Logo
|
Thursday 26th December 2024
Logo

epaper

डाक्टर सचिनको तन अमेरिका, मन नेपालमै




मेरो जन्म पूर्वी नेपालको धरानमा भएको हो । त्यहीको स्कूलमा विद्यालय तह (एसलसी)सम्मको अध्ययन गरेँ । बुबाको चाहना तीन छोरामध्ये जेठो छोरा डाक्टर, माइलो पाइलट र कान्छो इन्जियर बनुन् भन्ने थियो । म कान्छो छोरा भएकाले उहाँको चाहना ‘मैले इन्जियिनर पढिदियोस्’ भन्ने थियो तर डाक्टर भएँ ।


धरानबाट एसएलसी पास गरेपछि प्लस टु अध्ययनका लाथि भारतको मद्रास गएँ । त्यहाँ दुई वर्ष अध्ययन गर्दै गर्दा मेरो मनमा डाक्टर बन्ने चाहना पलायो । त्यसपछि नेपाल फर्किएर पोखराको मणिपाल मेडिकल कलेजमा एमबीबीएस अध्ययनका लागि भर्ना भएँ । सन् २००४ मा एमबीबीएस पनि सकेँ । त्यसवेला नेपालमा एमडी (स्नातकोत्तर तह) अध्ययन नहुने भएकाले अमेरिका, बेलायत र अष्ट्रेलिया जाने लहड थियो । मैले पनि अमेरिका छनौट गरेँ ।

सन् २००६ मा अमेरिका गएँ मैले फेमिली मेडिसिनमा एमडी गरेको छु । ११ वर्षदेखि बोस्टनको म्यासेसिटीमा प्राइमेरी केयरमा प्राक्टिस गरिरहेको छु । क्रोनिक रोगहरूको उपचारमा जोड दिने मेरो चाहना हो । त्यसमा पनि डायबिटिज (मधुमेह) मा केन्द्रित भएर काम गरिरहेको छु ।

डायबिटिज विश्वको मृत्यु गराउने कारणमध्ये पाँचौं नम्बरमा रहेको छ । विश्वमा सात सय मिलियन जनता डायबिटिजबाट प्रभावित छन् । नेपालमा पनि प्रायः हरेक परिवारमा एक न एकजना डायबिटिजका बिरामी भेटिन थालेका छन् । तर, खानपान र जीवनशैलीमा सुधार गर्यो भने यसलाई नियन्त्रण गर्न सकिन्छ ।

मेरा दुई (छोरा सरिन र छोरी श्रीया) सन्तान छन् । श्रीमती सबिना मल्ल डेन्टिस्ट हुन् ।

डायबिटिज क्षेत्रमा काम गर्ने सोच
मैले जीवनको २६ वर्ष नेपालमै बिताएँ । कर्मभूमि अमेरिका भए पनि मेरो मातृभूमि हो नेपाल । त्यसैले डायबिटिजको क्षेत्रमा सहयोग गर्ने सोच बनेको हो । अमेरिकामा घर, जागिर, बालबच्चा सम्पूर्ण भए पनि म हुर्केको, बढेको र पढेको ठाउँ नेपालको ऋण चुक्ता गर्ने प्रयत्न गरिरहेको छु ।

जीवनको सफलता नै खुशी रहेछ । सम्पत्ति र पदले मात्र खुशी मिल्ने होइन । कुनै मानिसको जीवनमा परिवर्नन गर्न सकियो भने खुशी मिल्ने रहेछ ।


अमेरिकन नागरिक ओल्गामुरेले (हाल ९७ वर्ष) उहाँ ६५ बर्षको उमेरमा नेपाल भ्रमण आएको वेलामा खुट्टा भाँच्चिदा युवाहरूले गरेको सहयोगबाट प्रभावित भएर नेपाल युथ फाउन्डेसन खोल्नुभएको थियो । त्यसबाट प्रभावित भएर नेपालमा कसरी सहयोग गर्न सकिन्छ भनेर सन् २०१८ मा हामीले धनयोगा फाउन्डेसन खोल्यौं । धनयोगाको अर्थ सम्पत्ति र समृद्धि भन्ने हो । मेरो आमाको नाम धन र बुबाको नाम योगराज मास्के हो । उहाँहरूको सम्झनामा यो संस्था खोलिएको हो ।


एजुकेसन र हेल्थका कारण मानिस समृद्धि हुन्छ । हाम्रो भिजन डायबिटिजलाई कसरी हटाउने भन्ने हो । ‘क्योर डायबिटिज’ अभियानमा छौं । केही समयअघि नुवाकोटमा निःशुल्क मेडिकल क्याम्प आयोजना गर्यौं । बेलाबेलामा यस्ता कार्यक्रमहरु गरिरहन्छौं । हामीले डायबिटिज र यसले दाँत, आँखा, मिर्गौलामा पार्ने असरबारे पनि बिरामीको चेकजाँच गर्दछौं । ‘क्योर ब्लाइन्डनेस’ अन्तर्गत मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गर्छाैं ।


संस्थामार्फत ‘स्कलरसिप’ कार्यक्रम पनि चलाएका छौं । हामीले टुहुरा बालबालिकालाई यसैमार्फत पढाइरहेका छौं । साथै दृष्टिविहिन बालबालिकाहरुलाई पनि स्पोन्सर गर्दछौं । धरानको पुर्वाञ्चल ज्ञान चक्छु स्कुलमा २० जना दृष्टिविहिन बालबालिकाहरु अध्ययन गरिरहेका छन् । धनयोगा फाउन्डेसनको लक्ष्य सातै प्रदेशमा डायबिटिज सेन्टर खोल्ने रहेको छ । त्यसपछि भारतलगायतका देशमा पनि डायबिटिज सेन्टर खोल्दै जाने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्