काठमाडौको महाराजगञ्जमा नेपालकै पहिलो ‘इम्युनोकेयर’ –जटिल एवं दीर्घरोगी बालबालिकालाई राहत
धेरै बालबालिकामा गम्भीर असर गरिरहेको पाइएपछि यसैमा समर्पित उपचार केन्द्रको स्थापना
जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको महाराजगञ्जमा नेपालकै पहिलो बालबालिका तथा वयस्कका निम्ति प्रतिरक्षा (इम्युनिटी) रोग एवं बाथरोगको सम्पूर्ण सेवा उपलब्ध गराउन ‘इम्युनो केयर’ एडभान्स्ड सेन्टर फर इम्युनोेलोजी एण्ड र्यूम्याटोलोजी (एसिआईआर) स्थापना भएको छ ।
‘इम्युनो केयर नाम दिइएको यस ‘उच्च रोग प्रतिरक्षा तथा बाथरोग केन्द्र’ मा ‘बाल–प्रतिरक्षा रोग एवं बाल–बाथरोग विज्ञान’ विषयमा डी.एम. गरेका नेपालका प्रथम ‘पेडियाट्रिक इम्युनोलोजिष्ट एवं र्यूमाटोलोजिष्ट डा. धर्मागत भट्टराई र वयस्क वाथरोगमा डी.एम. गरेका कन्सल्ट्यान्ट र्यूमाटोलोजिष्ट डा. साकेत झा मुख्य चिकित्सक छन् ।
निदानदेखि उपचार
नवजात शिशु/बच्चा/किशोरकिशोरीदेखि बृद्धबृद्धा सबैको इम्युनरोग र बाथरोगको ‘डी.एम.’ ‘विशिष्टीकृत–विज्ञ’ हरुबाट सम्पूर्ण सेवा एकै छानामुनि उपलब्ध हुने यो नेपालको पहिलो र एकमात्र केन्द्रका रुपमा लिइएको छ ।
महाराजगञ्जको प्रहरी वृत्त पछाडि रहेको यस केन्द्र बालबालिकादेखि वयस्कमा हुने सम्पूर्ण प्रतिरक्षा रोग (इम्युन गडबडी) एवं बाथ रोगको निदान तथा उपचार गर्ने उद्देश्यले केन्द्रको स्थापना भएको डा. भट्टराईले बताउनुभयो । नेपालमा बच्चामा हुने प्रतिरक्षा रोगबारे पटक्कै सचेतना नभएको, बाल–बाथरोगबारे थोरैलाई मात्रै जानकारी भएको र यसले धेरै बालबालिकामा गम्भीर असर गरिरहेको पाइएपछि यसैमा समर्पित उपचार केन्द्रको स्थापना गरिएको हो ।
‘हाम्रो देशमा इम्युनोलोजीसम्बन्धी बिमारीबारे सचेतना शून्यप्रायः छ । मेडिकल पेशाकर्मीमा पनि यसबारे ज्ञान हुनुपर्ने भन्दा कम छ । बच्चामा हुने बाथसम्बन्धी त धेरै कमलाई मात्रै जानकारी छ । बच्चाका प्रतिरक्षाका जटिल रोग या जोर्नी बाहेकका सबै बाथरोगको लागि नेपालमा हालसम्म समर्पित केन्द्र थिएन’, डा. भट्टराईले भन्नुभयो —‘जसकारण पत्ता नलागेका जटिल बालरोगका बिरामी बच्चा विदेशमा रेफर हुन्थे या निदान नै नभई भौंतारिन्थे । कतिपयमा ठ्याक्कै निदान नभई अपुरो या गलत उपचार पाइरहेको पनि पाइए । चिकित्सा क्षेत्रको यो अपुरो पक्ष पूरा गर्न इम्युनोकेयर समर्पित रहनेछ ।
यहाँ अहिले आधारभूतरुपमा विशिष्टीकृत विज्ञ परामर्श, सामान्यदेखि बंशाणुगत परीक्षणसम्मका उन्नत ल्याबोरेटरी टेष्ट, अल्ट्रासाउण्ड, फिजियोथेरापी, आँखाको परीक्षणसम्मका सेवापनि शुरु भइसकेकोछ ।
‘हाम्रो भविष्य मार्गमा आगामी दिनमा एडभान्ड, इम्यूनोलोजी, सेलुलर थेरापी / स्टेम सेल/बोनम्यारो प्रत्यारोपण गर्ने योजना पनि छ । यसो गर्दा प्रतिरक्षा कमी उपचार निम्ति चाहिने बिरामीलाई स्वदेशमै त्यो सेवा उपलब्ध हुनसक्नेछ’—उहाँले भन्नुभयो ।
बालबालिकाका प्रतिरक्षा रोग, बारम्बार बिमार हुने समस्या, पत्ता नलागेका दीर्घ रोग एवं बाल तथा वयस्कका बाथजन्य रोगसम्बन्धी जुनकुनै बिरामी यहाँ उपचार गर्न आउन सक्छन् । खासगरी कुनै बिरामी बच्चामा थुप्रै अंग या प्रणालीमा एकैचोटी या अवधि–अवधिमा समस्या देखिएको छ भने ती इम्युन रोग या बाथरोग हुनसक्छन् । रोगको लक्षणको मात्र उपचार गरेर बसियो भने बिमार झांगिदै जान्छ । यस्ता रोगको जरो पत्ता लगाएर उपचार गर्न जरुरी रहेको उहाँको भनाइ छ ।
इम्युन सिस्टम (प्रतिरक्षा प्रणाली) मा हुने अस्वाभाविक असन्तुलनले बाथरोग जन्मन्छ ।
जन्मजात इम्युन कमीका रोग जीनमा हुने गडबडीले हुने भए पनि तिनीहरुले ल्याउने समस्या जन्मिना साथ हुन्न । फरक फरक बिमारी फरक उमेरमा प्रस्तुत हुन्छन् । कति त वयस्क भैसक्दा बल्ल देखिन्छन् । अनि बाथरोग चाँहि बच्चा जन्मँदै जीनमा समस्या नभएपनि पछि प्रतिकुल शारीरिक एवं वातावरणीय प्रभावले ल्याउने गम्भीर इम्युन–असन्तुलनले निम्त्याउँछ । त्यसैले यी दुई विषय (इम्युनोलोजी एवं र्युमाटोलोजी) लाई सँगसँगै अध्ययन गरिन्छ ।
बच्चामा लगातार, आवधिक, या बारम्बार एकैे वा विभिन्न खाले शारीरिक समस्या देखिइरह्यो भने परीक्षण तथा उपचार जरुरी भएको बुझ्नुपर्ने डा. भट्टराईको आग्रह छ ।
इम्युन कमीका रोग
शरीरमा रोग–प्रतिरोधात्मक क्षमतामा हुने कमी या असन्तुलनले प्रतिरक्षा रोग (इम्युन डिसअर्डर) हुन्छ । गर्भमा हुँदादेखि नै वंशाणुगत उत्परिवर्तन (जीन डिफेक्ट÷म्युटेसन) भएर हुने बिमारी प्राथमिक इम्युन–कमी अर्थात् प्राइमरी इम्युनोडेफिसेन्सी डिसअर्डरका समस्या हुन् । इम्युनोलोजीको विश्वभरको हालसम्मको प्रकाशित तथ्याङ्कले प्राइमरी इम्युनोडेफिसेन्सी, डिसअर्डर दश हजारमा एकदेखि २० जनासम्म हुने गरेको देखाएको छ । जीनमा गडबडी नभएका तर जन्मेपछि हुने कुपोषण, औषधि, जटिल असन्तुलन, औषधि, भाइरस, संक्रमण आदिले हुने इम्युन कमी सेकेन्डरी इम्युनोडेफिसेन्सी डिसअर्डर हुन् ।
इम्युन कमीका प्रारम्भिक संकेत
प्रथमतः कुनैपनि बच्चामा संक्रमण, छालारोग, आंगिक रोग, अस्वभाविक तन्तु–वृद्धि बहु आंगिक, दिर्घकाल, आवधिक या बारम्बार भइरहेमा इम्युन रोग सोच्नैपर्छ । सामान्य हिसाबमा बुझ्दा एक बर्षमा ४ पटक भन्दा बढी कानको संक्रमण, दुईपटक भन्दा बढी साइनस (पिनास/नाक) इन्फेक्सन या प्रमाणित निमोनिया, अन्तरिक अंग रोग, सघन उपचार जरुरी, मुख÷जिब्रोमा सेतो तह (बाख्री) पर्ने, छाला, कलेजो, आन्द्राजस्ता कुनैपनि अंगमा दाग, घाउ, गाँठा हुने, पीप जम्ने, वृद्धि विकास नहुने, रक्तकोषको कमी हुने, सामान्य किटाणुले सताउने, एकपछि अर्को आंगिक रोग देखिने प्राइमरी इम्युन डेफिसेन्सी डिसअर्डर अर्थात् इम्युन कमी रोगका संकेत हुन् ।
बारम्बार श्वासप्रश्वास रोग र पिलोे आउने समस्यामा पनि इम्युनडेफिसेन्सीको कारण हुनसक्छ । रक्त अनुसन्धान, फ्लोसाइटोमेट्री र जीन टेष्ट आदिबाट अधिकांश इम्युनरोग जाँच्न सकिन्छ । प्राइमरी इम्युन कमीका रोगको उपचार उपलब्ध औषधि, इम्युनो–ग्लोब्युलीन, इन्टरफेरोन सेल–थेरापी, कार्ट, जिन थेरापी या स्टेम सेल प्रत्यारोपण आदिबाट गर्न सकिन्छ । कहिलेकाँही औषधिले असर नगरेमा बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने हुनसक्छ । इम्युन रोगका पूर्ण जेनेटिक टेष्ट नेपालमा अहिले नभएकोले तत्काल यहीं नै उपलब्ध गराउने योजना छ । देशका उच्च निजी तथा सरकारी चिकित्सा संकाय, शिक्षण अस्पताल, बाल अस्पताल र विभिन्न मेडिकल कलेजहरुले पेडियाट्रिक इम्युनोलोजी एवं र्युम्याटोलोजीका रोग पनि सोच्न र यो युनिट खोल्न जरुरी छ । त्यसपछिमात्र बिमार पत्ता लाग्ने र रिफर गर्ने चलन शुरु हुन्छ ।
बालबालिकाका बाथरोगबारे भ्रम
नेपालमा बाथ बारे भयंकर घातक भ्रम व्याप्त छन् । जनमानसमा बच्चामा बाथरोग हुन्न, बाथ भनेको युरिक एसिड बढ्ने हो अनि बाथ भनेको जोर्निमात्रैको बिमार हो भन्ने भ्रम छ । कृपया यो सोच बदलौं । सत्य के हो भने बच्चामा झन् बढी गम्भीर र जटिल बाथरोग हुन्छन् र तिनको समयमै निदान र सही उपचार नगरे अंगभंग हुने, ज्यान जाने हुनसक्छ । अर्को झन् महत्वपूर्ण सत्य यो हो कि बाथरोग जोर्नीको बिमार मात्र होइन । बच्चामा हुने धेरैजसो बाथमा तन्तु या अंगमा असर परेर जोर्नी केही नभएको हुनसक्छ । अतः बाथ भनेको जोर्नीको रोग मात्रै होइन । अझ बच्चामा त बाथ भनेको युरिक एसिड बढ्ने रोग होइन । बच्चाका बाथ भनेका थुप्रै अंग तन्तुमा एकैचोटी या एकपछि अर्को समस्या ल्याउने तत्कालिन या दीर्घकालीन सयौँ जटिल रोगको समुह हो । बाल बाथरोगमा कुनै पनि अंगमा समस्या आउनसक्छ । पहिलेदेखिका सबै लक्षणको जरोसम्म कारण पत्ता लगाउन खोजेमात्र यी रोग पत्ता लाग्छन् ।
बालबालिकाका बाथरोगका प्रारम्भिक संकेत
बालबालिकामा हुने बाथरोग झन् गम्भीर हुन्छन् । समयमा यिनको पहिचान गरी उपचार गरे ठिक भै निको हुने यी रोगका लक्षण सुरुमै चिन्न जरुरी छ । अतः अभिभावकले यी लक्षण भएमा बाल–बाथरोग होकी भनी जाँच गर्नुपर्छ ।
बच्चाको वृद्धि, विकास रोकिनु, सामान्य किटाणुले गम्भीर बिमारी बनाउनु, स्वप्रतिरक्षित (अटो–इम्युन), स्व–सुजन, या रोग–प्रतिक्रियात्मक अवस्था, एकभन्दा बढी इन्डोक्राइन हर्मोनको कमी अरु कुनै लक्षण सँगै देखिनु, बोन म्यारो (मासी) तथा रक्तकोषमा कमी या गम्भीर उथलपुथल, कारण पत्ता लगाउन गाह्रा पटकपटक आउने ज्वरो, जिउ अस्वाभाविक गल्नु, उमेरअनुसार बच्चा हिडडुल नगर्नु, नाजुक रही नखेल्नु, अस्वाभाविक ओठ फुल्नु, एलर्जी भइरहनु, हड्डी दुख्नु, लिम्फ या फियो÷ तिल्लीको आकार बढ्नु, जोर्नी, हड्डी, टेण्डन, लिगामेन्ट, ढाड, घिच्रो, छाला, लिम्फ आदि । अङ्गमा दुख्नु या सुन्निनु, छाला, तालु, मुखभित्र, आँखाको बाहिर–भित्र घाउ, लामो समय चर्मदाग, डाबर, चर्मसुजन, बिमिरा रहिरहनु, मुख आँखा सुक्खा भइरहनु, प्यारोटिड ग्रन्थी बढ्नु, देख्न गाह्रो हुनु या आँखा बारम्बार रातो हुनु, ‘बारम्बार गर्भपात’, ‘लुपस’ या ‘सोगरेन रोग’ भएका आमाका नवजात शिशु, बिशेषतः जन्मेको बच्चामा अनुहार/शरीरमा दाग तथा मुटुको गति कम हुनु, बालबालिकामा रक्तनलीका कुनैपनि समस्या या अत्यधिक पाखुरा र खुट्टामा अलग रक्तचाप (बिपी) हुनु, छालामा या मुख आँखाभित्र दाग, मांशपेशी कमजोर भई उठबस, कोरीबाटी, भर्याङ्ग चढ्न गाह्रो हुने, नङ बिग्रने, कपाल झर्ने, औला सख्त हुने, नङ्गसिलिका कोशीका रक्ताम्मे हुने, औंलाका टुप्पा चिसोमा सेता हुनु, अरु लक्षण (जस्तै लामो ज्वरो, कपाल झर्ने, एलर्जी, रगत आउने) सँगै श्वाससंयन्त्र (मुख, कान, नाक, स्वरयन्त्र, फोक्सो) साथै मिर्गाैलाका समस्या हुन् ।