Logo
|
Wednesday 25th December 2024
Logo

epaper

लकडाउनले सिकाएको पाठ: निराशालाई निस्तेज पार्दै कसरी आशाको दियो बाल्ने ?



उदाहरणबाट भन्दा पनि गल्तीबाट सिक्ने मानवीय प्रवृत्ति नै हो । हामी उर्जाशील, प्रगतिवान र कर्मशील छौं ।
मानव चन्द्रमामा पुगिसक्यो तर स(साना दुःखमा निराश र दुःखी हुन छोड्दैन । क्षणीक आवेशलाई नियन्त्रण गर्न नसक्दा आत्महत्याका घटनासमेत दोहोरिने गरेका छन् ।
जीन्दगी अमूल्य छ । यसलाई सकारात्मक कार्यमा संलग्न गराउन सके धर्तीमा बसेर पनि स्वर्गीय आनन्द लिन सकिन्छ । यो उर्जा र कर्मशील जीवनलाई सत्कार्यमा लगाउने तर्फ सबैको ध्यान केन्द्रित हुनुपर्छ । यसबाट धर्तीलाई नै ‘स्वर्ग’ नामाकरण गर्न सकिनेमा कुनै दुइमत छैन ।
मस्तिष्कले एक सेकेण्डमा २० हजार ट्रिलियन क्याल्कुलेशन गर्न सक्ने भनाइ छ । अहिलेसम्म यस्तो कुनै कम्प्युटरको आविष्कार हुन सकेको छैन । अतः हाम्रो मस्तिष्क शक्तिशाली छ । त्यसैले नकारात्मक कुराहरुको पछि समय वर्वाद नगराउनु नै वेश हुन्छ । दुःखी भएर सुख कदापी देख्न र सुन्न सकिदैन ।
जीवनलाई सुन्दर, सरल र रोमाञ्चित बनाउनुपर्छ ।

प्रकृतिले सुन्दर फूल, बगैंचा, झरना, नदीनाला, तालतलैया, रंगिचंगी बोटबिरुवा, पशुपंक्षी, हरिया डाँडाकाँडा, खनिज सम्पदालगायत यावत जीव जीवात्माहरुको बारेमा बयान नै गर्न नसकिने मनोरम चिजविजहरु सित्तैमा उपहार दिएको छ । यस्तो वातावरण र परिवेशमा पनि किन नकारात्मक सोच विचारले ग्रस्त छौं ? यो आहार, बिहार, आचार र विचारको उपज त होइन ? भन्ने पनि प्रश्न उब्जिन सक्छ ।

यो सुन्दर संसारमा जथाभावी बोल्न, हिँड्न, मोजमस्ती गर्न र अरुलाई पीडा दिन कदापि आएका होइनौं । जीवनलाई कसरी उपयोगी र सहि मार्गमा डोर्याउने भन्ने बारे सोच्नुपर्छ र आफूलाई क्रियाशील राख्नुपर्दछ । जस्तोः कुनै खाली जमिनलाई बाँझो छाडेमा विभिन्न किसिमका घाँसका प्रजातिहरुले हैकम जमाएजस्तै हो मानव मस्तिष्क पनि । मस्तिष्कलाई क्रियाशील नवनाउँदा नकारात्मक विचारहरुले डेरा जमाउँछ ।
अहिले नेपाललगायत विश्वले कोभिड -१९ कोरोना भाइरसको महामारी भोगिरहेको छ । लाखौँको ज्यान लिएको यो भाइरसबाट बच्न अनेक उपायहरुको खोजी भइरहेको छ । जसमध्ये लकडाउन (अर्थात आ-आफ्नो स्थानमा सुरक्षित रहने, बाहिरी सम्पर्कबाट टाढा रहने) पनि एक हो ।
तर कतिपयलाई यो लकडाउनले पीडित तुल्याएको छ । धेरैजसोको आर्थिक हिसाबकिताब गडबढ भएको छ । नेपाल लगायन विश्वको अर्थतन्त्र डामाडोल भएको छ । तर पनि लकडाउनको नियम नमानी सुखै छैन ।
यद्यपी यसलाई सकारात्मक ढंगले सोचेर भोलिका दिनमा सुधार हुने आशा लिनुपर्छ र आत्मविश्वास बढाउनुपर्छ । साथै भविष्यको सोच, विचारलाई अझ स्फूर्त बनाउने तर्फ लाग्नुपर्छ ।
लकडाउनका कारण वायुमण्डल स्वच्छ भएको छ । यो हाम्रो र हाम्रा सन्ततीका लागि खुशीको कुरा हो । मानवको ज्यादतिका कारण पशुपंक्षी र जनावरहरुले पाएको सास्तीबारे हामीले कहिल्यै सोचेनौं । आज तिनीहरु आजाद महशुस गरिरहेका छन् । प्रत्येक जीवजीवात्मामा दैवत्व भएको र ‘अरुको दुःख पीडा पनि हाम्रै पीडा हो’ भन्ने बुझ्नुपर्छ ।

यस परिस्थितिले हामीलाई उन्माद, घमण्ड र उदण्डपनको कुनै अर्थ नरहेको बोध गरायो । गरिब, धनी, उच्च, नीच जो कोहीले पनि नियम पालना गर्नुपर्ने बुझायो ।

आज हामीलाई बुबाआमा र पूर्वजहरुले सिकाएको त्यहि पूजापाठ, धुपध्वार, मन्त्र र शंखध्वनीको महत्व ज्ञात भएको छ । आखिर उहाँहरु सही हुनुहुँदोरहेछ भन्ने कुराको बोध महामारीको घटनाले सम्झाएको छ । बेलाबेलामा हात धोइरहने जस्ता व्यवहारिक ज्ञान हाम्रा पूर्वजहरुले सिकाएका थिए जुन आज विश्वले नै प्रमाणित गरिदियो । पूर्वीय जीवनशैली सहि रहेको यस घटनाले प्रमाणित गरेको छ । पश्चिमा मुलुकका जनताले पनि पूर्वीय संस्कृति, रीतिरिवाजको प्रशंसा गर्न थालेका छन् ।
घरभित्र सोझै पस्नुअघि हातमुख धुने, सम्भव भएसम्म बस्त्र फेरेर मात्र भित्र पस्ने र बाहिर पनि कसैसँग हात नमिलाउने, नमस्कार गर्ने, अंकमाल नगर्ने, बेलाबेलामा हात धोइरहने वा स्यानिटाइजरको प्रयोग गरेमा निरोगी रहन मद्धत गर्ने हामीलाई यो लकडाउनले सिकायो ।

यो अवस्थालाई हामीले समुन्द्र मन्थन गर्दा ‘अमृत पनि निस्कन्छ’ भन्ने जस्तै सकारात्मक सोच राख्नुपर्दछ । यो अवसर पनि हो र आफूलाई सुधार्ने, प्रकृति सँगको सह—अस्तित्वमा नै हाम्रो अस्तित्व भएको सोच्ने मौका पनि हो ।

अबको समय भने मानव र जीवजन्तुको कल्याणकारी क्षेत्रमा ध्यान पुर्याउने, हाम्रो खानपिनको बानी सुधार्ने, क्षमाशील बन्ने, उदार बन्ने, प्रकृतिको दोहन होइन संरक्षण गरी त्यसको रसस्वादनगर्ने, सदा आपूmलाई जागरुक राख्ने, अरुको इष्र्या होइन सम्मान गर्ने, सेवा गर्ने, सेवा नै धर्म हो भन्ने भाव मनन गर्ने, योग, ध्यान र अध्ययन अनुसन्धानतिर आफूलाई समर्पित गर्नुपर्छ । सिर्जनात्मक काम गर्ने, आफूलाई अन्तर मनदेखि चिन्ने, गरिब दुःखीको सेवा र उपकारमा आफूलाई संलग्न गराउने जस्ता सोचको विकास गर्नुपर्छ । जीवनको एक सत्य यो पनि हो कि जति त्यागमा आनन्द मिल्छ त्यति प्राप्तीमा मिल्दैन ।
हामीलाई चाहिएको त शान्ति, स्वस्थ्य जीवन र सुरक्षित वातावरण हो । जागरुकता विना यो असम्भव छ । मनको चञ्चलता, कल्पना र वकालतलाई चेतनाको स्तरबाट आफूलाई सजग राख्ने कला नै जागरुक रहने कला हो ।
स्वस्थ्य जीवनका लागि खानपिन पहिलो श्रेणीमा पर्दछ । पूर्वीय खानपिन बारेमा नयाँ अनुसन्धान भइरहेको छ । यस भाइरसबाट बच्न पाश्चात्य खाना र पकाउने विधिभन्दा पूर्वीय खानपिन र पकाउने बिधि उपयुक्त हो कि भन्ने बिषयमा चासो बढेको छ । यद्यपी यस परिस्थितिले अबका दिनमा यावत बिषयहरुमा अनुसन्धान बढ्ने र सुधार हुने अपेक्षा गरिएको छ ।
अन्त्यमा, पौराणिक ग्रन्थमा पृथ्वीलाई माता समान मानिएको छ । माता हाम्रो आश्रय हो भने उनको रक्षा गर्नु हाम्रो कर्तव्य हो । यति सुन्दर मातालाई प्रशन्न राख्न हामी मानव अनुसाशित बन्नु पर्दछ, उर्जावान बन्नु पर्दछ र एक आपसमा मैत्रीभाव राख्नुपर्दछ । यसरी प्राकृतिक सम्पदाको जर्गेना गर्दै सकारात्मक सोचलाई उच्च राख्दै लकडाउनले सिकाएको पाठलाई ध्यानमा राखी जीवनयापन गर्न सके हामी र हाम्रा भावी पुस्ताले शान्तिको सास फेर्न सक्छन् । (केसी नेपाल नेत्रज्योति संघको वोर्ड सेक्रेटरी हुनुहुन्छ । )

प्रतिक्रिया दिनुहोस्