Logo
|
Wednesday 1st May 2024
Logo

epaper

एओर्टिक सर्जरीः चुनौति



जनस्वास्थ्य सरोकार । नेपालमा हरेक चिकित्सकीय विधामा प्रगति भइरहेको हामी सबैमा बिदितै छ । आज हामी देशमा भइरहेको एओर्टिक डिजिज (रोग) मध्येको एउटा पाटो एओर्टिक एन्युरिजम (महाधमनी फूल्ने समस्या) को बारेमा केही लेख्दैछौं ।


एओर्टिक सर्जरी आफैंमा एउटा जटिल प्रक्रिया हो । यसको सफलताका लागि अति विशेषज्ञ चिकित्सकका साथै विशेष उपकरण र उच्चकोटीका मेडिकल सामाग्रीहरुको आवश्यकता पर्छ ।

एओर्टिक एन्युरिजम फुटिसकेको अवस्थामा व्यक्तिको ज्यान बचाउन सजिलो हुन्छ । तर एन्युरिजम फुटेका धेरै बिरामीले घरमै ज्यान गुमाउने गर्छन् । त्यसमध्ये उपचार सम्भव अस्पतालमा पुगेपछि पनि ५० प्रतिशतको मात्र ज्यान बचाउन सकिन्छ ।


सन् २००० ताका नेपालमा यस विधामा शल्यचिकित्सा शुरु हुन थालेको हो । त्यो समय वर्षभरीमा एक दुईवटा शल्यक्रिया हुने गर्दथ्यो । एओर्टिक एन्युरिजम् फुटेरै आएको अवथाको शल्यक्रिया सम्भव थिएन । चिकित्सकीय दक्षता र भौतिक पूर्वाधारको विकास क्रमश हुँदै गयो । सन् २००९ मा भास्कुलर (रक्तनली) सेन्टरको स्थापना र दक्ष जनशक्तिको तालिमले यस विधाको प्रगति गर्नमा ठूलो टेवा पु¥यायो । आजसम्म आइपुग्दा एउटै डेडिकेटेड सेन्टरमा वर्षमा पचाऔं शल्यक्रिया सम्भव हुन थालेका छन् । त्यसमाथि नियमित इमर्जेन्सी शल्यक्रियाको परिणाम समेत राम्रो रहेको छ । अब गर्न नसकिने र नभएका शल्यक्रियाहरु रहेनन् ।

आजभोलि हरेक शल्यचिकित्सकीय विधामा चिरेर गरिने शल्यक्रियालाई नचिरिकन गरिने या थोरै मात्र चिरेर गरिने (मिनिमल इन्भेजिव सर्जरी) शल्यक्रियाले विस्थापन गर्दै गएको छ । एओर्टिक सर्जरीमा पनि इन्डोभास्कुलर सर्जरीको विकास भएको छ । उदाहरणका लागि मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर (मनमोहन सेन्टर) । सन् २०१३ बाट इन्डोभास्कुलर सर्जरीको थालनीपछि यो नियमित सेवाभित्र परेको छ ।


सन् २०१७ मा भास्कुलर सेवालाई उत्सर्गमा पु¥याउन भास्कुलर सोसाइटी अफ नेपालको गठन गरियो । नेपालभित्रका डेडिकेटेड सर्जनहरु रहेको यस सोसाइटीले एओर्टिक सर्जरी सम्बन्धि ज्ञान बढाउन देशभर सक्रिय भएर लागेका छन् ।

कार्डियोभास्कुलर हाइब्रिड अपरेशन थिएटर उच्चकोटीको भास्कुलर सर्जनहरुको सपनाभन्दा नि हुन्छ । यस्तो अपरेशन थियटरमा चिरेर गरिने शल्यक्रिया र इन्डोभास्कुलर प्रोस्युडर दुईटै सम्भव हुन्छ । कुनै एओर्टिक सर्जरी यति कम्लेक्स हुन्छन् कि एउटै बिरामीलाई शल्यक्रिया र इन्डोभास्कुलर प्रक्रिया एकै साथ चाहिन्छ । संसारकै गनिएका अस्पतालहरुमा यो सेवा विस्तार भएको छ ।

नेपाली जनताले पनि यस्तो सुविधाबाट बञ्चित हुनुपर्ने छैन । मनमोहन सेन्टरले केही महिनाभित्र यो सेवा शुरु गर्दैछ । यो सेवाले भास्कुलर सर्जरीमा एउटा अर्को माइलस्टोन थपिनेछ । अतः सबै नेपाली जनतामा सेवा पु¥याउन नेपालका नाम कहलिएका विभिन्न अस्पतालहरुमा सेवा विस्तारको लक्ष्य लिनुबाहेक अरु विकल्प छैन ।

रक्तसञ्चारमा एओर्टा र जोखिम


एओर्टा मुटुको मुख्य धमनी हो जसले अक्सिजन मिसिएको रगत शरीरका विभिन्न भागमा पु¥याउँछ । एओर्टिक भल्भ मार्फत मुटुले रगत पम्प गर्छ । त्यसपछि यो उखु आकारको बक्र बनाएर यात्रा गर्दछ जसले अन्य प्रमुख धमनीहरुलाई मस्तिष्क, मांशपेशीहरु र अन्य कोषहरुमा अक्सिजनयुक्त रगत पु¥याउन मद्धत गर्छ । एओर्टा एक इन्च भन्दा बढी चौडा हुन्छ र भित्री (इन्टिमा), मध्य (मिडिया) र बाहिरी (एडभेन्टिआ) गरी तीन तह हुन्छन् । एओर्टामा समस्या आएर यो सुन्निने (एओर्टिक एन्युरिजम) र यसको भित्ता च्यातिने जोखिम हुनसक्छ ।
वृद्धावस्था, वंशाणुगत कारणले पनि एओर्टिक एन्युरिजम वा एओर्टाको भित्ता च्यातिने समस्या हुनसक्छ । त्यसबाहेक उच्चरक्तचापले धमनीको पर्खाल कमजोर पार्न सक्छ । उच्च कोलेस्टेरोल वा एथेरोस्क्लेरोसिसले प्लाक बनाएर सूजन निम्त्याउन सक्छ । भास्कुलाइटिससम्बन्धि रोगले एओर्टा सुन्निनसक्छ । सवारी दुर्घटनाले एओर्टिक एन्युरिजम गराउन सक्छ । चुरोट सेवन गर्नेहरुमा ७५ प्रतिशत एब्डोमिनल एओर्टिक एन्युरिजम हुनसक्छ ।


अमेरिकन प्रिभेन्टिभ सर्भिसेस टाक्स फोर्सले धुम्रपान गर्ने ६५ देखि ७५ वर्ष उमेर समूहका व्यक्तिले लक्षण नदेखिएपनि एब्डिोमिनल एओर्टिक एन्युरिजमको स्क्रिनिङ गर्न सुझाव दिएको छ ।

एओर्टा वा अन्य मुटुसम्बन्धित रोग भएका व्यक्तिहरुले लक्षण देखिने बित्तिकै तुरुन्त सम्बन्धित व्यक्तिलाई देखाउनुपर्छ । यसका साथै नियमित चेक जाँच गराउन जरुरी हुन्छ र आफ्नो मुटुको ख्याल गर्नुपर्छ । (प्रा.डा. श्रेष्ठ मनमोहन सेन्टरमा कार्यकारी निर्देशक हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्