Logo
|
Wednesday 24th April 2024
Logo

epaper

ह्याम्स हस्पिटलमा ‘ह्याम्स आईभिएफ केन्द्र’ सञ्चालनमा, स्वास्थ्यमन्त्रीद्धारा उद्घाटन

आईभिएफ सेन्टरहरुले पारदर्शिता, इथिकल र साइन्टिफिक प्राक्टिस अपनाउन मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. भगवान कोइरालाको सुझाव



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको धुम्बराहीस्थित ह्याम्स हस्पिटलले निःसन्तान दम्पत्तिहरुलाई सन्तान सुख प्रदान गर्न ह्याम्स आईभिएफ केन्द्र सञ्चालनमा ल्याएको छ ।

स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले एक कार्यक्रमबीच सो केन्द्रको आज उद्घाटन गर्नुभयो ।

तिहारपछि पहिलो आईभिएफ ब्याच शुरु हुँदै गरेको यो केन्द्र नेपालको २९ औं आईभिएफ सेन्टर हो । स्वास्थ्य मन्त्रालयबाट स्वीकृति लिएर सञ्चालनमा ल्याइएको ह्याम्स आईभिएफ केन्द्रले महिला र पुरुषहरुमा हुने निःसन्तान सम्बन्धि समस्या पहिचान गरी सामान्यदेखि आईयुआईलगायत आईभिएफ (इनभिट्रोभर्टिलाईजेसन) सम्मको सेवा उपलब्ध गराउने हस्पिटलका अध्यक्ष आर.एस. भण्डारीले बताउनुभयो ।

वरिष्ठ स्त्री तथा प्रजनन विशेषज्ञ डा. भोला रिजाल र वरिष्ठ स्त्री तथा प्रशुति विशेषज्ञ प्रा.डा. पदम राज पन्तको अगुवाईमा निःसन्तान दम्पत्तिको उपचारका लागि पूर्ण टिम र प्रविधिको व्यवस्था गरी केन्द्र सञ्चालनमा ल्याइएको छ ।

हस्पिटलका कार्यकारी निर्देशक एवं वरिष्ठ मुटु शल्यचिकित्सक डा. ज्योतीन्द्र शर्माले अस्पतालबाट प्रदान गरिने निःसन्तान उपचार सेवा सर्वोत्कृष्ट हुने विश्वास दिलाउनुभयो ।

सो अवसरमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. भगवान कोइरालाले आईभिएफ सेन्टरहरुले पारदर्शिता, इथिकल र साइन्टिफिक प्राक्टिस अपनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

बुवा राजेन्द्र तमाङ र आमा सन्ध्याबाट नेपालमा पहिलो टेष्टट्युव बेवी ओममणि तमाङलाई जन्म दिन सफल भएको उल्लेख गर्दै डा भोला रिजालले हालसम्म मुलुकमा रहेका २९ वटा आईभिएफ सेन्टरबाट अनुमानित ५ हजारभन्दा बढी टेष्टट्युव वेवीको जन्म दिइसकेको बताउनुभयो । सन्तान नहुनमा भगवानको दोष नभई उपचार गर्दा सम्भव हुने उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्