Logo
|
Wednesday 8th May 2024
Logo

epaper

घाँटी दुखेका करिब ३ प्रतिशत केटाकेटीलाई र्‍यूम्याटिक फिवर



बालबालिकाहरुको घाँटी दुखेर ज्वरो आएको ३ हप्ता पछि र्‍यूम्याटिक फिवर हुने सम्भावना हुन्छ । घाँटी दुखेका करिब ३ प्रतिशत केटाकेटीहरुलाई मात्र र्‍यूम्याटिक फिवर आउँछ । प्रायश मुटुका भल्भहरु पहिलो हप्तामा प्रभावित हुन्छन् । पहिलो हप्तामा भल्भ प्रभावित नहुने नानीहरुको मुटुरोग हुने सम्भावना धेरै कम भएर जान्छ ।


बालबालिकाहरुको घाँटीभित्र जीवाणुहरुद्धारा संक्रमण भएर जोर्नी दुख्नुको साथै सुन्निएर पछि मुटुभित्र रहेका भल्भहरुलाई प्रभाव पार्दछ । मुटुमा भल्भहरु रोगग्रस्त भएर साँघुरिन्छन् । सामान्यतया बायाँपट्टिको तल्लो हृदय कक्ष खुँम्चिदा महाधमनी हुँदै शरीरका सबै अंगहरुमा रक्तसञ्चार हुन्छ । यसरी रक्तसञ्चार हुँदा बायाँ तल्लो हृदयकक्षबाट बायाँ माथिल्लो कक्ष र महाधमनीबाट बायाँ कक्षमा रगत फर्किदैँन । तर र्यूम्याटिक फिवर भएर हृदय भल्भहरु रोगग्रस्त हुँदा बायाँ तल्लो कक्षबाट बायाँ माथिल्लो कक्षमा फर्कन्छ । यसरी हृदय भल्भ रोगग्रस्त हुँदा मुटु सुन्निएर परिश्रम गर्दा सास फुल्ने गर्छ ।


यस प्रकारको हृदय रोग भएका मानिसले आजीवन औषधि सेवन गर्नुका साथै महँगो कृतिम भल्ल फेर्नुपर्ने हुन्छ । यसर्थ घाँटी दुखेर ज्वरो आउने केटाकेटीहरुको समयमै उपचार गरेर हृदयरोग हुनबाट बच्न बुद्धिमानी हुन्छ ।


र्‍यूम्याटिक फिवर हुन नदिन के गर्ने ?
घाँटी दुखेर ज्वरो आउने बालबालिकाहरुलाई पेनिसिलिन अथवा इरिथ्रोमाइसिन सेवन गरेर समयमा नै उपचार गर्नुपर्छ ।

र्‍यूम्याटिक फिवरका लक्षण

  • रुग्ण हृदय
  • जोर्नी सुन्निएर दुख्नु
  • हात, मुख र अन्य अंगहरु आफै चल्नु
  • शरीरमा डाबर देखिनु
  • छालामुनि डल्ला आउनु

र्‍यूम्याटिक फिवरमा पाइने अन्य लक्षण

  • ज्वरो
  • जोर्नी दुख्नु
  • ESR, ASO, CRP बढ्नु
  • इ सी.जी.मा प्रभाव पर्नु
  • घाँटी भित्र जीवाणु पाइनु
  • इन्डोकार्डियोग्राफी गर्दा भल्भहरु भएको पाइनु

र्‍यूम्याटिक फिवर भए-नभएको कसरी थाहा पाउने ?
घाँटी दुखेर ज्वरो आउने बालबालिकहरुको जोर्नी दुख्न र सुन्निन थाल्यो भने र्यूम्याटिक फिवरको आशंका गर्नुपर्छ । यस्ता बालबालिकाहरुको रक्त परीक्षण र इ.सि.जि गराउनुको साथै मुटुमा प्रभाव परे नपरेको जानकारी लिन इकोकार्डियोग्राफी गराउनुपर्छ । थ्रोटस्वाव लिएर Streptococci लगाउन सकिन्छ ।


र्‍यूम्याटिक फिवर भए के गर्ने ?
र्‍यूम्याटिक फिवर भएका केटाकेटीहरुको मुटुको भल्भ रोगग्रस्त हुन सक्छ र नहुन पनि सक्छ ।


मुटुको भल्भमा प्रभाव नपरी र्यूम्याटिक फिवर भएका केटाकेटीहरुको उपचार निम्न तरिकाले गर्न सकिन्छ ।
-कमसेकम ५ वर्ष अवथा २२ वर्षको उमेरसम्म बेञ्जाथिन पेनिसिलिनको सुइ प्रत्यक ३ हप्तामा लगाउनुपर्छ ।
-पेनिसिलिनको एलर्जी हुनेहरुलाई इरिथ्रोमाइसिनको चक्की खान दिनुपर्छ ।
-१२ वर्षको उमेरमा सुइ दिन सुरु भएमा २२ वर्षको उमेर सम्म र २० वर्षमा सुरु गरेको भए २५ वर्षको उमेरसम्म सुइ दिनुपर्छ ।

मुटु प्रभावित भए कति समय सम्म पेनिसिलिन लिनुपर्छ ?
मुटुमा प्रभाव परेर र्यूम्याटिक फिवर भएकाहरुले भने ४० वर्ष उमेर नपुगुन्जेल पेनिसिलिन लिनुपर्छ ।

बेञ्जाथिन पेनिसिलिनको प्रयोग गर्दा ध्यान दिनुपर्नेकुरा
शुरुमा सुइ लगाउनु अगाडि छाला मुनि सुइ दिएर एलर्जी भए नभएको पत्ता लगाउनुपर्छ ।
३० केजी भन्दा कम तौल हुनेहरुलाई ६ लाख र त्यो भन्दा ज्यादा तौल हुनेहरुलाई १२ लाखको बेञ्जाथिन पेनिसिलम दिनुपर्छ ।

र्‍यूम्याटिक फिवर कसरी निर्मुल पार्ने ?
घाँटी दुखेर ज्वरो आउने केटाकेटीहरुको समयमा नै सामान्य उपचार गराउँदा र्यूम्याटिक मुटुरोग हुनबाट बचाउन सकिन्छ भन्ने स्वास्थ्य शिक्षा सबैको घरदैलोमा पुर्याउनुपर्छ ।

(प्रा. डा. डम्बरबहादुर कार्कीको पुस्तकबाट साभार गरिएको )

प्रतिक्रिया दिनुहोस्