तपाईंलाई क्यान्सर छ कि ? यसरी गरिन्छ क्यान्सर डायग्नोसिस
जनस्वास्थ्य सरोकार । क्यान्सर चाँडो पत्ता लगाउन सकेमा यसको राम्रो उपचार गर्न सकिन्छ । यसका लागि नियमित रुपमा शारीरिक परीक्षण एवं ल्याव परीक्षण गराउन जरुरी हुन्छ ।
केही क्यान्सर जीन बीआरसिए (BRCA) र बीआरसी टू (BRCA-2) परिवारका नयाँ पुस्तामा सर्दैै आउन सक्ने भएकाले यस्ता क्यान्सर अगाडी नै पहिचान गरेर बच्न सकिन्छ । जस्तो अमेरिकन नायिका एन्जेलिना जोली पनि एउटा राम्रो उदाहरण हो । जसको आमालाई स्तन र ओभरियन क्यान्सर भएपछि त्यो जीन छोरीमा पनि आउन सक्ने पत्ता लागेपछि जोलीले आफ्नो ओभरी र स्तन निकालेकी थिइन् ।
कुनै पनि व्यक्तिको शरीरमा क्यान्सर हुन थालेपछि सम्बन्धित भागको कोषमा परिवर्तन आउन थाल्छ । माइक्रोस्कोपको मद्धतले क्यान्सर हुनु भन्दा अगाडि कोष (सेल) मा आएको परिवर्तन स्क्रिनिङ गरेमा २–४ वर्ष पछि हुनसक्ने क्यान्सरको संभावना पहिचान हुन्छ र राम्रो उपचार गरेमा क्यान्सर लाग्नबाट जोगिन सकिन्छ । यस्ता क्यान्सरहरुमा पाठेघरको मुख, प्रोस्टेट, स्तन, आन्द्रा, छालाको क्यान्सर रहेका छन् ।
पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ
पाठेघरको मुखको क्यान्सर चाँडो पत्ता लगाउन स्त्री तथा प्रशुति विशेषज्ञ सँग नियमित जाँच गराउनुपर्छ र हरेक तीन वर्षमा भिआइए र प्यापस्मियर टेष्ट गराउनुपर्छ । ३० देखि ६५ वर्ष उमेरका महिलाहरुले हरेक तीन वर्षमा एक पटक ह्युमन प्यापिलोमा भाइरस (एच.पी.भी.) मोलिक्युलर टेष्ट गराउन जरुरी हुन्छ ।
यो टेष्ट गराउनाले एचपीभीको संक्रमण पहिचान हुन्छ । एच.पि.भी. को सम्बन्ध पाठेघरको मुखको क्यान्सरसँग रहेको हुन्छ ।
प्रोस्टेट क्यान्सर स्क्रिनिङ
वंशाणुगत समस्या भएका लोग्ने मानिसले ४० वर्षको उमेरबाट प्रोष्टेट क्यान्सरको स्क्रिनिङ गराउन जरुरी हुन्छ । पारिवारिक समस्या नभएका व्यक्तिले ५० वर्षको उमेरबाट प्रोष्टेट क्यान्सर स्क्रिनिङ गराउँदा हुन्छ । यसबाट प्रोस्टेट क्यान्सर हुनसक्ने संभावना चाँडै पहिचान हुन्छ । अतः यस किसिमको प्रोष्टेट क्यान्सरको जोखिमबाट बच्न न्यूनतम दुई वर्षको फरकमा प्रोष्टेट स्पेसिफिक एन्टिजेन (पिएसए) टेष्ट गराउनुहोला ।
स्तन क्यान्सर स्क्रिनिङ
महिलाहरु ४५ वर्ष देखि ५५ वर्ष उमेरसम्म हरेक वर्ष स्तनको म्यामोग्राफी स्क्रिनिङ गराउनुपर्छ । ५५ वर्ष उमेर पुगेपछि २ वर्षको फरकमा महिलाले म्यामोग्राफी स्क्रिनिङ गराउनुपर्छ । यसबाट संभावित स्तन क्यान्सरको जोखिमबाट बच्न र बचाउन सकिन्छ ।
बाउल (आन्द्रा) को क्यान्सर स्क्रिनिङ
यस किसिमको क्यान्सर आन्द्रामा हुने गर्छ । समस्या पहिचानका लागि सम्बन्धित चिकित्सकको सिफारिसमा ५० वर्ष उमेर पुगिसकेका ब्यक्तिले कोलोनोस्कोपी, सिगमोइडोस्कोपी, ओकल्ट ब्लड टेष्ट (दिशामा रगत पहिचानका लागि) गर्नुपर्छ । तर उच्च जोखिममा रहेका ब्यक्तिले ४० वर्षबाट यस किसिमको टेष्ट गराउनु पर्छ । मोलिक्युलर टेष्टले बाउल क्यान्सरको उच्च जोखिम भएनभएको पहिचान गर्छ ।
छालाको क्यान्सर स्क्रिनिङ
छालाको क्यान्सर पहिचानका लागि शरीरमा कुनै कोठी देखिएमा वा कोठीको साइज बढिरहेको र यसको रंगमा परिवर्तन देखिएमा सम्बन्धित ठाउँमा गएर क्यान्सर पहिचान गरी उपचार गर्नुपर्छ ।
रगतको नमुना लिएर गरिने क्यान्सर टेष्ट
– प्रोस्टेट क्यान्सरका लागि पिएसए (प्रोस्टेट स्पेसिफिक एन्टिजेन)
– ओभरियन क्यान्सर पहिचानका लागि ऋब्ज्ञद्दछ
– प्याक्रियाटिक क्यान्सरका लागि ऋब्ज्ञढ।ढ
– कलेजो क्यान्सरको लागि एएफपी (अल्फा फेटो प्रोटीन)
-ट्युमर प्लासेन्टा टेष्ट BHCGपरीक्षण ।
ल्यावमा गरिने क्यान्सर सम्बन्धि केही टेष्ट (FNAC)
यस किसिमको टेष्टमा शरीरमा भएका गाँठोमा सियो पसाएर सानो कोष निकालेर माइक्रोस्कोपबाट हेरिन्छ । यो सामान्य टेष्ट हो । बिरामीलाई एकै दिनमा रिपोर्ट दिन सकिन्छ ।
बायोप्सी क्यान्सर टेष्ट
बायोप्सी टेष्टले बिरामीको शरीरमा देखिएको गाँठो चिरेर भित्रको मासु निकालेर माइक्रोस्कोपमा हेरेर ट्युमर क्यान्सर भए नभएको र क्यान्सर भएमा क्यान्सरको प्रकार समेत छुट्याउँछ ।
इम्युनोहिस्टोकेमेस्ट्री क्यान्सर टेष्ट (IHC)
बायोप्सीले क्यान्सर पत्ता लगाएपछि त्यो क्यान्सर कुन प्रकारको हो, कस्तो औषधि उपचार चलाउन उपयुक्त हुन्छ भन्ने पत्ता लगाउन इम्युनोहिस्टोकेमेस्ट्री-फ्लोसाइटोमेट्री टेष्ट गर्नुपर्छ । यसले क्यान्सरको प्रकार छुट्याइदिन्छ । यो मोलिक्युलर लेवलको टेष्ट हो । महँगो पर्छ । तर क्यान्सरको प्रकार छ्ट्याएर आवश्यक उपचारमा मद्धत गर्छ ।
क्यान्सर उपचार विधि
क्यान्सरको उपचार गर्ने चिकित्सकलाई अन्कोलोजिस्ट भनिन्छ । अन्कोलोजिस्टलाई तीन श्रेणीमा विभाजित गरिन्छ, जसमा सर्जिकल अन्कोलोेजिस्ट, मेडिकल अन्कोलोजिस्ट तथा रेडियो अन्कोलोजिस्ट पर्छन् ।
सर्जिकल अन्कोलोेजी–शल्यक्रियाद्वारा क्यान्सरको उपचार गर्ने विधिलाई सर्जिकल अन्कोलोजी भनिन्छ । यस विधीमा चिकित्सकहरुले क्यान्सरको प्रकृति र अंगको आधारमा शल्यक्रिया गर्ने गर्दछन् ।
मेडिकल अन्कोलोजी–औषधिको प्रयोगद्वारा क्यान्सर रोगको उपचार गर्ने विधिलाई मेडिकल अन्कोलोजी भनिन्छ । जस अन्तर्गत केमोथेरापी पनि पर्ने गर्दछ ।
रेडियो अंकोलोजी–यसले क्यान्सर रोगका आक्रमान्त कोषहरुलाई नष्ट गर्ने गर्छ । तर पछिल्लो समयमा क्यान्सरका कोषिका र तन्तुहरुलाई जोगाएर क्यान्सर रोगसँग लड्ने क्षमतालाई नष्ट गर्ने प्रविधि भित्रिसकेको छ ।
सर्जरी
यो क्यान्सर लागेको अंग र त्यस वरिपरि क्यान्सर पलाउन सक्ने अंग काटेर फालिदिने विधि हो । कुनै क्यान्सरहरु शल्यक्रिया पछि अन्य उपचार गर्नुपर्दैन ।
कीमोथेरापी
क्यान्सरका कोष तथा कोषिकाहरु कम गर्न तथा मार्न प्रयोग गरिने औषधिलाई कीमोथेरापी भनिन्छ । यो औषधि रगतको नशा तथा मुखबाट दिने गरिन्छ ।
रेडियोथेरापी
क्यान्सर लागेको भाग वा त्यसको वरिपरिको भागमा विकिरण पद्धतिबाट सेकी उपचार गरिन्छ । रेडियोथेरापीलाई बोलीचालीको भाषामा सेकाइ पनि भनिन्छ । यस प्रकारको सेकाइ गर्दा बिरामीहरुलाई केही थाहा हुँदैन ।
हर्मोनल थेरापी
विभिन्न हर्मोनको प्रयोग गरी उपचार गर्ने विधिलाई हर्मोनल थेरापी भनिन्छ ।
इम्युनोथेरापी
क्यान्सर रोक्ने क्षमतालाई वृद्धि गर्ने विधिलाई इम्युनोथेरापी भनिन्छ । यस थेरापीमा क्यान्सर कोषहरू पहिचान गर्न र तिनीहरूलाई नष्ट गर्न प्रतिरक्षा प्रणाली जगाउने एन्टिबडीहरू प्रयोग गरिन्छ । यसले शुरुको चरणको क्यान्सरमा मात्र परिणाम देखाउन सक्छ ।
स्टेम सेल ट्रान्सप्लान्ट
स्टेम सेल ट्रान्सप्लान्ट रक्त क्यान्सरमा गरिन्छ जहाँ स्वस्थ कोषहरूद्वारा प्रतिस्थापित क्यान्सर कोषिकाहरु हटाइन्छ । राम्रो नतिजा पाउन कीमोथेरापी पनि गरिन्छ ।
औषधि
यसमा डाक्टरहरूले क्यान्सर बिरामीको शरीरमा इन्जेक्सनको माध्यमबाट औषधि लगाउँछन् जसले क्यान्सर कोषहरूको बृद्धि गर्ने अणुहरूसँग लड्छ र तिनीहरुलालई मरिदिन्छ ।
बैकल्पिक चिकित्सा
वैकल्पिक चिकित्सा क्यान्सर उपचारमा गणना गरिँदैन । तर वैकल्पिक औषधिहरूले थकान, दुखाई जस्ता क्यान्सर उपचारका साइड इफेक्टहरूलाई कम गर्न मद्दत गर्दछ । वैकल्पिक चिकित्सा उपचारमा एक्यूपंचर, योग, मसाज, ध्यान, आयुर्वेद, होमियोप्याथी, युनानी चिकित्सा प्रणाली पर्दछन् । चिकित्सकहरुले राम्रो परिणामका लागि अन्य उपचारकासँगै अभ्यास गर्ने सल्लाह दिने गर्छन् ।
तपाईंलाई क्यान्सर छ कि ?
– शरीरमा देखिने कुनै पनि प्रकारको गाँठागुठी
– शरीरका घाउखटिरा लामो समयसम्म निको नभएमा
– खोकी लागिरहने, स्वर भासिने
– खकारमा रगत देखिएमा
– बिनाकारण दुब्लाउँदै गएमा
– धेरै दिनदेखि जण्डिस निको नभएमा
– पेट फुल्ने, पेटमा पानी देखिने
– दिसा पिसाबमा रगत जाने, दिसा धेरै लाग्ने
– कब्जियतको समस्या
– शरीरमा भएको कोठीको आकार बढेमा
क्यान्सर उपचार कति सम्भव ?
-पहिलो चरणमा क्यान्सर पत्ता लागेमा निको हुनसक्छ ।
-दोस्रो चरणमा निको पार्न सकिएपनि खर्चिलो र लामो समय लाग्नसक्छ ।
-तेस्रो चरणमा क्यान्सर निको पार्न सकिदैन तर जीवन लम्ब्याउन सकिन्छ ।
– चौथो चरणमा केही गर्न सकिदैन । रोगबाट हुने अन्य समस्या व्यवस्थापन गर्न सकिन्छ ।
कुन क्यान्सरमा के परीक्षण गराउने ?
फोक्सो
– आवश्यकता अनुसार परीक्षण गराउने
– चुरोट खानेहरुले ४० वर्ष पुगेपछि हरेक वर्ष छातिको एक्स—रे गराउने ।
स्तन क्यान्सर
-महिनावारी भएको ७ देखि १० दिनमा आफ्नो स्तनको परीक्षण आफैं गर्ने
– गिर्खा फेला परेमा चिकित्सकलाई देखाउने
– ४० वर्ष मुनिका महिलाहरुले स्तनको अल्टासाउण्ड गराउने ।
-४० वर्ष पूरा भएका महिलाहरुले चिकित्सकको सल्लाह अनुसार मेमोग्राम गराउने ।
– पारिवारिक समस्या भएकाहरु सचेत रहने
पाठेघरको मुखको क्यान्सर
गुप्ताङ्गबाट गन्हाउने फोहोर पानी बग्ने, महिनावारी बन्द भइसकेका महिलाहरुमा पुनः रगत देखा पर्ने, महिनावारी अनियमित हुने, यौन सम्पर्क पछि रगत देखा पर्ने जस्ता लक्षण देखा परेमा पाठेघरको मुखको क्यान्सर हुन सक्दछ । यसका लागि प्याप स्मेयर टेष्ट, कल्पोस्कोपी, वायोप्सी गराउनुपर्छ । यो विवाह भएको एक वर्षपछि हरेक वर्ष गराउन सकिन्छ । प्यापको रिपोर्टमा शंका लागेमा कल्पोस्कोपी गरी बायोप्सी गराउन सकिन्छ ।
कोलोन क्यान्सर
पेट फुल्नु, दिशामा रगत देखा पर्नु, खाना नपच्नु, बिरामी दुब्लाउँदै जानु जस्ता लक्षण देखा परेमा कोलोनको क्यान्सर हुन सक्दछ । यसका लागि कल्पोस्कोपीका साथै वायोप्सी, सि.टि. स्क्यान, ट्युमर मार्कर गराउनुपर्छ ।
आन्द्राको क्यान्सर पारिवारिक क्यान्सर भएकाले परिवारको कुनै सदस्यलाई यो क्यान्सर भएको छ भने परिवारका अन्य सदस्यले ४० वर्ष पुरा भएपछि हरेक वर्ष स्क्रिनिङगराउनुपर्छ ।
मुखको क्यान्सर
मुख भित्र निको नहुने घाउ आउने, रगत बग्ने चपाउन र निल्न गाह्रो हुने जस्ता लक्षण देखापरेमा मुखको क्यान्सर हुनसक्दछ । यसका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकलाई देखाउनुपर्छ । यसका साथै बायोप्सी र सि.टि. स्क्यानले पत्ता लगाउन सकिन्छ ।
क्यान्सरबाट बच्ने उपाय
स्वस्थ जीवन जीउन धुम्रपान र अल्कोहल सेवन नगर्ने, शारीरिक तौल घटाउने, ताजा फलफूल र तरकारी खाने, उच्च रेशादार खाद्यान्नको उपभोग गर्ने, उच्च बोसोयुक्त रातो मासु सेवन नगर्ने, नियमित शारीरिक अभ्यास गर्ने, लामो समयसम्म घाममा नवस्ने, यदि घाममा निस्कनुपर्ने अवस्थामा भएमा सनस्क्रिनको प्रयोग गर्ने, ह्युमन प्यापिलोमा भाइरस र हेपाटाइटिस बी भाइरस विरुद्ध खोप लगाउने, धेरै विकिरणयुक्त एक्सरेको सम्पर्कमा नवस्ने आदि ।
यसले क्यान्सर न्यूनिकरणमा मद्धत गर्छ ।
कुन अवस्थामा अस्पताल जाने ?
क्यान्सर भएको पहिलो र दोस्रो स्टेजमा अस्पताल पुगे भने समयमा नै क्यान्सर रोगका विरामी निको हुने गरेका छन् । नेपालको सन्दर्भमा प्रायः जसो क्यान्सर लागेका मानिसहरु तेश्रो र चौथो स्टेजमा अस्पताल पुग्ने गरेको पाईएको छ । यो स्टेजमा बिरामी अस्पताल पुग्दा धेरै ढिलो भएसको हुन्छ ।
क्यान्सरको जोखिम ४० वर्ष कटेका व्यक्तिहरुमा रहेको चिकित्सकले बताएका छन् । तर पछिल्लो समयमा क्यान्सर जुनसुकै उमेरमा पनि लाग्ने गरेको छ ।
यद्यपि ४० वर्ष पार गरिसको व्यक्तिले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्न जरुरी छ । यो उमेर पार गरेका व्यक्तिहरुले समय–समयमा स्वास्थ्य परीक्षण गराउनु पर्छ ।