Logo
|
Saturday 20th April 2024
Logo

epaper

क्यान्सरमा खानपान



जनस्वास्थ्य सरोकार । विश्व क्यान्सर अनुसन्धान कोष नामक संस्था गरेको अध्ययनले दैनिक खाद्य परिकार राम्रोसँग निरीक्षण र परीक्षण गरेर मात्रै खाने गरेमा क्यान्सरको जोखिमलाई ३० देखि ४० प्रतिशतसम्म कम गर्न सकिन्छ । छानेर स्वास्थ एवं सन्तुलित भोजन खाने, शारीरिक व्यायाम गर्ने र धुम्रपानमुक्त भएमा ६० देखि ७० प्रतिशतसम्म क्यान्सरको खतरा घटाउन सकिन्छ ।क्यान्सर सबैभन्दा खतरनाक रोग हो । यो शरीरको कोषिकाहरुमा तीब्र गतिमा फैलिने रोग हो । क्यान्सर शुरुमा पत्ता लागेमा यसको उपचार संभव भएको विशेषज्ञहरु बताउँछन् । तर दोस्रो चरणमा प्रवेश गरेको क्यान्सर उपचार मुस्किल हुने बताइन्छ । यहाँ क्यान्सरबाट बच्ने तरिकाबारे केही चर्चा गरिएको छ ।
स्वस्थ आहार
भिटामिन र पोषणयुक्त खानेकुरा सेवन गर्नाले क्यान्सर हुने खतरा कम गर्न सकिन्छ । आफ्नो खाना तालिकामा हरियो र पत्तेदार सागसब्जी प्रयोग गर्नुपर्छ । आफ्नो नियमित खानामा अण्डा, मसरुम, गाँजर, बन्दा गोभी, गोलभेडा आदि सामेल गर्नुपर्छ । तरकारी र फलफूलमा धेरै मात्रामा फाइबर पाइने भएकाले क्यान्सरबाट बच्न मद्धत गर्छ ।
नियमित ब्यायाम
हजारौं महिलाहरुमा हालै भएको अध्ययनअनुसार, जो महिला नियमित शारीरिक अभ्यास गर्छन् उनीहरुलाई स्तन क्यान्सर हुने खतरा कम हुने पत्ता लागेको छ । क्यान्सरबाट बच्न कमसेकम एक हप्तामा ५ दिन करिब ३० मिनेट वाकिङ गर्न जरुरी हुन्छ । यदि हिँड्ने समय नभएमा घरमा नै केही हल्का शारीरिक अभ्यास गर्न सकिन्छ ।
पाराम्परिक तरिकाले खाना बनाउने
खाना माइक्रोवेबमा पकाउने र धेरै तार्दा खानाको पौष्टिकता समाप्त हुन्छ । त्यसैले खानालाई उसिनेर र वाफले पकाउने कोशिस गर्नुपर्छ । ताजा खाना खानुपर्छ । बासी खाना तताएर खान त्यति राम्रो मानिदैन ।
रातो मासु नखाने
रातो मासुको सेवनले प्रोस्टेट क्यान्सरको खतरा बढ्दछ । नेशनल क्यान्सर इन्स्टिच्यूटको अध्ययन अनुसार, रातो मासुको सेवन गर्नाले प्रोस्टेट क्यान्सर हुने खतरा १२ प्रतिशतसम्म बढ्दछ । रातो मासुको प्रयोग धेरै गर्ने महिलाहरुमा स्तन क्यान्सर हुने खतरा बढ्छ ।
चिनी र नूनको सेवन धेरै नगर्ने
धेरै मात्रामा मिठाई खानबाट बच्नुपर्छ । खानामा नूनको मात्रा सिमित राख्नुपर्छ । यसले क्यान्सरको खतरा बढउँछ । चिनीमा फाइबरको मात्रा कम हुन्छ । यसले शरीरको पोषक क्षमतलाई कमजोर पार्दछ । धेरै नूनको सेवन गर्नाले पेटको क्यान्सर हुने संभावना रहन्छ ।
धुम्रपान नगर्ने
धुम्रपान गर्ने मानिसलाई क्यान्सरको खतरा बढी हुन्छ । धुम्रपान गर्ने व्यक्तिहरुमा धेरै प्रकारका क्यान्सरहरु जस्तै फोक्सो, मुत्रथैली, पाठेघरको क्यान्सर, मिर्गौलाको क्यान्सर आदि हुने संभावना रहन्छ । यदि तपाईं गुट्खाको सेवन गर्नुहुन्छ भने मुख र पाचक ग्रन्थीमा क्यान्सर हुनसक्छ । यदि तपाईं धुम्रपान गर्नुहुन्न तर धुम्रपान गर्ने मानिसको सम्पर्कमा रहनुहुन्छ भने फोक्सोमा क्यान्सर हुने जोखिम रहन्छ । त्यसैले धुम्रपान गर्नबाट बच्नुपर्छ ।
अल्कोहल सेवन कम गर्ने
अल्कोहलको धेरै सेवनले पनि क्यान्सरको खतरा बढाउँछ । यदि तपाईं क्यान्सरको जोखिमबाट बच्न चाहनुहुन्छ भने अल्कोहलको सेवन कम गर्नुस् । लामो समयसम्म धेरै मात्रामा अल्कोहल पिउनाले स्तन क्यान्सर, मलद्धारको क्यान्सर, फोक्सो र कलेजको क्यान्सर हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्