Logo
|
Saturday 18th May 2024
Logo

epaper

प्रा.डा. मधु दीक्षित देवकोटा उत्कृष्ट व्यवस्थापन अवार्डबाट सम्मानित

अनुकरणीय व्यवस्थापन शैलीमा अस्पताललाई निरन्तरता दिन सफल



जनस्वास्थ्य सरोकार, काठमाडौं । उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पतालकी अध्यक्ष प्रा.डा. मधु दीक्षित देवकोटा उत्कृष्ट व्यवस्थापन अवार्डबाट सम्मानित हुनुभएको छ ।

अनुकरणीय व्यवस्थापन शैलीमा अस्पताललाई निरन्तरता दिन सफल भएको मूल्याङ्कन गर्दै नेपाल व्यवस्थापक संघले अवार्ड प्रदान गरेको हो । राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले प्रा.डा. मधुलाई सो अवार्ड प्रदान गर्नुभएको थियो ।


उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलकी संस्थापक अध्यक्ष हुनुहुन्छ प्रा.डा. मधु । यस बाहेक उहाँले आफ्नो जीवनको ३४ वर्ष त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्जमा अध्यापनमा बिताउनुभयो । सन् १९८४ मा शिक्षण अस्पताल महाराजगञ्जमा मेडिकल अफिसरको रुपमा सेवामा प्रवेश गर्नुभएकी डा. मधु पछिल्लो समय सहायक डिनसम्म हुनुभयो । त्यतिखेर शैक्षिक र योजना गरी उहाँलाई दुई वटा पोर्टफोलियोको जिम्मा दिइएको थियो । श्रीमान वरिष्ठ न्युरो सर्जन प्रा.डा. उपेन्द्र देवकोटा बिरामी परेपछि उहाँलाई उपचारार्थ बेलायत लानुपर्यो र प्रा.डा. मधुले सो कार्यलाई निरन्तरता दिन सक्नुभएन । कुर्सी खाली रहँदा व्यवस्थापनलाई गाह्रो होला भनेर उतैबाट राजिनामा पठाउनुभयो ।

प्रा.डा. देवकोटाको अवसान उपरान्त उहाँ पूर्णकालीन रुपमा अस्पतालको व्यवस्थापनमा आवद्ध रहिरहनुभएको छ । अहिले प्रा.डा उपेन्द्र देवकोटा नभएको अवस्थामा प्रा.डा. मधुले अस्पतालको व्यवस्थापनलाई राम्रोसँग कार्यान्वयमा ल्याउन सफल हुनुभएको छ ।


प्रा.डा.देवकोटाले मस्तिष्क तथा स्नायुरोगको संवेदनशीलतालाई ध्यानमा राखी पेसेन्ट फस्ट (पहिला बिरामी) भन्ने विशिष्ट सिद्धान्त प्रतिपादित गर्नुभएको थियो । त्यसैअनुरुप आज पनि बिरामीलाई केन्द्र बिन्दुमा राखी अति विशिष्ट चिकित्सक एवं प्राविधिक स्वास्थ्यकर्मीको टोली (मल्टी डिसिप्लिनरी टीम) बाट रोगको निदान एवं उपचारको समुचित व्यवस्थापन गरिएकोे छ ।

‘धेरै आलोचनात्मक अवस्था पार गरेर हामी यहाँसम्म आइपुगेका छौं । आउँदा दिनमा हामी सँगै अघि बढेर अझ दह्रो हुँदै जानेछौं ।’—प्रा.डा. मधुले बताउनुभयो ।


उपलब्ध सेवाहरुलाई अझै बढि गुणस्तरीय बनाउन यस अस्पतालमा लामो समय डा. देवकोटासँग काम गरेका अनुभवी स्वास्थ्यकर्मीहरु सहित स्नायु तथा स्नायुसम्बद्ध विशेषज्ञहरुको समुह २४ सै घण्टा सेवारत रहेका छन् । थप नयाँ प्रविधि एवं सोहि अनुरुप दक्ष विशेषज्ञहरुको आगमनले यस अस्पतालमा प्रदान गरिने स्नायुसम्बन्धि सेवाको दायरा अझै फराकिलो, विस्तृत एवं गुणस्तरीय बनेको छ ।


‘मैले भोगेको दुःख र संघर्षले मलाई खारेको हो कि जस्तो लाग्छ । वास्तवमा म आफ्नो व्यक्तित्व र आफ्नो भोगाइसँग मेल खाने साधारण मान्छे हुँ । मेरी आमा गान्धीवादी महिला हुनुहुन्थ्यो । उहाँले धेरै पढ्नुभएको पनि थिएन । तर मन सफा र सेवाभाव राख्ने , फाटेको लुगा भएपनि सिएर सफा बनाएर लगाउन लाज मान्न हुँदैन भन्नुहुन्थ्यो । मैले अवसर पाएँ, पढेँ, एउटा विशेष मान्छेसँग जीवन निर्वाह गरेँ ।’— प्रा.डा. मधु भन्नुहुन्छ—‘ त्यहि शिक्षा मैले हाम्रा ३ वटा छोरीहरु लाई दिएकी छु । ‘हिजोको तिमी भन्दा आजको तिमी अझैराम्रो मान्छे कसरी बन्ने’ भनेर छोरीहरुलाई भन्ने गर्छु ।’

प्रतिक्रिया दिनुहोस्