Logo
|
Saturday 27th July 2024
Logo

epaper

मङ्कीपक्सलाई विश्वव्यापी जनस्वास्थ्य सङ्कट घोषणा गरेसँगै नेपालमा सतर्कता



जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मङ्कीपक्स रोगलाई विश्वव्यापी जनस्वास्थ्य सङ्कट घोषणा गरेसँगै नेपाल प्रवेश गर्ने बिन्दुहरूमा सतर्कता अपनाउन थालिएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल तथा विभिन्न सीमानाकामा परिचालित स्वास्थ्यकर्मीलाई यो रोगका लक्षणहरू पहिचान गर्ने र सन्दिग्ध बिरामीलाई अलग राखेर उपचार गर्ने तरिका सिकाइएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

स्वास्थ्य सेवा विभागअन्तर्गत रहेको इपिडिमिओलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले देशका सबै भेग समेटिनेगरी मुख्य १४ वटा अस्पतालका चर्मरोग विशेषज्ञहरूलाई यस रोगको फोकल पर्सन तोकिएको बताउनुभयो ।

‘आसपासका स्वास्थ्यकर्मीहरूले ती १४ सरकारी अस्पतालका फोकल पर्सनसँग सल्लाह र परामर्शअनुसार काम गर्छन्,’ निर्देशक डा. दासले भन्नुभयो ।–‘शङ्कास्पद बिरामीलाई पहिचान, अलग पार्ने, उपचार र आवश्यक पर्दा नमुना सङ्कलन कसरी गर्ने भन्ने वहाँहरूलाई सिकाइएको छ ।’

विश्वका ७५ देशमा १६,००० जनाभन्दा बढीमा मङ्कीपक्स पुष्टि भइसकेको डब्ल्यूएचओले जनाएको छ।

सरकारले ती अस्पतालहरूमा बिरामीको लक्षण विश्लेषण गरेर नमुना परीक्षण गर्न पठाउने संयन्त्र पनि बनाएको छ। ‘नेपालमा नमुना परीक्षण गर्ने सुविधा छैन, भारत पठाउनुपर्छ,’-डा दास भन्नुहुन्छ । ‘तर अहिलेको अवस्थामा हाम्रो निगरानीको काम मुख्य छ। यसका लक्षणबारे सचेतना र प्रचार गर्ने काम भइरहेको छ।’

पीसीआर उपकरण भएको प्रयोगशालामा मङ्कीपक्सको परीक्षण सम्भव हुन्छ। तर आवश्यक रसायन अभाव भएकाले बाहिरबाट ल्याउने तयारी थालिसकिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारी बताउनुभयो ।

‘अहिलेलाई विश्व स्वास्थ्य सङ्गठनका समन्वय केन्द्रहरूमा त्यसको परीक्षण गर्ने प्रावधान छ,’– सहप्रवक्ता डा अधिकारी भन्नुहुन्छ । –‘अहिले धेरै आत्तिनुपर्ने अवस्था छैन। तर आफ्नो र आफू आसपासका मानिसहरूमा हुने लक्षणप्रति चनाखो हुनुपर्छ।’

सरकारले १११५ हटलाइन नम्बरमा स्वास्थ्य परामर्श लिने व्यवस्था समेत सुरु गरिसकेको बताइएको छ।

अहिलेसम्म नेपालमा मङ्कीपक्सका मिल्दोजुल्दो लक्षण भएका तीन व्यक्तिमा परीक्षण गरिको भए पनि कसैमा पनि सङ्क्रमण पुष्टि नभएको डा दासले बताउनुभयो । नमुना भारत पठाएर नतिजा थाहा हुन दुई सातासम्म लागेको अधिकारीहरूले बताएका छन्।

के छ भारतको स्थिति ?
भारतमा यो साता विदेश नगएका एक व्यक्तिमा मङ्कीपक्स पुष्टि भएको छ। उनी भारतमा फेला परेका मङ्कीपक्सबाट बिरामी परेका चौथा व्यक्ति हुन्। सङ्घीय स्वास्थ्य मन्त्रालयले दिल्ली सरकारलाई ३४ वर्षे युवकको सम्पर्कमा आएका अरू व्यक्तिहरूको पहिचान गर्न आग्रह गरेको छ।

ती व्यक्तिको स्वास्थ्य स्थिर र सुधारोन्मुख रहेको र आत्तिनुपर्ने अवस्था नरहेको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बताउनुभएको छ ।

सरकारले मङ्कीपक्स रोकथामका लागि एउटा निर्देशिका जारी गरेको छ। यसअघि फेला परेका तीन बिरामी दक्षिण भारतको केरला राज्यका थिए। भारतमा मङ्कीपक्सका चार बिरामी फेला परिसकेका छन्

खोपबारे के भन्छ सरकार ?
बिफरविरुद्ध प्रयोग हुने खोपले मङ्कीपक्स रोकथाम गर्न सक्ने विज्ञहरूको भनाइ छ। तर मङ्कीपक्स रोगलाई लक्षित गरेर यसविरुद्ध खोप कार्यक्रम सञ्चालन गर्ने कुनै योजना नरहेको महाशाखाका निर्देशक डा दास बताउनुहुन्छ । नेपालबाट बिफर उन्मूलन भइसकेकाले सरकारसँग बिफरको खोप छैन।

अधिकारीहरूले मङ्कीपक्स कोभिडजस्तो नयाँ सङ्क्रमण नभएकाले यस रोगका लक्षणदेखि रोकथामको विधिबारे विज्ञहरूसँग ज्ञान र अनुभव आफूहरूसँग भएको बताउँछन्। बीबीसीबाट साभार

प्रतिक्रिया दिनुहोस्