Logo
|
Monday 6th May 2024
Logo

epaper

आँखा तथा कान उपचारमा सहकार्य गर्न नेपाल नेत्रज्योति संघ र सिबिएम ग्लोबलबीच सम्झौता



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल नेत्रज्योति संघ र सिबिएम ग्लोबल बिच आपसी सहकार्य गर्ने सम्झौता भएको छ । प्रदेश नम्बर १ र मधेश प्रदेशमा गरिबिको रेखामुनी रहेका आम नागरिकहरुलाई गुणस्तरिय आँखा तथा कान स्वास्थ्य सेवा प्रवाहका लागि दुई संस्थाहरुका बिचमा सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा नेपाल नेत्रज्योति संघका तर्फबाट अध्यक्ष प्रा.डा. चेतराज पन्त र सिबिएम ग्लोबलका तर्फबाट कार्यकारी निर्देशक डेभिड बेनब्रिजले हस्ताक्षर गर्नुभएको छ । उक्त कार्यक्रममा नेत्रज्योति संघका महासचिव भरत बहादुर चन्द, सदस्य पद्मनारायण चौधरी तथा सिबिएम ग्लोबलका, कन्ट्री डाइरेक्टर सुरज सिग्देलको उपस्थिती थियो ।

सिबिएम ग्लोबलको सहयोगमा नेत्रज्योति संघको पुर्वाञ्चल क्षेत्रिय आँखा तथा कान उपचार कार्यक्रम मार्फत प्रदेश नम्बर १ र मधेश प्रदेशका सिमान्तकृत समुदायका र गरिबीको रेखामुनी रहेका नागरिकहरुलाई निःशुल्क रुपमा आँखा तथा कान उपचार सेवा प्रदान गरिने छ ।

दुई संस्थाहरु बिचको सहकार्यमा आँखा तथा कान उपचारको पहुँचबाट टाँढा रहेका सो क्षेत्रका नागरिकहरुलाई आँखा अस्पताल, आँखा उपचार केन्द्रहरु तथा बाह्य कार्यक्रम मार्फत उपचार सेवा प्रदान गरिने संघले जनाएको छ ।

नेत्रज्योति संघ र सिबिएम ग्लोबलका बिचमा नेपालमा आँखा उपचार सेवालाई जनताको घर दैलोमै सहज, सुलभ र सस्तो रुपमा गुणस्तरिय सेवा प्रदान गर्न बिगत ४० बर्षदेखि सहकार्य भइरहेको छ ।

सम्झौता पछि बोल्दै सिबिएम ग्लोबलका कन्ट्री डाइरेक्टर सुरज सिग्देलले नेपालको आँखा उपचार र अन्धोपन नियन्त्रणको क्षेत्रमा गरिरहेका उत्कृष्ट काम कै कारण बिगत ४० बर्षदेखि विभिन्न कार्यक्रम मार्फत नेत्रज्योति संघसंग सहकार्य गरिरहेको भन्दै उनले आगामी दिनहरुमा पनि सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सन् २०३० सम्ममा नेपालबाट उपचार पछि निको हुने अन्धोपन निवारण गर्ने नेत्रज्योति संघको लक्ष्यलाई यो सहकार्यले ठुलो सहयोग पुर्याउने संघका अध्यक्ष प्राडा चेतराज पन्त बताउनुहुन्छ ।

अहिले पनि नेपालमा कतिपय जनताहरु आर्थिक अभावकै कारण दृष्टिबिहिनतामा बसिरहेको भन्दै उहाँले यस्तै संघ संस्थाहरुको सहकार्यमा नेपालबाट २०३० सम्ममा उपचार पछि निको हुने अन्धोपननको निवारण हुने विश्वास व्यक्त गर्नुभयो ।

हाल कर्णाली प्रदेशमा नेत्रज्योति संघ र सिबिएमको सहकार्यमा एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम संचालनमा छ । उक्त कार्यक्रमबाट सन् २०२२ मा मात्र ३ हजार ८० जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिएको छ ।

हाल नेत्रज्योति संघले २७ वटा आँखा अस्पताल, १५० वटा आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरु मार्फत नागरिकहरुलाई सर्भसुलभ र गुणस्तरिय आँखा स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ । संघले आर्थिक अभावका कारण कोहि पनि नागरिकले दृष्टिबिहीन जीवन यापन गर्न बाध्य नहुन भन्ने हेतुले जनताको घर दैलोमै सहज, सुलभ र सस्तो रुपमा गुणस्तरिय सेवा प्रदान गरिरहेको र सोका लागि विभिन्न निकायहरुसंगको साझेदारिमा उज्यालो अभियान कार्यक्रम समेत सञ्चालन गदै आएको छ जसबाट धेरै गरिबीको रेखामुनी नेपाली नागरिकहरुले निःशुल्क आँखा जाँच तथा शल्यक्रिया सेवा समेत पाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्