Logo
|
Friday 26th April 2024
Logo

epaper

बढ्दो एडिनो भाइरस संक्रमण र यसको उपचारमा एन्टिवायोटिकको प्रयोग कति ठीक कति बेठीक ?



डा. महेश कुमार गौतम, बाल एवं एलर्जी रोग विशेषज्ञ

एडिनो भाइरसबाट नवजात शिशु र साना बालबालिका बढी पीडित भएका छन् । ६० महिनाभन्दा कम उमेरका ९० प्रतिशत बालबालिकाहरुलाई एडिनो भाइरसले असर गरेको पाइएको छ । एडिनो भाइरसहरू सामान्य कीटाणुनाशकविरुद्ध प्रतिरोधी हुन्छन् । यी भाइरस जमिन, पोखरी र तालको पानीमा लामो समयसम्म रहन सक्छन् ।

एडिनो भाइरस सन् १९५३ मा पत्ता लागेको थियो । त्यो बेलादेखि नै यो संक्रमण गर्न सक्ने भाइरसको रुपमा चिनिन्छ ।
एडिनो भाइरसले लक्षणसहित निम्न प्रकारका स्वास्थ समस्या निम्त्याउन सक्छ ।


लक्षण
एडिनो भाइरस संक्रमण भएका व्यक्तिहरुमा ज्वरो, खोकी, रुघा, फ्लू जस्तो लक्षण, घाँटी दुख्ने र आँखा रातो हुने गर्छ जुन साधाहरणतया ३ देखि ५ दिनसम्म रहनसक्छ ।


कहिलेकाहीँ एडिनो भाइरस संक्रमणले लामो समयसम्म १०४ देखि १०५ फरेनहाइट ज्वरोको समस्या हुनसक्छ ।
तल्लो श्वासप्रश्वास नलीमा धेरै कम असर गर्छ ।


रुघाखोकीका साथै पखाला लाग्ने, पेट दुख्ने, बान्ता आउने र पिसाबमा रगत जाने (हेमेटुरिया) समेत हुनसक्छ ।


आँखा रातो हुने, पाक्ने (केराटोकन्जेक्टिभाइटिस) सँग जोडिएका सेरोटाइपहरूमा, ८, १९, ३७, ५३ र ५४ हुन्छन् । त्यस्तै सामान्यतया श्वासप्रश्वाससम्बन्धी रोगहरू ३, ४ र ७ सेरोटाइपहरूको कारणले हुन्छन् । बालबालिकाहरूमा हुने इन्टरिक (झाडा बान्ता गराउने) एडेनोभाइरसहरू मुख्यतया ४०/४१ सेरोटाइपहरू हुन्छन् ।


हालका केहि अध्ययनमा अनुसन्धानकर्ताहरूले विशेषगरी १६ वर्ष मुनिका बालबालिकाहरूमा एडिनोभाइरस र सार्स—कोभ—२ अज्ञात उत्पत्तिको गम्भीर हेपाटाइटिसका कारण हुनसक्ने अनुमान गरेका छन् ।


एडिनो भाइरसले हल्कादेखि गम्भीर रोग निम्त्याउन सक्छ । तर गम्भीर हुने सम्भवना धेरै नै कम हुन्छ । रोगविरुद्ध कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्ति, दीर्घ श्वासप्रश्वास र मुटुसम्बन्धि रोग भएकाहरुलाई एडिनो भाइरस संक्रमणको उच्च जोखिम हुन्छ ।

संक्रमण कसरी हुन्छ ?

एडिनो भाइरस सामान्यतया एक संक्रमित व्यक्तिबाट अरूमा सर्ने गर्दछ ।

छुने वा हात मिलाउनेजस्ता क्रियाकलापबाट नजिकको व्यक्तिसँग सम्पर्कमा आउँदा सर्नसक्छ । खोक्दा र हाछ्युँ गर्दा सर्नसक्छ ।

कुनै वस्तु वा सतहमा रहेको एडिनो भाइरस छोएर हात धुनुअघि आफ्नो मुख, नाक वा आँखा छोएमा संक्रमण हुनसक्छ । केही एडिनो भाइरसहरू डायपर परिवर्तन गर्दा संक्रमित व्यक्तिको दिसाबाट पनि फैलिन सक्छन् । पोखरीमा सँगै पौडी खेल्दा पनि एडिनो भाइरस पानीमार्फत फैलिन सक्छ ।


रोकथाम र उपचार
केही सरल उपायहरू पछ्याएर आफूलाई र अरूलाई एडिनो भाइरसलगायत अन्य श्वासप्रश्वाससम्बन्धी रोगहरूबाट जोगाउन सकिन्छ । यसका लागि कम्तिमा २० सेकेन्डसम्म राम्रोसँग साबुन र पानीले हात धुनुपर्छ । सफा नभएको हातले जथाभावी आँखा, नाक वा मुख छुन हुँदैन । बिरामी भएका व्यक्तिहरुको सम्पर्कबाट टाढा बस्नुपर्छ ।


यदि तपाइ र तपाइको बालबालिका बिरामी भएमा अरूलाई बचाउन मद्धत गर्न सक्नुहुन्छ । जस्तैः
बिरामी हुँदा घरमै बस्नुहोस् ।


खोकी र हाँछ्यू गर्दा खुला हातमा नभई टिस्यु वा रुमालको प्रयोग गर्नुपर्छ ।


खानेकुरा र भाँडाकुँडाहरू साझा रूपमा प्रयोग गर्न हुँदैन ।


अरूलाई चुम्बन गर्न हुँदैन ।


विशेषगरी बाथरूम प्रयोग गरेपछिसाबुन र पानीले कम्तिमा २० सेकेन्डसम्म हात धुनुपर्छ ।

महत्वपूर्ण जानकारी
एडिनोभाइरसको कारणले हुने कन्जक्टिभाइटिसको प्रकोप रोक्न पौडी पोखरीमा क्लोरिनको पर्याप्त मात्रा राख्न जरुरी हुन्छ ।

उपचार
एडिनोभाइरसको कुनै विशेष उपचार छैन । धेरैजसो एडिनोभाइरस संक्रमणहरू सामान्य हुन्छन् र लक्षणहरू कम गर्न चिकित्सकको सल्लाहमा दुखाइ र ज्वरो कम गर्ने औषधिहरू प्रयोग गर्नुपर्छ ।


प्रशस्त पानीलगायत झोलिलो खानेकुरा खानुपर्छ र आरामको जरुरत पर्छ । आफूलाई जटिल भएको महसुस भएमा चिकित्सकलाई देखाउन ढिला गर्न हुँदैन ।


औषधिहरू प्रयोग गर्नअघि सधै लेबल पढ्ने र निर्देशनअनुसार औषधि प्रयोग गर्नुपर्दछ ।


एडिनोभाइरस संक्रमण रोक्न स्वीकृत एन्टिभाइरल औषधिहरू छैनन् ।

एन्टिबायोटिकको गलत प्रयोग
एडिनोभाइरस संक्रमण र ब्याक्टेरियल संक्रमणसँग झुक्किन सकिन्छ । रगत जाँचमा ल्युकोसाइटोसिस र न्युट्रोफिलियाका कारणपनि ब्याक्टेरियल संक्रमणहरूसँग झुक्किन सकिन्छ । उच्च ज्वरो पनि अन्य भाइरल कारणहरूको तुलनामा लामो समयसम्म रहन सक्छ ।

एडिनोभाइरस संक्रमण भएका बच्चाहरूलाई प्रायः ब्याक्टेरिया संक्रमणको शंकामा एन्टिबायोटिकको प्रयोग गरिन्छ जुन विशेष अवस्था (सँगै ब्याक्टेरियल संक्रमण) बाहेक अरु बेलामा दिन हुँदैन ।


( डा. गौतम नेशनल अस्थमा एलर्जी सेन्टर, लाजिम्पाटमा कार्यरत हुनुहुन्छ । उहाँ पेडियाट्रिक अस्थमा एलर्जी इम्युनोलोजी प्राक्टिसनर्स सोसाइटी अफ नेपाल (प्याइप्सन) को अध्यक्ष र लाइन्स क्लव अफ काठमाडौं रेडिएन्सको अध्यक्ष हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्