Logo
|
Thursday 28th March 2024
Logo

epaper

छालासम्बन्धि समस्या ‘लुतो’ र साउने संक्रान्तिको महिमा

यसकारण आज बेलुका लुतो फ्याकिन्छ….



असार महिना बित्यो श्रावण भयो सुरु ।
लगाइ धान बालि अब आउला लुतो बरु ।।

मनाउथे हेर हाम्रा पुर्बले सक्रान्ति लुते ।
मासि गयो परम्परा कृषक नै हेर सुते ।।

थाकित हुन्थे जवान हरु पनि खेति जो गर्दथे ।
बेसि बाट हल गोरु साथ लेखै तिर सर्दथे ।।

खेति लगाइ सकियो भनि हास खेल जो गर्दथे ।
थकित हुदा पनि लुतो फ्याक्न तिनै अघि सर्दथे ।।

चिन्ता थ्यो थाकेको शरिर बिमार पो पर्छ कि ।
फाल्थे राको बालेर कुरिलो लुतो कतै सर्छ कि ।।

सल्लाको राँको कुरिलो भलायो जम्मा गरि ।
फ्याल्थे सब एकत्र सबै लुतो नआउने गरि ।।

पकाउथे सेल रोटि ठुला आलुका चाना पनि ।
खान्थे बसेर रमाइ परिवार यहि हो मौका भनि ।।

सस्कार हो सबैले मिलि जगेर्णा गर्नुपर्दछ ।
भाग्यमानी हुन्छ त्यो जस्ले सस्कार हेर्दछ ।।

कायम राखौ सस्कार सद्भाब सफा राखौ भाव ।
कर्कट सक्रान्ति लुतो फ्याक्ने दिनको सबैलाई मेरो शुभकामना ।।

साकलेला गाउँपालकिा मात्तिम आहालेका रेवती भट्टराइले लेख्नुभएको कविता थियो यो । नेपालका प्राचीन संस्कृतिअनुरुप साउन १ गते साँझ घर घरमा लुतो फाल्ने प्रचलन छ ।

यो दिन परम्पराअनुसार काग भलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो, रातपातेजस्ता औषधीय गुण बोकेका वनस्पतिका साथै कागती, निबुवा, अम्बा, अनार, नसपाती आदि फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फ्याँक्ने गरिन्छ ।

लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शंङ्ख फुक्ने, घण्ट बजाउने, ढिँकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन रहेको छ ।
सौर्यमानअनुसार सूर्य दक्षिणतर्फ सरी कर्कटरेखा माथि जाने भएकाले साउने संक्रान्तिलाई कर्कट संक्रलान्ति पनि भन्ने गरिन्छ ।

कृषिप्रधान देशमा ‘मानो खाई मुरी उब्जाउने’ प्रचलित मान्यता अनुसार असार महिनाभर गरिएको खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी यस दिन भोज गर्छन् ।


असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण फैलिन सक्ने छालाको रोगबाट मुक्ति पाउन साउने संक्रान्तिका दिन साँझ लुतो, दाद आदि छालसम्बन्धित रोगबाट मुक्ति पाउन लुतो फाल्ने प्रचलन छ ।

महिलाहरुले साउने संक्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहन्दी लगाउने र शिवलाई प्रसन्न पार्न सोमबारे व्रत बस्छन् । देवी पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेकाले सोमबारको व्रतको महत्व रहेको ग्रन्थहरुमा उल्लेख छ । साउन महिना भगवान् शिवको महिना भएकाले यो महिनाभर शिवालयमा दर्शनार्थीको अत्यधिक भीड हुने गर्छ ।

के हो लुतो ?
लुतो मानव शरीरको छालामा लाग्ने रोग हो । यो रोगमा छालामा साना साना फोका वा दागहरू देखिने र चिलाउने गर्छ । ‘सारकोप्टस स्क्याबी’ नामक किटाणुका कारण शरीरमा लुतो आउँछ । दादभन्दा लुतो छिटो र सजिलै सर्छ । काखी, कुहिनो, यौनांग लगायतका शरीरका विभिन्न भागमा लुतो आउन सक्छ । जुनसुकै उमेरका व्यक्तिलाई लुतो हुन सक्छ । शरीरको एक ठाउँमा आएको लुतो अन्य ठाउँमा पनि फैलँदै जान्छ । लुतो भएको व्यक्तिलाई छुँदा, उसको लुगा लगाउँदा लुतो सर्छ । लुतो भएको साथीको घरमा गएर एउटै बिछ्यौनामा सुतेपछि पनि लुतो सर्न सक्छ । लुतो शरीरको बाहिरी भागमा मात्र देखा पर्ने समस्या हो । पिपसहितको फोका उठ्ने र पानी भएको फोका उठ्ने गरी लुतो दुई किसिमको हुन्छ । उपचार गरेपछि दाद र लुतो दुवै निको हुन्छ । शरीर चिलाउने समस्याबाट मुक्त हुने हो भने दाद र लुतो हुन पाउँदैन। त्यसका लागि सरसफाइमा ध्यान दिनुपर्छ । नुहाउन अल्छी गर्नु हुँदैन । सकेसम्म सुतीको लुगा लगाउनुपर्छ । छालासम्बन्धी समस्या देखिनासाथ सम्बन्धित विज्ञ चिकित्सकसँग परामर्श लिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्