Logo
|
Wednesday 24th April 2024
Logo

epaper

फ्रन्टलाइनमा काम गर्ने औषधि व्यवसायीहरु कोरोना विरुद्ध खोपको प्राथमिकतामा परेनन्



जनस्वास्थ्य सरोकार, काठमाडौं । यतिखेर प्रत्यक्ष बिरामीलाई औषधि उपलब्ध गराउन फ्रन्टलाइनमा खटिने औषधि व्यवसायीहरु कोभिड—१९ विरुद्धको निःशुल्क खोप लगाउनबाट बञ्चित भएका छन् । राज्यले प्राथमिकतामा नराखेको नेपाल औषधि व्यवसायी संघ केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

हाल २१ हजार भन्दा बढी औषधि व्यवसायीहरु औषधि व्यवस्था विभागमा दर्ता भएर मुलुकभर छरिएर सेवा प्रवाह गरिरहेका छन् ।
‘हामीले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेयश त्रिपाठी (माघ २९ गते) र स्वास्थ्य सचिव लक्ष्मण अर्याल (माघ २६ गते) लाई प्रत्यक्ष भेटी औषधि पसलका धनी, व्यवसायी तथा कर्मचारीहरुलाई कोभिड–१९संक्रमणको जोखिम उच्च रहेकाले खोप लगाउने कार्यमा व्यवसायीहरुलाई प्राथमिकतामा राखी यथाशीघ्र निःशुल्क खोप लगाउने कार्य गरिदिन ज्ञापनपत्रसहित अनुरोध गरेका थियौं ।’—नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले भन्नुभयो— ‘तर हाम्रो समस्या सुनुवाई भएको छैन ।’
मुलुकभर छरिएर रहेका औषधि व्यवसायीहरुको संस्था नेपाल औषधि व्यवसायी संघ बि.सं.२०३० सालमा भएको हो । नेपाल सरकारबाट स्वीकृती प्राप्त गरी केन्द्रीय कार्यालय, सातैं प्रदेशमा प्रदेश स्तरीय कार्यालय र ४८ जिल्लामा जिल्लास्तरीय शाखा स्थापना गरेको छ । नेपाल औषधि व्यवसायी संघ जनस्वास्थ्यको सुरक्षाको लागि गुणस्तरीय औषधिको उपलब्धतामा सरलता तथा मूल्यमा एकरुपता कायम राख्ने लगायत व्यवसायिक हकहितको रक्षार्थ स्थापनाकालदेखि नै सक्रिय रह“दै आएको संस्था भएको स्पष्ट पार्दै अध्यक्ष श्रेष्ठले विज्ञप्ति जारी गर्दै राज्यले जन हितार्थ तर्जूमा गरिने स्वास्थ्य नीतिहरुको प्रभावकारी कार्यान्वयनमा सकारात्मक भूमिका निर्वाह गर्दै आएको संस्था भएको स्पष्ट पार्नुभएको छ ।

देशमा विगतमा आईपरेका असहज परिस्थितिका अवस्थाहरु जस्तैः महाभूकम्प, छिमेकी मुलुकले लगाएको अघोषित नाकाबन्दीलगायत मानव जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने औषधि जस्तो अति सम्बेदनशील व्यवसाय गर्ने हामी औषधिव्यवसायीहरुले देशैभर अत्यावश्यकीय साथै गुणस्तरीय औषधिहरु अभाव हुन नदिई, मूल्यमा एकरुपता कायम राख्दै औषधिको सहज उपलब्धतालाई व्यवस्थित बनाई व्यवसाय सञ्चालन गर्दै आईरहेको अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो ।

‘हालको विषम परिस्थिति कोभिड –१९ को समय लकडाउनको समयमा उत्तरदायित्व वहन गर्ने गरी अहोरात्र खटी देशको हरेक कुनाबाट अर्को कुना काप्चा सम्म औषधिको अभाव हुननदिई सम्पूर्ण औषधिपसल सञ्चालन गरी औषधिको सहज उपलब्धता गराएको विदितै छ ।’—अध्यक्ष श्रेष्ठले भन्नुभयो—‘पत्रकार साथीहरुले हाम्रो समस्या बुझी यस सम्बन्धि समाचार सम्प्रेषण र प्रकाशन गरिदिनुहुन बिनम्र अनुरोध गर्दछु ।’

2077110302_press_release

प्रतिक्रिया दिनुहोस्