Logo
|
Friday 26th April 2024
Logo

epaper

घानामा पहिलो पटक देखियो घातक मार्बर्ग भाइरस



जनस्वास्थ्य सरोकार, काठमाडौँ । अफ्रिकी मुलुक घानामा पहिलो पटक मार्बर्ग भाइरस देखापरेको पुष्टि भएको छ। त्यहाँ दुई जनामा उक्त भाइरस देखापरेको अधिकारीहरूले बताएका छन्।

मार्बर्ग इबोला परिवार समूहको उच्च सङ्क्रामक भाइरस हो। दुवै सङ्क्रमितको हालै दक्षिणी अशान्ट क्षेत्रस्थित एउटा अस्पतालमा मृत्यु भएको बताइएको छ।

यसै महिनाको सुरुमा दुवै जनाबाट सङ्कलित नमुनामा सङ्क्रमण देखिएको थियो। अहिले सेनेगलस्थित प्रयोगशालाले पनि त्यसलाई पुष्टि गरेको हो।

उक्त पश्चिम अफ्रिकी देशका स्वास्थ्य अधिकारीहरूले ती दुई जनासँग सम्पर्कमा रहेको ठानिएका ९८ जना अहिले क्वारन्टीनमा रहेको बताएका छन्। मार्बर्ग भाइरसका लागि हालसम्म कुनै पनि उपचार उपलब्ध छैन।

तर चिकित्सकहरू प्रशस्त पानी पिउने र उक्त सङ्क्रमणबाट देखिएका लक्षणहरूको उपचार गर्दा बिरामीहरू बाँच्ने सम्भावना बढ्ने बताउँछन्।

उक्त भाइरस एक खाले चमेरोबाट मानिसमा र मानिसहरूबीच शरीरबाट उत्पन्न हुने विभिन्नखाले तरल पदार्थको माध्यमबाट सर्ने गर्छ।

यो गम्भीर र घातक खालको रोग हो। यस्तो सङ्क्रमण भएपछि बिरामीमा टाउको दुख्ने, ज्वरो आउने, मांशपेसी दुख्ने, रगत मिसिएको बान्ता हुने र रक्तश्राव हुनेजस्ता लक्षण देखिन्छन्।

अधिकारीहरूले गुफाहरूबाट टाढा बस्न र मासुजन्य खानेकुराहरू उपभोग गर्नुअघि राम्ररी पकाएर मात्र खान भनेका छन्।

इबोलाको नयाँ महामारी कतिको खतरनाक छ ?

अफ्रिकामा यसअघि उक्त भाइरसको सङ्क्रमण अङ्गोला, डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो, केन्या, दक्षिण अफ्रिका र युगान्डामा कतै प्रकोपका रूपमा र कतै छिटपुट रूपमा देखापरेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।

मार्बर्ग भाइरसको प्रकोप सन् १९६७ मा पहिलो पटक देखापरेको थियो। त्यसबेला त्यहाँ सात जनाको मृत्यु भएको थियो।

सन् २००५ मा अङ्गोलामा उक्त भाइरस सङ्क्रमणका कारण २०० भन्दा बढीको ज्यान गएको थियो।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार त्यो हालसम्मकै सबैभन्दा धेरै जनाको ज्यान गएको घटना थियो। बीबीसी

प्रतिक्रिया दिनुहोस्