मेडिकल इमेजिङ : स्वास्थ्य सेवामा क्रान्ति
जनस्वास्थ्य सरोकार, काठमाडौँ । रेडियोलोजिकल सेवाको बढ्दो मागलाई पूरा गर्न विश्वभरका अस्पतालहरूमा ‘मेडिकल इमेजिङ’ टेक्नोलोजीको प्रयोग बढ्दै गएको छ । मेडिकल इमेजिङ टेक्नोलोजीमा पिक्चर आर्काइभिङ कम्युनिकेशन सिस्टम्स (पिएसिएस), रेडियोलोजी इन्फर्मेशन सिस्टम्स (आरआईएस) र हस्पिटल इन्फर्मेशन सिस्टम्स (एचआईएस) लगायत कम्पोनेन्ट हुन्छन् । जुन सामान्यतया कम्प्युटर नेटवर्कमार्फत् जोडिएको हुन्छ ।
राष्ट्रिय जनगणना ०७८ ले नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० देखाएको छ । यो लगभग तीन करोडको हाराहारी हो । ०७९ सालमा नेपालीको प्रतिव्यक्ति वार्षिक आय करिब एक हजार ३८१ अमेरिकी डलर पुगेको छ । धेरै नेपाली अझै पनि गरिबीको रेखामुनि छन् । जनसंख्याको ९० प्रतिशतभन्दा बढी ग्रामीण क्षेत्रमा बसोबास गर्छन् । सरकारले प्राथमिक स्वास्थ्य सेवा नेपालका प्रत्येक नागरिकको मौलिक हक भएको घोषणा गरे पनि त्यसको उपयोग र सुविधाको अपर्याप्तताका कारण तत्कालीन स्वास्थ्य सेवा प्रणाली कमजोर छ ।
नेपालमा अन्य उपचारात्मक क्षेत्रहरूको तुलनामा रेडियोलोजीकल निदान र रेडियोथेरापी क्षेत्रमा बजेटको कमी छ । राजधानी र राजधानीबाहिरका प्रमुख शहरका निजी र सरकारी अस्पतालहरूमा रेडियोलोजी सेवाको पहुँच कमजोर छ । यी महँगा चिकित्सा सुविधाहरू धनीले मात्र लिन सक्छन् । गरिब नागरिकले यस्ता महँगा सेवा धान्न मुस्किल पर्छ । यी सेवालाई पूर्ण रूपमा विस्तार गर्न नेपाल सरकार असमर्थ छ । नेपालका राजनीतिक दलहरूसँग स्वास्थ्य सेवा प्रणालीको सुधारका लागि बलियो राजनीतिक प्रतिबद्धता छैन, बरू उनीहरूले आफ्नो स्वार्थमा काम गर्न स्वास्थ्य प्रदायक संस्थाहरूमा बलियो राजनीतिक प्रभाव प्रयोग गर्ने अमेरिकन कलेज अफ रेडियोलोजीले प्रकाशित गरेको वरिष्ठ रेडियोलोजिष्ट डा. कालु शर्मा सुवेदी र डा. प्रज्ञा शर्माको ‘नेपालमा रेडियोलोजीको विकास र चुनौति’ विषयक आलेखमा उल्लेख छ ।
विश्वभर नै डायग्नोस्टिक र रेडियोथेरापीको क्षेत्रमा ठूलो प्रगति भए पनि नेपाललगायतका विकासोन्मुख देशहरूमा यसको सुधार र व्यवस्थापन कमजोर भएको सो आलेखमा विश्लेषण गरिएको छ ।
नेपालमा रेडियोलोजी सेवा
नेपालसँग रेडियोलोजी सेवाको एक सय वर्ष लामो इतिहास छ । सन् १९२३ मै काठमाडौंको सैनिक अस्पताल (त्रिचन्द्र इलेक्ट्रो मेडिकल इन्स्टिच्युट)मा एक्स–रे मेसिन जडान गरिएको थियो । सोही वर्ष टोखा (काठमाडौंनजिक) मा रहेको ट्युबरक्युलोसिस सेनेटोरियममा एक्स–रे मेसिन जडान गरिएको थियो । अल्ट्रासाउन्ड, सिटीस्क्यान र एमआरआईजस्ता आधुनिक प्रविधि नआएसम्मका लागि निदान गर्ने एक मात्र उपकरण रेडियोग्राफी नै थियो । सन् १९७६ मा पहिलोपटक काठमाडौंको थापाथलीस्थित प्रसूति अस्पतालमा रेडियम सुईको प्रयोगबाट रेडियोथेरापी सुरू भएको थियो ।
रेडियोलोजीको नयाँ युग
नेपालमा सन् १९८८ देखि १९९४ बीचमा अल्ट्रासाउन्ड, सिटी, एमआरआई, म्यामोग्राफी, गामा क्यामेरा र टेलिकोबाल्ट–६० भित्रिएको पाइन्छ । पहिलो पटक सन् १९८८ मा अल्ट्रासाउन्ड युनिट, सिटी स्क्यानर गामा क्यामेरा स्थापना गरिएको थियो । सन् १९९१ मा काठमाडांैको वीर अस्पतालमा रेडियोग्राफी युनिट स्थापना गरेर टेलिकोबाल्ट–६० जडान गरिएको थियो । जुन भारत सरकारले दिएको थियो । सन् १९९४ मा काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा म्यामोग्राफी सेवा सुरू गरियो जुन आउट–रिच फाउन्डेसन, आरएसएनए र लोराड, बाल्डविन र डुपोन्ट कर्पोरेशनले सहयोग गरेको थियो । यसले क्यान्सर रोगीहरूका लागि उचित निदान र उपचारका सम्भावित ढोका खोलिदियो ।
नेपालका कतिपय अस्पतालमा पुरानो र परम्परागत (२० वर्षसम्म पुरानो) रेडियोलोजी उपकरणहरू रहेको पाइन्छ । यद्यपि, हाल देशमा भएका उन्नत सुविधाहरू काठमाडौंलगायत काठमाडौंबाहिरका प्रमुख शहरहरूका निजी, सरकारी र क्यान्सर अस्पतालहरूमा मात्र सीमित छ ।
मुलुकमा पहिलोपटक सन् १९८६ मा वीर अस्पतालमा सिटी स्क्यान सेवा सुरु गरिएको थियो । सो सिटी स्क्यान मेसिन भित्र्याउने आधिकारिक बिक्रेता इष्ट वेष्ट कन्सर्न प्रा.लि. हो । हाल इष्ट वेष्टले मुलुकमा अत्याधुनिक उपकरण भित्र्याउने कार्यमा चार दशक पार गरिसकेको छ । यसैगरी, सन् १९९७ तिर नेपालमा पहिलोपटक वीरेन्द्र सैनिक अस्पतालमा एमआरआई सेवा सुरु भएको थियो ।
कति छन् रेडियोलोजी उपकरण ?
जनस्वासथ्य सरोकार पत्रिकाले सम्बन्धित निकायबाट सन् २०२३ को जनवरीमा प्राप्त गरेको तथ्याङ्कअनुसार, नेपालमा लिनियर एक्सलेटर आठ वटा, रेडियो थेरापी सिमुल्टोरस आठ वटा, हाइ–डोज रेट ब्राकीथेरापी मेसिन १० वटा, इन्टेन्सी मोडुलेटेड रेडियसन थेरापी मेसिन एक वटा, गामा क्यामेरा (सिंगल फोटोन इमिसन कम्प्युटेड टोमोग्राफी) चार वटा, एमआरआई स्क्यानर (पर्मानेन्ट, सुपर कन्डक्टिङ १.५ टेस्ला र थ्री टेस्ला) ४० वटा, सिटी स्क्यानर एक सय ४० वटा, क्याथ ल्याब ४२ वटा, म्यामोग्राफिक स्क्यानर (फूल डिजिटल, हाइब्रिड डिजिटल र एनालग) ३० वटा गरी ३७ वटा, कम्प्युटर रेडियोलोजिक स्क्यानर दुई सय ५० वटा, डाइरेक्ट रेडियोग्राफिक स्क्यानर २० वटा, एक्स–रे मेसिन दुई हजारभन्दा बढी र अल्ट्रासाउण्ड मेसिन तीन हजारभन्दा बढी रहेका छन् । केही समयभित्र १.५ र थ्री टेस्ला जुन नेपालको जनसंख्याअनुसार कम हो । चाँडै नै करिब १५ थान १.५ र थ्री टेस्ला एमआरआई मेसिन आयातको क्रममा रहेका छन् ।
विद्यमान रेडियोलोजी उपकरण र वर्तमान जनसंख्याको अनुपात
उपकरण नम्बर जनसंख्याको अनुपात
उपकरण | नम्बर | जनसंख्याको अनुपात |
पेट स्क्यान | ३ | १,००,००,००० |
लिनियर एक्सलेटरर्स | ८ | ३७,५०,००० |
रेडियोग्राफी सिमुलेटर्स | ८ | ३७,५०,००० |
हाइ–डोज रेट ब्राकी थेरापी मेसिन | १० | ३०,००,००० |
गामा क्यामेरा (सिंगल फोटोन इमिसन) कम्युटेड टोमोग्राफी | ४ | ७५,००,००० |
एमआरआई स्क्यानर | ४० | ७,५०,००० |
सिटी स्क्यानर्स | १४० | २,१४,२८६ |
डिजिटल सबट्र्याक्सन एन्जिओग्राफिक स्क्यानर्स (क्याथल्याब) | ४२ | ७,१४,२८६ |
म्यामोग्राफिक स्क्यानर्स (फूल डिजिटल, हाइब्रिड डिजिटल र एनालग) | ३७ | ८,१०,८११ |
कम्युटेड रेडियोग्राफिक स्क्यानर्स | २५० | १,२०,००० |
डाइरेक्ट रेडियोग्राफिक स्क्यानर्स | २० | १५,००,००० |
एक्स–रे मेसिन | २०००+ | १५,००० |
अल्ट्रासाउन्ड मेसिन | ३०००+ | १०,००० |
नेपालको जनसंख्या करिब तीन करोड रहेको छ ।
एड्भान्सड इमेजिङ मोडालिटी सिमित मात्रामा भए पनि बेसिक एक्सरे इमेजिङ र अल्ट्रासाउन्ड मेसिन चाँही ग्रामीण स्तरमा पुगेको अनुमान गर्न सकिन्छ । तर, धेरै ग्रामीण अस्पताल र स्वास्थ्य केन्द्रहरूमा साधारण एक्स–रे युनिट भए पनि जनशक्तिको कमी छ । आवश्यक रेडियोग्राफरको पनि अभाव छ । दुर्भाग्यवश, ठूला सहरका केही स्वास्थ्य संस्थाले सञ्चालन खर्च र मर्मतसम्भार समस्याका कारण यी प्रणालीहरू अपनाउन ढिलाइगरिरहेका छन् । साना सहरका अस्पतालहरूमा रेडियोलोजिस्टहरूसँग परामर्शविना चिकित्सकहरू रेडियोग्राफिक फिल्म पढ्छन् । पिक्चर आर्काइभिङ कम्युनिकेसन सिस्टम्स (पिएसिएस) नेपालमा निकै नै कम छ । यो सेवा निजी कर्पोरेट अस्पतालहरूमा मात्र सिमित भएको पाइन्छ । नेपालमा विद्युतीय र नेटवर्किङ समस्याका कारण टेलिरेडियोलोजी सेवा न्युन मात्रामा प्रयोगमा छन् । जनशक्ति अभावका कारण रेडियोलोजी प्रोफेशनलहरू नियमित काममै व्यस्त छन् र पर्याप्त समय निकाल्न नसकिरहेको डा. कालु शर्मा सुवेदीको सर्वेले देखाएको छ ।
कति छन् नेपालमा रेडियोलोजी सम्बद्ध प्राविधिक ?
नेपालको पहिलो रेडियोलोजिष्ट डा. रघुवीर वैद्य हुन् । नेपालमा डिएम रेडियोलोजी सेवा सुरू हुन सकेको छैन । यसका लागि वर्षेनी ३–४ जना भारत जाने गरेका छन् । जनस्वास्थ्य सरोकारलाई उपलब्ध तथ्याङ्कअनुसार, हरेक ५० हजार जनसंख्या बराबर एक जना रेडियोलोजिष्ट भागमा पर्छन् ।
हाल मुलुकमा ६ सय रेडियोलोजिष्ट रहेका छन् । यस्तै, रेडियोग्राफर र टेक्नोलोजिष्टहरू आठ सय ५० जना, रेडियसन अंकोलोजिष्ट ३७ जना, रेडियसन फिजिसिष्ट १७ जना छन् । सुरु सुरुमा नेपालमा रेडियोग्राफर विरलै उपलब्ध हुन्थे तर अहिले यो संख्या बढ्दो छ । तर पनि मानव संसाधनको अभाव कायमै छ ।
विद्यमान रेडियोलोजी पेशाकर्मी र वर्तमान जनसंख्याको अनुपात
रेडियोलोजी पेशाकर्मी | संख्या | जनसंख्या अनुपात |
रेडियोलोजिष्ट | ६०० | ५०,००० |
रेडियोग्राफिक टेक्नोलोजिष्ट | ८५० | ३५,२९४ |
रेडियोग्राफर | २३०० | १३,०४३ |
रेडिएसन अंकोलोजिष्ट | ३७ | ८,१०,८१० |
रेडिएसन फिजिसिष्ट | १७ | १७, १६,४७०६ |
नेपालको जनसंख्या करिब ३ करोड रहेको छ ।
रेडियोलोजी शिक्षाको विकास र चुनौति
नेपालमा रेडियोलोजी विषय अध्ययन अध्यापन पाँच दशकअघि मात्रै सुरू भएको हो । सन् १९७३ भन्दाअघि रेडियोलोजी प्राफेशनलहरू अध्ययनका लागि भारत, जापान युरोपियन देश पुग्ने गर्थे । सुरूमा अध्ययन गरेर नेपाल आएकाहरूले नेपालमा रेडियोलोजी शिक्षाको विकासमा महत्वपूर्ण भूमिका खेले ।
सन् १९७२ मा त्रिभुवन विश्वविद्यालयले काठमाडौंमै चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) स्थापना ग¥यो । सन् १९७३ मा १८ जना विद्यार्थीबाट रेडियोग्राफीमा तीन वर्षको प्रविणता प्रमाणपत्र (पिसीएल) तह अध्ययन सुरू गरेपछि औपचारिक रूपमा नेपालमा रेडियोलोजी शिक्षा सुरू भएको हो । सन् २००० मा आइओएमले रेडियोलोजिकल टेक्नोलोजीमा तीन वर्षे ब्याच्लर इन साइन्स कोर्ष सुरू गरेको थियो । सन् २००८ पछि प्रतिवर्ष चार र आठ जना विद्यार्थी भर्नासँगै मेडिकल इमेजिङ टेक्नोलोजीमा स्नातक (चार वर्षे पाठ्यक्रम) तह सुरू गर्याे ।
सन् २०१२ मा नेपालमा पहिलोपटक तीन जना विद्यार्थी भर्ना लिएर आइओएमले मेडिकल इमेजिङ टेक्नोलोजीमा मास्टर्स तहको अध्ययन अध्यापन सुरू गरेको थियो । हाल प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिइभिटी)अन्तर्गत अध्ययन हुने गर्छ ।
नेपालका विभिन्न विश्वविद्यालयले रेडियोलोजी शिक्षामा धेरै कार्यक्रम (पिसीएलदेखि मास्टर डिग्रीसम्म) सञ्चालन गर्दै आएका छन् । देशले रेडियोग्राफरहरूको चरम अभाव सामना गर्नु परेको महसुस गर्दै नेपाल स्वास्थ्य व्यवसायी परिषद् सिटीईभीटी रेडियोग्राफीमा तीन वर्षे पिसीएल कार्यक्रम सुरू गर्न राजी भयो । यो कार्यक्रम सन् २००८ देखि सिटीईभीटी आबद्ध १६ संस्थाले सञ्चालन गर्दै आएका छन् । प्रत्येक संस्थानले प्रतिवर्ष अधिकतम ३० जना विद्यार्थी भर्ना लिन सक्छन् ।
सिटिभिटीसँग आबद्ध अधिकांश संस्थानहरूमा सीमित पूर्वाधार, योग्य शिक्षकको अपर्याप्तता र आधुनिक रेडियोग्राफिक प्रविधि सिकाउने र सिक्ने आफ्नै अस्पताल नभएकाले अभ्यासका लागि विद्यार्थीहरु विभिन्न अस्पतालमा जानुपर्ने बाध्यता छ । सम्बन्धित संस्थाहरू रेडियोलोजीमा स्नातक तह अध्ययन अध्यापन गराउन अझै पूर्ण रूपमा सक्षम छैनन् । सन् २००१ मा पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजले प्रतिवर्ष एकजना विद्यार्थी भर्ना लिने गरी मेडिकल इमेजिङ टेक्नोलोजीमा स्नातक कार्यक्रम शुरू गरेको थियो । तर टिचिङ फ्याकल्टी शिक्षक अभावमा पाँच जना रेडियाग्राफर उत्पादन भइसकेपछि सन् २००५ मा यो कार्यक्रम बन्द भयो ।
यसैगरी, सन् २००१ मा बीपी कोइराला मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेस धरानमा प्रतिवर्ष ६ जना भर्ना हुने गरी मेडिकल इमेजिङ टेक्नोलोजीको स्नातक कार्यक्रम सुरू भएको थियो । त्यसको केही समयपछि भरतपुरस्थित चितवन मेडिकल कलेजमा प्रतिवर्ष आठ जना भर्ना लिन थालियो । यसरी सन् २०१० तिरबाट प्रायः मेडिकल कलेजहरुमा प्रत्येक वर्ष ६–८ वनाको अध्ययनका लागि विद्यार्थी भर्ना लिने गरेका छन् ।
देशमा रेडियोलोजिष्टको अभाव पूर्तिका लागि आईओएमले सन् १९८८ मा प्रतिवर्ष तीन जना रेजिडेन्स डाक्टरलाई दुई वर्षे मेडिकल रेडियोलोजिक डायग्नोसिसमा डिप्लोमा तालिम सुरू गरेको थियो । यो कार्यक्रम नेपालका पहिलो रेडियोलोजी प्रोफेसर डा. टी.बी. बुढाथोकीको नेतृत्वमा भएको थियो । यो कार्यक्रमले रेडिएसन फिजिक्स, कन्भेन्सनल रेडियोग्राफी, अल्ट्रासोनोग्राफी, फ्लोरोस्कोपिक र इन्टरभेन्सनल प्रोस्युडरमा व्यापक शिक्षा प्रदान ग–यो ।
हाल मुलुकका विभिन्न मेडिकल कलेजमा सिमित साधनस्रोत र जनशक्तिको बावजुद वार्षिक एकदेखि चारजना रेजिडेन्सहरूले रेडियोलोजी अध्ययनको अवसर पाउने गर्छन् । अहिले हरेकवर्ष २५ देखि ३० जना रेडियोलोजिष्ट उत्पादन भइरहेका छन् ।