुलाई पिपिई उपलब्ध गराएर सेवा दिने व्यवस्था गरे स्वास्थकर्मी मात्रै सुरक्षित हुने हैन कि यसले सम्पूर्ण समाजलाई पनि उनीहरुबाट संक्रमित हुनबाट जोगाउँछ ।
स्वाथ्यकर्मी सँग ज्ञान त छ तर सुरक्षा कबच नदिकन उसलाई कोरोना बिरुद्धको लडाइँमा होम्न हुँदैन ।
स्वास्थ्यकर्मी हामीसँग छन् । तर कोरोना भाइरसको संक्रमण भएका वा आशंका भएका बिरामीको उपचार गर्नका लागि व्यक्तिगत सुरक्षा अपनाउन प्रयोग गरिने विभिन्न उपकरण हामी सँग उप्लब्ध छैनन् ।
स्वाथ्यकर्मी नै सुरक्षित नभएपछि कोभिड—१९ बाट हामी सुरक्षित हुनेछौँ भनेर सोच्न सकिन्न । नसोची नबुझी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरुको पवित्र पेशाप्रति नकारात्मक तथा झूठा भ्रम फैलाउनेहरु प्रति कठोर रबैया देखाई सरकारले देशमा भएका सबै स्वाथ्यकर्मीलाई एकजुट गरेर उपचार गराउन प्रेरित गर्नुपर्ने देखिन्छ ।
हामी सम्पूर्ण स्वास्थ्यकर्मीहरु पैसा र जागिर भन्दा पनि राष्ट्रलाई कसरी जोगाउने भन्नेमा चिन्तित छौं ।
सबै स्वास्थ्य कर्मचारीलाई पिपिई उपलब्ध गराएर आ— आफ्नो ठाँउबाट सहयोग गर्न प्रेरित गर्नु आवश्यक देखिन्छ । स्वास्थ्यकर्मी एकजुट बनाएर कोभिड—१९ सँग लड्ने समय हो । अहिलेको अवस्थामा राष्ट्रलाई स्वाथ्यकर्मीको र स्वाथ्यकर्मीलाई हौसला तथा पिपिईको आवश्यक छ । (प्रा.डा. कार्की काठमाडौं मेडिकल कलेजमा प्रमुख कार्यकारी एवं प्रिन्सिपल हुनुहुन्छ ।)