कोभिड—१९ महामारीमा नर्सिङ अनुभव: बिरामीको सेवामा सुरक्षित जुट्न र जुटाउन नर्सिङ टिम यसरी भयो सफल
जनस्वास्थ्य सरोकार, काठमाडौं । झण्डै अढाई दशकदेखि नर्सिङ पेशामा संलग्न वरुणा पौडेल हाल काठमाडौंको धुम्बाराहिस्थित ह्याम्स हस्पिटलको नर्सिङ निर्देशक हुनुहुन्छ । बीरेन्द्र सैनिक अस्पतालमा नर्सिङ स्टाफबाट करियर शुरु गरेपछि विभिन्न अस्पतालमा लामो समय उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनु भएको छ । हाल कोभिड—१९ को प्रकोपमा अग्रपङ्तीमा रहेर नर्सिङ टिमलाई परिचालन गर्नमा व्यस्त हुनुहुन्छ । भेन्टिलेटरमा राखेर कोभिड—१९ का बिरामीहरुको उपचार गर्ने ह्याम्स पहिलो निजी अस्पताल हो । बीरेन्द्र सैनिक अस्पतालमा कार्यरत छँदा राजदरवार हत्याकाण्डका घाइतेलाई आईसियूमा राखेर उपचार गरेको ऐतिहासिक अनुभव छ । लामो नर्सिङ सेवामा रहेर अनुभव हाँसिल गर्नु भएकी पौडेलको नर्सिङ करियर र कोरोना संक्रमण लगायतका विषयमा जनस्वास्थ्य सरोकारले यस अंकमा अन्तर्वार्ता प्रस्तुत गरेको छ ।
नर्सिङ पेशामा कसरी आकर्षित हुनुभयो ?
‘नर्सिङ‘ शव्दले वाल्यावस्थादेखि आकर्षित गरेको हो । बिरामीको सेवा गर्ने, दिनदुःखीलाई सहयोग गर्ने, सिकिस्त बिरामीलाई केयर गर्ने जस्ता कुरा भित्रैदेखि मनमा आइरहन्थ्यो । त्यसले गर्दा नर्सिङतर्फ मनदेखि नै आकर्षित भएकी हुँ । नर्सिङ पेशा सानैदेखि एकदमै मन पर्दथ्यो ।
मेरो परिवारको चाहना पनि नर्सिङ अध्ययन गरोस् भन्ने थियो । मेरो दिदीले पनि नर्सिङ अध्ययन गरेको र उहाँले लगाएको ह्वाइट ड्रेसले यो विधातिर आकर्षित गरायो । यद्यपी नर्सिङ अध्ययन गर्न पाए हुन्थ्यो भन्ने मनदेखि लागेको थियो । यसमा मेरो दाइको पनि मुख्य भूमिका छ । उहाँलाई मेडिकल क्षेत्र धेरै मन पर्छ ।
मैले बीर हस्पिटल नर्सिङ क्याम्पसबाट २०५४ सालमा स्टाफ नर्स उत्तीर्ण गरेकी थिएँ । एक वर्षजति नेपाल मेडिकल कलेजमा काम गरेँ । मैले सबभन्दा लामो समय सैनिक अस्पतालमा बिताएँ । सैनिक अस्पतालमा ह्वाइट ड्रेस त लगाउनुपर्दैनथ्यो । तर सैनिक तालिममा सिकेको सीप र प्रोफेस्नालिज्मको पाठले आजसम्म सफल भएको छु । मेरो सफलताको पहिलो श्रेय सैनिक अस्पताललाई नै दिन्छु । सैनिक पेशामा रहनुभएका डाक्टर र सिनियर सिस्टरहरुमध्ये जो जो सँग मैले तालिम र काम गरेँ, उहाँहरु प्रति म निकै आभारी छु ।
नर्सिङ कस्तो पेशा हो ?
‘लेडिज अफ द ल्याम्प’ भनेर फ्लोरेन्स नाइटिंगेललाई चिनिन्छ । नर्सले बिरामीलाई केयर मात्र गर्दैनन्, बिरामीको समस्याबारे पनि त्यतिकै परिचित हुनुपर्छ । यद्यपी बिरामीका दैनिक समस्या समाधान गर्दै जाने भएकाले बिरामीप्रति छुट्टै माया बसेको हुन्छ ।
नर्सिङ पेशालाई सैद्धान्तिक ज्ञानको आधारमा व्यवहारिकतामा ढाल्न सक्नुपर्छ । सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा ढाल्न सकेको अवस्थामा मात्र नर्सिङ पेशा ‘प्रोफेसन’ हुन्छ । बिरामीको सेवा गरेपछि इफेक्टिभ हुनुका साथै खुशी भएर जानुपर्दछ र बिरामीको आवश्यकता अनुसार समस्या समाधान गर्दै जानुपर्छ ।
यहाँको अध्ययन र शैक्षिक योग्यताबारे स्पष्ट पारिदिनुस् न ?
शुरुमा ५ कक्षासम्मको अध्ययन जन्मस्थल रामेछापको सैपुमा भयो । त्यसपछि हेटौडा गएँ । मैले एसएलसी हेटौंडाबाट दिएकी हुँ । त्यो बेला लेडिजमध्येबाट मकवानपुर जिल्ला टप गरेको थिएँ । त्यसपछि बीर हस्पिटल नर्सिङ कलेजमा पढेँ र दुई वटा विश्वविद्यालयबाट नर्सिङमा र हेल्थमा मास्टर्स डिग्री गरेकी छु । हाल अस्पताल व्यवस्थापन सम्बन्धि शिक्षा लिने कोशिस गरिहेको छु ।
नर्सिङ निर्देशकसम्म आइपुग्दा कस्तो अनुभव सँगाल्नुभएको छ ?
नर्सिङ स्टाफ हुँदा आफ्ना सिनियरहरुको मातहतमा रहेर काम गर्नुपर्दथ्यो । यस्तो बेलामा बिरामीको सेवाबाहेक अन्य कुराको त्यति जिम्मेवारी वहन गर्नुपर्दैन थियो ।
तर नर्सिङ निर्देशक भएर जिम्मेवारी वहन गर्दा हस्पिटलमा कार्यरत सबै नर्सका २४ घण्टा ड्युटीदेखि लिएर उनीहरुको दुःख, पीडा, समस्याहरुमा ध्यान दिनुपर्छ । नर्सिङ प्रोफेसन कसरी प्रभावकारी बनाउने, आफू मातहतका नर्सहरुलाई क्वालिफाइड कसरी बनाउने जस्ता कुरामा ध्यान दिनुपर्छ । साथै २४ सै घण्टा नर्सिङ पेसामा आउनसक्ने समस्याबारे संवेदनशील भइरहनुपर्छ ।
त्यसैगरी बिरामीहरुको सेवा र नर्सिङ केयर सम्बन्धि कुरालाई ध्यान दिनुपर्ने हुन्छ । यस्ता समस्याहरु अस्पतालभित्र मात्र नभएर नर्सिङ सम्बन्धि बाहिरबाट भइपरी आएका कुराहरुलाई पनि जिम्मेवारी बहन गर्नुपर्दछ ।
कोभिड—१९ महामारीमा सुरक्षित सेवा कसरी दिन कसरी सफल हुनुभएको छ ?
डिसेम्भर—२०१९ मा कोभिड भाइरस पत्ता लागेपछि ‘निश्चित समयपछि नेपालमा आउनसक्छ’ भनेर मानसिक रुपमा तयार भएर बसेका थियौं । सोही अनुसार अस्पताल व्यवस्थापन र इन्फेक्सन कन्ट्रोल टिमसँग सहकार्य भइरहेको थियो । सबै नर्सिङलाई कोभिड सम्बन्धि कसरी प्रिकर्सन लिने भन्ने कुराको तालिम दिन पनि सफल भएका थियौं ।
कोभिड—१९ का बिरामीलाई गुणस्तरीय सेवा कसरी दिने र गुणस्तरीय सेवा कसरी बढाउने, पिपिई कसरी लगाउने, दूरी कसरी मेन्टेन गर्ने, मास्क कसरी लगाउने, बिरामीहरुको छेउमा कसरी जाने जस्ता हरेक प्रकारका व्यक्तिगत सुरक्षासम्बन्धि तालिम दिएर तयारी अवस्थामा थियौं ।
कोभिड—१९ उपचारमा संलग्न नर्सलाई सामाजिक दृष्टिकोण कस्तो पाउनुभयो ?
नयाँ पुस्ताका कतिपय नर्स बहिनीहरु सानो कुराले पनि डराउने र इमोस्नल हुने गर्छन् । कोभिड—१९ उपचारमा संलग्न नर्सहरुलाई समाजले हेर्ने दृष्टिकोण पनि सकारात्मक छैन । यो महामारीमा नर्सिङ टिमलाई सम्झाउँदै सुरक्षित साथ बिरामीको सेवामा जुट्न र जुटाउन सफल भएका छौं । उपचारमा संलग्न नर्सहरुलाई अस्पतालबाट घर जान पनि समस्या हुन्थ्यो । सुरक्षित तरिकाले अस्पताल व्यवस्थापनले अस्पतालमा नै खान बस्ने सुविधा उपलब्ध गराएर सेवालाई निरन्तरता दिन सफल भएका छौं ।
अहिलेको अवस्थामा अस्पतालमा काम गरेका नर्सहरुलाई घरभित्र छिर्न नदिने, घरबेटीले स्वीकार नगर्ने, गेटमा ताल्चा लगाउने, घरबाट निस्कन दवाव दिने गरेको पाइएको छ । घरबाट निकाल्ने समस्या, तलब नदिने लगायतका समस्याले कति नर्सहरु त सेल्फ प्यानिक छन् ।
शुरुमा कोभिड—१९ का बिरामी अस्पतालमा आउँदा डर लागेन ?
डर त अवश्य लाग्दथ्यो । यो हाम्रो लागि नयाँ रोग थियो । जब अस्पतालमा बिरामी आउन थाले, हामीलाई त्यस्तो नयाँ कुरा केही पनि लागेन किनकि हाम्रो सम्पूर्ण सुरक्षाको तयारी नेपाल सरकार स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको गाइडलाइन र मापदण्ड अनुसार नर्सिङ र अस्पतालका अन्य कर्मचारीहरुलाई तालिम दिएर तयारी अवस्थामा राखेकाले सफलताका साथ उपचार सेवा उपलब्ध गराउन सफल भयौं ।
अस्पताल व्यवस्थापन, अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्मा, इन्फेक्सन कन्ट्रोल प्रमुख डा. अनुप सुवेदीलगायतका सम्पूर्ण डाक्टरहरुले नर्सिङलाई सकारात्मक बाटोबाट सहयोग र समन्वय गर्नु भएकाले सहज रुपमा काम गर्न सफल भयौं ।
संक्रमणको यो महामारिमा त्रासको महसुस गर्नुभएको छ ?
अहिलेको अवस्थामा यस अस्पतालमा मात्र नभई विश्वभर नै त्रास बढेको छ । कुन बेला के हुन्छ भन्ने नजरअन्दाज गर्न सक्ने अवस्था छैन । त्यसैले स्वरसम्राट नारायण गोपालको वहुर्चित गीत ‘आँखा छोपी नरोउभनि भन्नू पर्या छ ।
मुटुमाथि ढुंगा राखी हाँस्नु पर्या छ ।।
भोलि उठी कहाँ जाने केही थाहा छैन ।
फर्की आउने हो कि हैन केही थाहा छैन ।।
वाचा छिटै आउँछु भनी गर्नु पर्या छ ।’ जस्तै छ अहिलेको हाम्रो जीवन ।
फ्रन्टलाइनमा बसेर कोभिड—१९ को उपचारमा खटिँदा ‘आफूलाई पनि संक्रमण हुने हो कि’ भन्ने डर र त्रासका बीच काम गर्नुपरेको छ । अरुको त कुरा छोडौं, मेरै परिवार र आफन्तहरुमा पनि यस्ता कुरा स्वीकार गरिँदैन । यद्यपी सावधानी अपनाउने, नियमित हात धुने, सामाजिक दूरी कायम राख्ने, समूहमा भेला नहुने, मास्क लगाउने गर्नाले यो रोग सर्नबाट जोगिन मद्धत पुग्ने कुरा सबैले बुझ्न जरुरी छ ।
नर्स र डाक्टरबीचको समन्वय कस्तो हुनुपर्छ ?
बिरामीलाई प्रभावकारी उपचार सेवा प्रदान गर्न नर्स र डाक्टरबीच नङ र मासुको जस्तै सम्बन्ध हुनुपर्छ । डाक्टरहरुले बिरामीको समस्या डाइग्नोसिस गर्नुका साथै रोगको उपचार गरेर मेडिसिनहरु प्रेस्क्राइब गरेर जाने गर्छन् । डाक्टरहरु २४ घण्टामा दुई चार पटक मात्र आउने गर्छन् । तर २४ सै घण्टा बसेर बिरामीको सेवा गर्ने नर्स नै हो । बिरामीलाई समयमा औषधि खुवाउने, औषधिले काम गरे नगरेको ख्याल गर्ने, औषधि दिएपछि लक्षण कम भएनभएको, बिरामीका अन्य समस्यालगायत चौतर्फी कुरामा ध्यान दिनुपर्छ ।
डाक्टर र नर्सको सकारत्मक सोच, को—अर्डिनेसन, को—अपरेसन र राम्रो कम्युनिकेसनले गर्दा जटिल अवस्थामा रहेका बिरामीहरु पनि निको भएर घर फर्कन सफल हुने गर्छन् ।
नर्सहरु शोषित हुने गरेको भन्ने गुनासो पनि आउने गर्छ नि ?
नर्सिङमा अध्ययन गर्दा धेरै खर्च हुन्छ । बीएस्सी नर्सिङमा करिब १२—१५ लाख रुपियाँ लाग्छ, पिसिएल नर्सिङमा कम्तिमा पनि ८—१० लाख रुपियाँ खर्च हुन्छ । यति धेरै खर्च गरेर अध्ययन गरेका नर्सहरुको तलब ५ हजार रुपियाँदेखि शुरु हुन्छ । त्यसमा पनि ६ महिनाजति त भोल्युन्टियर काम गर्नुपर्छ ।
वास्तवमा नर्सिङ पेशा पीडित छ । सरकारले नर्सिङको भनेजति सेवा र सुविधा उपलब्ध गराउन सकेको छैन ।
स्वास्थ्य मन्त्रालयले रिक्तपदपूर्तिका लागि लोकसेवामार्फत दरखास्त खोल्ने, विभिन्न क्षेत्रमा अवसर सृजना गर्ने र नर्सको तलब तोकेको अवस्था छैन । वास्तवमा नर्सको उत्पादन र व्यवस्थापनलाई ख्याल नगरेमा धेरै नर्सहरु विदेश पलायन हुनुपर्ने बाद्यता आउनसक्छ ।
कसरी समाधान गर्न सकिएला ?
मुलुकमा नर्सिङ पेशालाई व्यवस्थित र मर्यादित बनाउन नीति बनाउन जरुरी छ । सरकारी रिक्त पदपूर्तिका लागि लोकसेवा खुलाउने, सरकारी अस्पतालहरुमा बिरामी नर्स अनुपात मिलाउनुपर्छ । धेरै सरकारी अस्पतालहरुमा बिरामी नर्स अनुपात मिलेको छैन । अन्तर्राष्ट्रिय प्रोटोकल अनुसार बिरामी नर्स अनुपात मिलाएको अवस्थामा हाल मुलुकमा रहेका नर्सले पुग्दैन ।
यसका साथै नर्सहरुको निश्चित तलब हुनुपर्छ । अनुभवको आधारमा तलब तोकिनुपर्छ । त्यही अनुसार पदोन्नति पनि हुनुपर्छ । अस्पतालहरुमा बिरामी नर्स अनुपात छ कि छैन भनेर सरकारले बेलाबेलामा अनुगमन गर्नुपर्छ । अनि मात्र गुणस्तरीय सेवातर्फ सबैको ध्यान जान्छ ।
नेपालमा बिरामी नर्स अनुपातको अवस्था कस्तो छ ?
विश्व स्वास्थ्य संगठनको गाइडलाइनअनुसार, आईसियूमा एक जना बिरामी बराबर एक जना नर्सको जरुरत पर्छ । इमर्जेन्सी र जनरल वार्डमा एकजना नर्सले ३—५ जना भन्दा बढी बिरामी केयर गर्न पाइँदैन । क्याबिनमा ३—४ जना भन्दा बढी हेर्न पाइँदैन । बिरामीको अनुपात अनुसार नर्सहरुलाई ड्युटीमा लगाउँदा अहिलेको नर्सहरुले पुग्न सक्दैन । तर सरकारी अस्पतालहरुमा नर्स र बिरामीको अनुपात मिलाइएको छैन । आईसियूमा एकजना नर्सले ४—५ जनासम्म बिरामी हेर्नुपर्ने बाद्यता छ । बिरामी नर्स अनुपात मिलाएको अवस्थामा बिरामीले राम्रो सेवा पाउँछन् । यसले गर्दा नर्सिङ पेशा इफेक्टिभ हुनुका साथै गुणस्तरीय नर्सिङ केयरको विकास हुन्छ ।
यसैगरी केन्द्रिय र प्रादेशिक सरकारी अस्पतालहरुमा बिरामी नर्स अनुपात छुट्याउन सकेमा बेरोजगार नर्सहरुले रोजगार प्राप्त गर्न सक्छन् । उद्योग, पेशागत क्षेत्र, विद्यालय, कलेज, बैकिङ क्षेत्र, होटल लगायतका क्षेत्रतिर नर्सहरुलाई परिचालन गर्नुपर्छ । यसले इफेक्टिभ नर्सिङ केयरिङ प्राप्त गर्न सकिन्छ । त्यसैगरी नर्सिङ कलेजमा पनि कलेजको मापदण्ड अनुसार अनुभवी शिक्षकहरुको आवश्यकता पर्दछ । जसले गर्दा बिद्यार्थीहरुलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान हाँसिल गर्न सहज हुन्छ ।
यहाँको नर्सिङ जीवनमा अविस्मरणीय कुनै घटना छ ?
बीरेन्द्र सैनिक अस्पतालमा कार्यरत रहँदा १९ जेठ २०५८ मा राजदरवार हत्याकाण्ड भएको थियो । हत्याकाण्ड भएको त्यो रात म अस्पतालको आईसियूमा थिएँ । घटनाका घाइतेहरुलाई प्रत्यक्ष सेवा गर्ने मौका पाएको थिएँ । संकट के हो ? कसरी आउँदो रहेछ ? भन्ने कुरा प्रत्यक्ष देखेँ । हत्याकाण्डका त्यति धेरै डेथ बडीहरु अस्पतालमा हुँदा हृदयदेखि नै आँशु आएको थियो । यद्यपी संकटको घडीमा पनि नर्सको भूमिकाको प्रत्यक्ष अनुभव गर्ने मौका पाएँ ।
नर्सले आत्मविश्वासका साथ काम गर्नुपर्छ भनेको के हो र मनलाई कसरी दरो बनाउनुपर्छ भन्ने कुराको यो घटनापछि मात्र थाहा पाएँ । जीवनको योे मेरो पहिलो घटना थियो ।
कस्तो अवस्था खुशीको महसुस हुन्छ ?
सिकिस्त भएर आकस्मिक कक्षमा आइपुगेको बिरामी र लामो समयदेखि उपचारपछि ठीक भयो भनेर जब बिरामी हाँसेर जान्छ त्यो बेला मलाई एकदमै खुशी महसुस हुन्छ ।
बिरामीको केयरको जिम्मेवारी दिनुपूर्व नर्सहरुलाई कसरी योग्य बनाइन्छ ?
जब अस्पतालमा नयाँ नर्स भर्ना गरिन्छ । उनीहरु विभिन्न कलेजहरुबाट अध्ययन गरेर आउँदा सबैको फरक विचार हुन्छ । नर्सहरुलाई बिरामीको सेवामा जानपूर्व तालिम र टिमवर्कको महत्व बुझाउन सकेमा सम्भावित समस्याहरु कम गर्न सकिन्छ । नयाँ नर्सहरुलाई एकहप्ता सम्म तालिम उपलब्ध गराइन्छ । अस्पतालको रुल्स रेगुलेसन साथै जुन विभागमा जाने हो त्यस विभागको बारेमा आधारभूत तालिम उपलब्ध गराइन्छ ।
उनीहरुलाई गुड प्रोफेसनल अनुशासन र अन्तिम अवस्थामा आइपुगेको बिरामीलाई सिपिआर गर्ने तरिका, डकुमेन्टहरु कसरी राख्ने ? बारेमा विभिन्न किसिमका तालिमहरु दिइन्छ । साथै बिरामीहरुसँग कसरी को—अर्डिनेसन र कम्युनिकेसन गर्ने भन्नेबारे तालिमहरु दिएपछि मात्र नर्सहरुलाई सम्बन्धित विभागमा प्रवेश गराइन्छ ।
ह्याम्स नर्सिङ इम्पावरमेन्ट कार्यक्रम के हो ?
ह्याम्स नर्सिङ इम्पावरमेन्ट (सशक्तिकरण) कार्यक्रमको नेतृत्व मैले नै गरिरहेको छु । यसमा अस्पताल व्यवस्थापनको पूर्ण साथ र सहयोग रहेको छ । यो कार्यक्रमले नर्सहरुलाई विभिन्न किसिमका तालिम दिने, आत्मविश्वास विकास गर्ने, बिरामीको केयरलगायतका हरेक आधारभूत ज्ञानबारे तालिम दिएर सशक्तिकरण गराएका छौं । यसले गर्दा नर्सिङहरुको आत्मविश्वास बढ्नुका साथै क्वालिटी नर्सिङ केयरको विकास बढाउन मद्धत पुर्याएको छ ।
अन्त्यमा के सन्देश दिनुहुन्छ ?
आफ्ना व्यक्तिगत समस्या लुकाएर बिरामीको अगाडि हाँसीखुशी नै हुनुपर्ने हाम्रो पेशा हो । आफ्नो घरपरिवार, आफन्तजन, साथीभाइ नभनी यो कोभिड १९ को प्रकोपमा दिनरात खटेर बिरामी सेवामा जुटेका देशविदेशका दिदीबहिनीहरुलाई धन्यवाद दिन चाहन्छु ।
स्टाफ नर्सदेखि नर्सिङ निर्देशकसम्मको करियरमा साथ र सहयोग दिने मेरो परिवार र आफन्तजनप्रति आभार व्यक्त गर्दछु । जुन रुपले मलाई सहयोग गर्ने अस्पताल व्यवस्थापन डाक्टर, नर्स र सम्पूर्ण कर्मचारीहरुले म प्रति गर्नुभएको सपोर्ट र सहयोगलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । यस अस्पतालमा भएका सम्पूर्ण नर्सिङ परिवारलाई एक टिम भएर अगाडि बढ्न अनुरोध गर्दछु । सँधै यस्तो माया र सहयोगको अपेक्षा गर्दछु ।