बिहे गरेपछि महिनावारीको दुःखाइ हराउँछ? यस्ता छन् महिनावारीबारे मिथ्या र सत्यता
जनस्वास्थ्य सरोकार । विश्वभरि महिनावारीबारे अनेक मिथ्या अवधारणाहरू फैलिएका छन । तीमध्ये अधिकांशबाट महिनावारी हुने महिलालाई नराम्रो प्रभाव पर्छ । महिनावारी भएको बेला कतै धेरै गुलियो खाए अत्यधिक रगत बग्ने मान्यता छ भने कतै यौन सम्पर्क गरे पुरुषको मृत्यु हुने डर फैलिएको छ ।
यस्ता छन् महिनावारीबारे मिथ्या र सत्यता
ट्याम्पनले हाइमन च्यातिदिन्छ, महिलाको कौमार्य भंग हुन्छ
विश्वका धेरै भागमा ट्याम्पन प्रयोगलाई निषिद्ध ठानिन्छ । किनकी यसको प्रयोगले महिलाको हाइमन च्यातिन्छ र उनीहरु कुमारी रहन्नन भन्ने मिथ्या धारणा विद्यमान छ । सत्य के हो भने शारीरिक अभ्यास गर्दा, साइकल चलाउँदा लगायत विभिन्न गतिविधि गर्दा हाइमन तन्किन वा च्यातिन सक्छ । तर हाइमनले कौमार्य निर्धारण गर्दैन ।
महिनावारी भएकी महिलासँग यौन सम्पर्क गर्दा पुरुषको मृत्यु हुन्छ
महिनावारी हुँदा यौन सम्पर्क गरे हानि पुग्छ वा मरिन्छ भन्ने कुराको कुनै वैज्ञानिक प्रमाण छैन । महिनावारी हुँदाको रगत फोहोर हुन्छ र धेरै विषात्त हुन्छन भन्ने मान्यतामा यो मिथ्या अवधारणामा आधारित छ । तर त्यसो हुँदैन । यस्तो पुरानो मिथ्या अवधारणा विद्यमान भएपनि वास्तवमा महिनावारी भएको बेला यौन सम्पर्क नगर्न स्वास्थ्य सम्बन्धी कुनै कारण छैन ।
बिहे गरेपछि महिनावारीको दुःखाइ हराउँछ
बिहेपछि महिनावारीको दुःखााइ रोकिन्छ भन्ने मान्यतापछाडी कुनै चिकित्सकीय प्रमाण छैन । केही महिलाले बच्चा जन्मिएपछि महिनावारीको बेला पीडा घटेको बताएका छन् । तर सबैलाई त्यस्तो हुँदैन । पीडा महिनावारीको सामान्य अंग हो । यस पीडालाई साधारण औषधिले घरमै निको पार्न सकिन्छ ।
महिनावारी हुँदा व्यायाम गर्नुहुँदैन, यसले गर्भाशयमा क्षति पुग्न सक्छ
महिनावारीको बेला व्यायाम गर्नु हानीकारक हुन्छ वा गर्भाशयमा क्षति पुग्छ भन्ने कुनै वैज्ञानिक प्रमाण छैन । वास्तवमा व्यायाम गर्दा महिनावारीको पीडा कम हुने अध्ययनले देखाएका छन । व्यायाम गर्ने नगर्ने त्यो तपाईंमा निर्भर हुन्छ । तर नगर्नलाई कुनै चिकित्सकीय कारण छैन । बीबीसी