Logo
|
Monday 6th May 2024
Logo

epaper

नेपाल चिकित्सक संघ लोकतान्त्रिक समुहद्धारा १७ बुँदे प्रमुख एजेन्डा सार्वजनिक

१९ जना उम्मेद्धार मध्ये ७ जना निर्विरोध निर्वाचित



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल चिकित्सक संघको आगामी माघमा हुने निर्वाचनमा लोकतान्त्रिक समुहले ‘स्वस्थ नेपालका लागि स्वस्थ चिकित्सक’ भन्ने मूल नाराका साथ १७ बुँदे एजेन्डा सार्वजनिक गरेको छ । आज राजधानीमा पत्रकार सम्मेलन गरी सो एजेन्डा सार्वजनिक गरिएको हो ।


डा. अनिल बिक्रम कार्की नेतृत्वको लोकतान्त्रिक समुहले सार्वजनिक गरेको एजेन्डाहरुमा चिकित्सकको तलब वृद्धिसहित आर्थिक उन्नतिका लागि थप दबाब सिर्जना गर्ने, नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स प्राप्त सम्पूर्ण चिकित्सकहरुको सबै प्रकारका बीमा सरकारले नै गरिदिने व्यवस्था ल्याउन पहल गर्ने, वान टाइम टिडिएस को व्यवस्था गर्ने, चिकित्सकहरुको काम गर्ने समयलाई वैज्ञानिक ढंगले निर्धारण गरी वर्षमा एक पटक अनिवार्य रुपमा १५ दिनको पेड फोर्स ट्राभल लिभको व्यवस्थाका लागि पहल गर्ने, चिकित्सक र उनीहरुको परिवारका लागि डेडिकेडेट हस्पिटल निर्माणका लागि पहल गर्ने, चिकित्सक सेवा आयोगको स्थापना र चिकित्सक ऐनका लागि पहल गर्ने रहेका छन् ।


यसैगरी ह्युमन रिसोर्स म्यापिङ गरी दरबन्दी थप गर्न दबाब दिने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन), ऐन २०७९ को सतप्रतिशत कार्यान्वयन गराउने, अस्पताल लगायत स्वास्थ्य संस्थाको सुरक्षाका लागि छुट्टै ‘स्वास्थ्य सुरक्षा बल’ बनाउन पहल गरिने, चिकित्सा शिक्षामा पीजीको सिट संख्या बढाउँदै पिजी अध्ययनका लागि एक वर्षको अनुभव अनिवार्य रहेको व्यवस्था हटाउन पैरवी गर्ने, संघीय संरचना अनुसार नेपाल चिकित्सक संघलाई सात वटै प्रदेशमा सुविधा सम्पन्न कार्यलय स्थापना गर्ने, एशोसियसनको जर्नललाई छुट्टै एकेडेमिक एण्ड रिसर्च वीङ्सको रुपमा विस्तार गर्ने, एनएमए प्रिभिलेज कार्ड र सफ्ट लोनको व्यवस्था गर्ने, एनएमए मेडिकल म्युजियमको स्थापना गर्ने, सेन्टर फर डिजिज कन्ट्रोलको स्थापना गरी विशेषज्ञ चिकित्सक समाजहरुसँग समन्वयन गरेर ट्रिटमेन्ट प्रोटोकल, प्रिभेन्टिभ गाइडलाइन बनाउने कार्यलाई तीव्रता दिने, नेपाली चिकित्सकलाई टेम्पोररी लाइसेन्स लिनुपर्ने व्यवस्था खारेज गर्न दबाब दिने, आवासीय चिकित्सकलाई तलबी, सुत्केरी, बिरामी र किरिया बिदाका लागि पहल गर्ने रहेका छन् ।


डा. अनिल बिक्रम कार्की नेतृत्वको लोकतान्त्रिक समुहबाट मधेस प्रदेशको डा. निरज कुमार सिंह, बागमती प्रदेशको डा. प्रकाश बुढाथोकी, गण्डकी प्रदेशको डा. राजन शर्मा, सुदुरपश्चिम प्रदेशको उपाध्यक्षमा डा. प्रशान्त भट्टले प्रतिस्पर्धाका लागि निर्वाचनमा उम्मेदवारी दिनुभएको छ ।


संघको महासचिवका लागि डा. सञ्जिव तिवारी र सदस्यहरुमा डा. अमित रञ्जन मिश्र, डा मनोरदिन शैयद, डा. सिर्जना विष्ट, डा. किशोर खत्री, डा. तेज्सु सिंह मल्ल र डा. योभिन कुमार यादवले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।


तर, वरिष्ट उपाध्यक्षमा डा. बद्री रिजाल, प्रदेश नं. १ को उपाध्यक्षमा डा. विपेश आचार्य, लुम्बिनी प्रदेशबाट उपाध्यक्षमा डा. नन्दा कुमारी गुरुङ, कर्णाली प्रदेशको उपाध्यक्ष डा. किशोर बहादुर ढकाल, कोषाध्यक्षमा डा. प्रमोद जोशी, सह–सचिवमा डा. लिजन महर्जन र सह–कोषाध्यक्षमा डा. बिक्रान्त ढकाल निर्विरोध निर्वाचित हुनुभएको छ ।


संघको केन्द्रिय कार्यसमितिको निर्वाचन २०७९ मा डा. अनिल बिक्रम कार्की नेतृत्वको लोकतान्त्रिक समुह मध्ये १२ जनाले प्रतिस्पर्धा गर्नुपर्ने छ भने ७ जना निर्विरोध निर्वाचित भएका छन् ।


मतदान काठमाडौँ उपत्यका बाहिर माघ ६ र ७ गते संघका शाखा कार्यालयमा, काठमाडौँ उपत्यका भित्र माघ १९, २०, २१ गते संघको केन्द्रिय कार्यालयमा हुँदै छ । मुलकभर गरी संघका करिब १३ हजार सदस्य चिकित्सक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्