Logo
|
Friday 19th April 2024
Logo

epaper

के मसलाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । मानिस शताब्दीयौंदेखि भान्सामा मसलाको प्रयोग गर्दै आइरहेका छन् । बेसार र खुर्सानी बिना खाना पकाउने कल्पना समेत गर्न सकिदैँन । विशेषगरी मसला विभिन्न परिकार तथा तरकारीको स्वाद र सुगन्ध बढाउन प्रयोग गरिन्छ । मसलाले खानालाई स्वादिलो ​​बनाउनुका साथै स्वास्थ्यलाई समेत फाइदा पुर्याउँछ ।


पछिल्लो समय मसलाको विषयलाई लिएर विभिन्न किसिमका दावीहरु हुँदै आइरहेका छन् । कागतीको रस पानीमा मिसाएर पिउनाले तौल घट्छ, दूधमा बेसार राखेर पिउँदा कुनै पनि प्रकारको दुःखाईमा आराम मिल्छ, घाँटी दुःखेको बेला अदुवाको चिया पिउँदा दुःखाई कम आदि इत्यादी ।


सन् २०१६ मा हिलारी क्लिन्टनले अमेरिकी राष्ट्रपति चुनावको प्रचारका क्रममा आफूलाई रोगबाट बचाउन हरेक दिन एउटा रातो खुर्सानी खाएको भन्ने गरिन्छ ।


एसियामा शताब्दीयौंदेखि प्रयोग हुँदै आएको बेसारलाई अहिले ‘सुपरफुड’ मान्न थालिएको छ । विश्वभरका कफी शपमा ‘गोल्डेन लट्टे’ नामले बेसारको कफीको व्यापार हुँदै आइरहेको छ ।


मसलाको फाइदा कति ?
मसलामा सबैभन्दा बढी रातो खुर्सानी प्रयोग हुन्छ । खुर्सानीको औषधीय गुणबारे धेरै अध्ययन भएका छन् । खुर्सानीले हाम्रो स्वास्थ्यलाई फाइदा तथा बेफाइदा दुवै गर्ने अनुसन्धानकर्ताहरु बताउँछन् ।


रातो खुर्सानीमा क्याप्साइसिन नामक तत्व पाइन्छ । यसले खुर्सानीलाई पिरो बनाउँछ । हामीले खुर्सानी खाँदा क्याप्साइसिन तत्व शरीरको तापक्रम नियन्त्रण गर्ने कोषिकाहरूको सम्पर्कमा आउँछ । जसले मस्तिष्कलाई तातो महशुस गर्न संकेत दिन्छ ।
कुनै–कुनै अनुसन्धानले क्याप्सासिनले मानिसलाई लामो समयसम्म जीवित राख्न मद्दत गर्ने दावी समेत गरेको छ ।

रातो खुर्सानीका फाइदा
सन् २०१९ मा इटालीमा गरिएको एक अनुसन्धानले हप्ताको चार दिन रातो खुर्सानीमा बनेको खाना खाँदा अकाल मृत्युको जोखिम कम हुने देखाएको छ ।


त्यस्तै सन् २०१५ मा चीनमा रातो खुर्सानी खाने पाँच लाख व्यक्तिमाथि एक बृहत अनुसन्धान गरिएको थियो । हप्तामा एक पटक खुर्सानी खाने व्यक्तिको तुलनामा हरेक दिन खुर्सानी खाने व्यक्तिको आयु लामो हुने उक्त अनुसन्धानले देखाएको थियो । अर्थात् खुर्सानी खाने व्यक्तिमा क्यान्सर, मुटुरोग र श्वासप्रश्वाससम्बन्धी रोग निकै कम भएको पाइएको हो ।


तर यसको मतलब स्वास्थ्य रहन धेरै रातो खुर्सानी खानुपर्छ भन्ने होइन । खुर्सानीयुक्त खानेकुरा सेवन गर्दा मेटाबोलिक एक्टिभिटी (खाना पचाउने प्रक्रिया) स्वस्थ्य रहन्छ । कोलेस्टेरोल नियन्त्रण हुन्छ, जसले मुटु रोगको जोखिम कम हुन्छ ।

रातो खुर्सानका बेफाइदा
रातो खुर्सानीका केही बेफाइदा पनि छन् । आवश्यकताभन्दा बढी खुर्सानी खाँदा विभिन्न स्वास्थ्य समस्याहरु देखिन सक्छन् ।
कतार युनिभर्सिटीका प्रोफेसर जुमिन सीका अनुसार खुर्सानीले मोटोपना र उच्च रक्तचाप भएका व्यक्तिहरुलाई फाइदा गर्छ तर धेरै खुर्सानी खाने व्यक्तिको दिमाग सुस्त हुन्छ । छिटो काम गर्न सक्दैन ।


हरेक दिन ५० ग्राम खुर्सानी खाने व्यक्तिमा यस्तो जोखिम बढी हुने प्रोफेसर जुमिन सी बताँउनुहुन्छ । त्यस्तै विभिन्न अनुसन्धानले खुर्सानी नखाने व्यक्तिको तुलनामा खुर्सानी खाने व्यक्तिलाई बढी रिस उठ्ने समस्या भएको देखाएको छ ।

बेसार कतिको फाइदाजनक ?
दैनिक भान्सामा खाना पकाउन प्रयोग हुने बेसारमा औषधीय गुण भएको विभिन्न अनुसन्धानले देखाएको छ । खाना पकाउन प्रयोग हुने बेसारले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।


बेसारमा ‘क्योरक्युमिन’ नामक तत्व अत्याधिक पाइन्छ । यसले तनाव, दुःखाई लगायत विभिन्न प्रकारका समस्याहरुबाट छुटकारा दिन सहयोग गर्छ । त्यस्तै विभिन्न प्रयोगशाला परीक्षणले क्योरक्युमिन तत्वमा क्यान्सर जस्तो घातक रोगसँग लड्ने क्षमता भएको देखाएको छ ।


क्योरक्युमिन पानीमा सजिलै घुल्दैन । त्यसैले हामीले खाएको बेसारको पूरा फाइदा हाम्रो शरीरले पाउँदैन ।
अनुसन्धानकर्ता फ्रिडम्यानका अनुसार मानिसलाई तातो, चिसो, सुख्खा र ओसिलो खाना मनपर्छ । उदाहरणका लागि माछा चिसो र भिजेको खाने कुरा हो, तर मसलाले हालेर पकाँउदा उक्त खाना तातो, सुख्खा र स्वादिष्ट बनाउन सकिन्छ ।


यसबाहेक मसलाको आयुर्वेदिक महत्व पनि रहेको छ । भारतमा हजारौं वर्षदेखि मसलाको महत्वलाई प्राथमिकता दिइँदै आएको छ । यो खोज पश्चिमी देशहरुको लागि बिल्कुलै नयाँ छ । त्यसैले उनीहरु मसलालाई औषधिको रुपमा प्रयोग गर्दै आएका छन् ।

मसला औषधिको विकल्प होइन
अनुसन्धानकर्ता फ्रिडम्यान भन्नुहुन्छ– समाजको मसलाप्रति बढ्दो प्रवृत्तिले हामीलाई मध्ययुगीन युगमा पुर्याएको छ । जहाँ आधुनिक चिकित्सा र परम्परागत चिकित्साबीच ठुलो पर्खाल थियो । त्यसबेला आफूलाई आधुनिक भनिने आयुर्वेद र घरेलु उपचारलाई अन्धविश्वास मानिन्थ्यो ।


कुनै समय बेसारको औषधीय गुणलाई लिएर धेरै चर्चा चलेको थियो । त्यसैले अनुसन्धानकर्ता क्याथरिन नेल्सनले यसबारे अनुसन्धान गर्नुभएको थियो । अनुसन्धानमा उहाँले बेसारलाई खानामा अन्य मसलासँग पकाउँदा यसको रासायनिक गुण परिवर्तन हुने पत्ता लगाउनुभएको थियो ।


यदि बेसारमा औषधीय गुण भएता पनि त्यो क्योरक्युमिन कारणले नभएको अनुसन्धानकर्ता नेल्सनको भनाई छ । बेसारको अत्याधिक प्रयोगले हानी नगरेपछि यसलाई औषधिको रुपमा प्रयोग नगर्न उहाँले आग्रह गर्नुभयो ।


खुर्सानी र बेसारको औषधीय पक्षमा भएका सबै अनुसन्धान प्रयोगशालामा भएका छन् । हामीले बेसार र खुर्सानीलाई कुन रूपमा प्रयोग गर्दैछौ भन्ने कुरा ध्यान दिनु निकै आवश्यक छ ।


कुनै पनि मसला स्वाद र इच्छा अनुसार प्रयोग गर्न सकिन्छ । तर यसलाई औषधिको रूपमा प्रयोग नगर्न अनुसन्धानकर्ताहरु सुझाँउछन् । बीबीसीहिन्दीबाट साभार

प्रतिक्रिया दिनुहोस्