व्यवस्थित बन्दै क्यान्सर रजिष्ट्री
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा पहिलोपटक जनसंख्यामा आधारित क्यान्सर रजिष्ट्री शुरु गरेको छ । यसले क्यान्सर प्रभावित व्यक्ति, उपचार गराइरहेका बिरामी र मृत्यु भएकाहरुको तथ्याङ्क राख्छ ।
अहिले शहरी, अर्धशहरी र ग्रामीण क्षेत्रका साथै उपत्यका (काठमाडौं, लतिलपुर र भक्तपुर), पहाड (पूर्वी रुकुम र पश्चिम रुकुम) र तराई (सिराहा, सप्तरी, धनुषा र महोत्तरी) लाई समेटी मुलुकका ९ जिल्लामा क्यान्सर रजिष्ट्री शुरु गरिएको छ । सन् २०१८ को रजिष्ट्रीमा अनुमानित २ लाख २१ हजार ३७६ जनसंख्या समेटिएको थियो ।
नयाँ क्यान्सर बिरामी दर पुरुषमा ६५ देखि ६९ वर्ष उमेर समूह बढी देखिएको छ । यसैगरी महिलामा ५५ देखि ५९ वर्ष उमेर समूहमा उच्च भएको पाइएको छ । पुरुषमा फोक्सोको क्यान्सर सबैभन्दा धेरै देखिएको छ । त्यसपछि आमाशय, थायरोइड, प्रोष्टेट, पित्तासय, कलेजोको क्यान्सर भएको पाइएको छ । महिलाहरुमा पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी देखिएको छ । त्यसपछि फोक्सो, पाठेघर, डिम्बासय र स्तन क्यान्सर उच्च भएको पाइएको छ ।
काठमाडौं उपत्यकाभित्र पुरुषमा सबभन्दा बढी फोक्सो, पेट, मुत्राशय, पित्तथैली र लिम्फोमा क्यान्सर भएको पाइएको छ । यसैगरी ७०—७४ वर्ष उमेर समूहका पुरुषमा क्यान्सर बिरामी मृत्युदर उच्च रहेको देखिन्छ । महिलामा स्तन, फोक्सो, पाठेघरको मुख, पित्ताशय र डिम्बासयको क्यान्सर प्रमुख रहेका छन् । क्यान्सर बिरामी मृत्युदर ७५ वर्षमाथिका उमेर समूहमा सबैभन्दा बढी र त्यसपछि ६५ देखि ६९ बर्ष उमेर समूहमा बढी पाइएको छ ।
सन् २०१८ मा रुकुम रजिष्ट्रीअन्तर्गत ८७ नयाँ क्यान्सर बिरामी (पुरुष ४४ र महिला ४३) र ३८ (१६ पुरुष र २२ महिला) क्यान्सर बाट मृत्यु भएको पाइएको छ । सिराहा, सप्तरी, धनुषा र महोत्तरीमा मुखको क्यान्सर अग्रस्थानमा रहेको छ । सूर्तिजन्य पदार्थको अध्यधिक सेवनका कारण मुखको क्यान्सर देखिएको पाइएको छ ।
यो रजिष्ट्रीमा क्यान्सरको अवस्था, कुन उमेर समूह, समुदाय एवं क्षेत्रमा क्यान्सर बिरामी तथा उक्त क्षेत्रमा बिरामीहरुको मृत्युदरको तथ्याङ्क पाउन सकिन्छ । तथ्यांकको आधारमा केन्द्रीय तथा स्थानीय सरकारको माध्यमबाट जनचेतना अभिवृद्धि, क्यान्सर रोकथाम तथा उपचार कार्ययोजनाहरु बनाउन सहयोग पुग्छ । रजिष्ट्रीमार्फत सरकारले क्यान्सर बिरामीको उपचार खर्चबापत् दिँदै आएको विपन्न नागरिक सेवा निश्चित बिरामीले पाएको हो हो कि होइन भन्ने यकिन गर्न समेत सहयोग पुग्छ । साथै यसबाट क्यान्सरको रोकथाम र उपचारमा नयाँ मोडालिटी तयार गर्न सकिन्छ । जसले नीतिगत तहमा फाइदा पुग्छ ।
अस्पतालमा आधारित क्यान्सर रजिष्ट्री बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट सन् २००३ देखि शुरु भएको थियो । अब अस्पताल र जनसंख्यामा आधारित क्यान्सर रजिष्ट्रीलाई व्यवस्थित बनाउन एनएचआरसी र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच सम्झौता भएको छ । यसले जनसंख्या र अस्पतालमा आधारित क्यान्सर रजिष्ट्रीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा लिइएको छ ।
अब तथ्यांकलाई डिजिटलाईज गर्नुपर्ने आवश्यकता महसुस गरिरहेका छौं र सो अनुसार कार्य अगाडि बढिरहेको छ ।
हाल सफ्टवेयरमार्फत क्यान्सरका बिरामी तथा मृत्यु भएकाहरुको तथ्याङ्क संकलन गरिँदै आएको छ । तथ्याङ्क संकलनमा निजी तथा सरकारी अस्पताल, क्लिनिक, ल्याब आदिमा महिला स्वास्थ्य स्वयंसेविका, मासिका, ग्रामिण स्वास्थ्य स्वयंसेविका, वडाध्यक्ष, सदस्य आदिमार्फत तथ्यांक संकलन गर्ने कार्य भइरहेको छ । यस वर्षमा हाल चलिरहेको स्थानहरुको तथ्याङ्क संकलनलाई अझ प्रभावकारी बनाउने, अस्पतालमा आधारित रजिष्ट्रीलाई थप मजबुद बनाउनुका साथै आगामी वर्षहरुमा देशका सबै जिल्ला र स्थानहरुमा काम अघि बढाउँदै लगिनेछ ।