Logo
|
Friday 3rd May 2024
Logo

epaper

वडाध्यक्षको पारिश्रमिकले विपन्नको स्वास्थ्य बिमा



जनस्वास्थ्य सरोकार, मुग्लिन। चितवनको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले आफ्नो भत्ता रकम विपन्न परिवारको बिमा वापतमा लगाउनु हुने भएको छ । उहाँले वडाध्यक्षलाई उपलब्ध गराइएको मोटरसाइकल र पेट्रोल खर्चसमेत लिनुभएको छैन ।

उहाँले भन्नुभयो, “मैले कार्यभार सम्हालेको दिन नै मासिक उपलब्ध हुने पारिश्रमिक सुविधा नलिने घोषणा गरेको हुँ, उक्त रकमले विपन्न परिवारको स्वास्थ्य बिमा गर्दै छु, वडाको सवारी साधन प्रयोग गरेको छैन, म आफ्नै सवारी प्रयोग गर्छु, तेल खर्च पनि लिएको छैन ।”

यसैबीच वडा नम्बर ४ ले वृद्धभत्ता घर–घरमै पुगेर वितरण गर्दै आएको छ । उहाँले भत्ता वितरण गर्न जाँदा लाग्ने खर्चको बिल भर्पाईसमेत कार्यालयमा पेस नगरेको बताउनुभयो । वडाध्यक्ष उप्रेतीले भन्नुभयो, “हामीले घर–घरमा पुगेर वृद्धभत्ता वितरण गरेका छौँ, सोबापत हुने खर्चसमेत कार्यालयमा पेस गरेका छैनौँ, ग्लोबल आइएमई बैंकले टोलटोलमा कर्मचारी खटाएर वृद्धभत्ता वितरण गर्न हामीलाई सहयोग गरेको छ ।”

लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आउनु भएका उहाँले असहाय रोगीको उपचारका लागि आर्थिक सहयोग गर्दै आउनुभएको छ । साथै उहाँले शिक्षा, खेलकुदलगायतका क्षेत्रमा पनि सहयोग गर्दै आउनुभएको छ ।


आफूले आगामी दिनमा पनि वडाध्यक्षबापत पाउने सेवा सुविधा नलिने बताउनुभयो । “मैले शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका क्षेत्रमा सहयोग गर्दै आएको हुँ म आगामी दिनमा पनि सेवा सुविधा लिने छैन, नसक्ने अवस्था भए अर्को कुरा, म सकेको दिन्छु, लिन आएको होइन”, वडाध्यक्ष उप्रेतीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्