Logo
|
Friday 29th March 2024
Logo

epaper

यस वर्ष बजेटमा समेटिएका स्वास्थ्यका महत्वपूर्ण विषय के के छन् ?



जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब ८९ करोड बजेट विनियोजन गरेको छ । जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो जानकारी गराउनुभएको हो । के के छन् महत्वपूर्ण पक्ष ?

शुक्रराज अस्पताललाई ३ सय शैयामा विस्तार
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालाई ३ सय शैयामा विस्तार गरिने छ । पोखरा,सुर्खेत डोटी र भरतपुरमा निर्माणधीन प्रादेशिक सरुवा रोग अस्पताल आगामी वर्ष सम्पन्न गरी सञ्चालनमा ल्याइने उल्लेख छ । सरुवा रोग अस्पताल निर्माण एवं विस्तारका लागि रु. ४६ करोड विनियोजन गरिएको छ ।


क्षयरोगमा १ अर्ब १५ करोड बजेट
क्षयरोग मुक्त नेपाल अभियान अन्तर्गत रोगीहरुको पहिचान गर्न र निःशुल्क औषधि उपलब्ध गराउन रु १ अर्ब १५ करोड विनियोजन गरिएको छ ।


स्वेदशी औषधिलाई प्राथमिकता
मुलुकभरका ६ हजार ७ सय ४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट ९८ प्रकारका औषधि, खोपलगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन रु. १ अर्ब २८ करोड बिनियोजन गरिएको छ । यस कार्यक्रमअन्तर्गत स्वदेशमा नै उत्पादित औषधि खरीद गर्न प्राथमिकता दिइनेछ ।


अस्पताल निर्माणमा ८ अर्ब
हाल ३२२ स्थानीय तहमा निर्माणाधीन ५, १० र १५ शैयाका अस्पताल निर्माण कार्यका लागि रु. ८ अर्ब बिनियोजन गरिएको छ ।
उपकरण खरीदमा ८२ करोड
आगामी वर्ष सम्पन्न हुने १०० अस्पतालमा स्वास्थ्य उपकरण खरीद गर्न रु. ८२ करोड विनियोजन गरिएको छ ।

आमा र नवजात शिशु सुरक्षा कार्यक्रम
मातृ मृत्युदर र नवजात शिशु मृत्यु दर बढी भएका स्थान लक्षित गरी आमा र नवजात शिशु सुरक्षाका विशेष कार्यक्रम सञ्चालन गरिने छ । मातृ तथा नवशिशु कार्यक्रम र आमा सुरक्षा कार्यक्रमलाई निरन्तरता दिइएको छ ।


५ हजारलाई निरन्तरता
क्यान्सर, मेरुदण्ड पक्षघात र मिर्गौला प्रत्यारोपण गरेका तथा डायलाईसिस गराइरहेका बिरामीलाई औषधि उपचार खर्च वापत् दिइँदै आएको मासिक रु. ५ हजारलाई निरन्तरता दिइएको छ ।


सबै संघीय अस्पतालहरुबाट मिर्गौला प्रत्यारोपण
विपन्न नागरिकलाई मुटु रोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन, अल्जाइमर्स, स्पाइनल इन्जुरी हेड इन्जुरी तथा सिकलसेल एनिमियाको उपचारमा दिँदै आएको अनुदानलाई निरन्तरता दिन रु. २ अर्ब ५० करोड बिनियोजन गरिएको छ । सबै संघीय अस्पतालहरुबाट मिर्गौला प्रत्यारोपण सेवा प्रदान गर्ने व्यवस्था मिलाइने उल्लेख छ ।


पाठेघरको मुख र स्तन क्यान्सर
महिलाहरुमा देखिने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क शीघ्र पहिचान र प्रारम्भिक उपचारलाई क्रमशः बिस्तार गरिनेछ ।


एचपीभी खोप कार्यक्रम
पाठेघरको क्यान्सर रोकथामका लागि ९ देखि १४ वर्षका बालिका लक्षित एचपीभी खोप कार्यक्रमलाई विस्तार गरिनेछ ।


सबै संघीय अस्पतालमा निःसन्तान उपचार केन्द्र
सबै संघीय अस्पतालमा बाँझोपन तथा निःसन्तान उपचार केन्द्र विस्तार गरिनेछ ।


अंग प्रत्यारोपण केन्द्रको क्षमता विस्तार
शहीद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रको क्षमता विकास गरिनेछ ।


अत्याधुनिक ब्लड बैंक
शहीद गंगालाल हृदय केन्द्रमा अत्याधुनिक ब्लड बैंक सञ्चालनमा ल्याउन बजेटको व्यवस्था गरिएको छ ।


पेट स्क्यान र साइक्लोटोनका लागि बजेट
भरतपुर क्यान्सर अस्पतालमा पेट स्क्यान मेसिन र साइक्लोटोन उत्पादन गर्ने मेसिन गर्न आवश्यक रकम विनियोजन गरिएको छ ।

डिमेन्सिया र अज्लाइमर्सको उपचार
जेष्ठ नागरिकलाई सरकारी अस्पतालमा सञ्चालनमा रहेका जेरियाट्रिक वार्डलाई प्रभावकारी बनाइनेछ । बर्सेनी बढ्दै गएको बुढ्यौली उमेरमा देखिने डिमेन्सिया र अज्लाइमर्स रोगको क्रिनिङ गरी नजिकको विशिष्टिकृत अस्पतालसँगको समन्वयमा उपचारको व्यवस्था मिलाइने छ ।


यौन र कुष्ठ रोगमा रकम
एड्स तथा यौन रोग र कुष्ठरोग नियन्त्रण कार्यक्रमलाई निरन्तरता दिन रकम बिनियोजन गरिएको छ ।


सरकारी, सामुदायिक र सहकारी अस्पतालबाट बीमा
स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षाका कार्यक्रमलाई निरन्तरता दिइएको छ । सरकारी, सामुदायिक र सहकारी अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिने छ ।


मिल्क बैंकको व्यवस्था
परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा नवजात शिशुका लागि मिल्क बैंक सञ्चालन गरिनेछ ।


बीरमा अत्याधुनिक वर्न युनिट
काठमाडौंको बीर अस्पतालमा रहेको वर्न युनिटलाई स्तरोन्नति गरी सुविधा सम्पन्न सेन्टरको रुपमा विकास गर्न बजेट छुट्याइएको छ ।


प्रादेशिक अस्पतालमा निजामति अस्पतालको सेवा
निजामती अस्पतालाई सुपर स्पेशियालिटी सहितको अस्पतालको रुपमा विकास गरिने छ । प्रादेशिक अस्पतालको समन्वयमा प्रदेशस्तरमा निजामती अस्पतालको सेवा विस्तार गरी निजामती कर्मचारीहरुले सुलभ उपचार सेवा प्राप्त गर्ने व्यवस्था मिलाइने उल्लेख छ ।


गेटालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान
गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाइने र गेटा अस्पतालाई एकसय शैयाको अस्पतालको रुपमा विकास गर्न पूर्वाधार निर्माण, उपकरण खरीद र जनशक्ति व्यवस्थापनका लागि बजेटको व्यवस्था गरिएको छ ।


दैलेखमा स्याटेलाइट अस्पताल
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत दैलेखको आठबीस नगरपालिका, राकममा एकसय शैयाको स्याटेलाइट अस्पताल स्थापना गर्ने प्रक्रिया अघि बढाइनेछ ।


संघीय अस्पतालमा मानसिक रोगीलाई अन्तरंग सेवा
सबै संघीय अस्पतालमा मानसिक रोगीको लागि अन्तरंग सेवा सञ्चालन गरिने छ ।


६ जिल्लामा प्राथमिक ट्रमा केयर सेन्टर
कैलालीको लम्की, रुपन्देहीको सालझण्डी, नवलपरासी पश्चिमको वर्दघाट, नवलपुरको गैडाकोट, सिन्धुलीको भिमान र धादिङको बेल्खुमा नजिकको सरकारी अस्पतालसँगको समन्वयमा प्राथमिक ट्रमा केयर सेन्टर स्थापना गरी सञ्चालनमा ल्याइनेछ ।


एक अस्पताल एक स्वास्थ्यकर्मी कार्यक्रमलाई २४ करोड
सबै संघीय अस्पतालमा एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन गर्न २४ करोड बजेट विनियोजन गरिएको छ ।


खुला योग तथा व्यायामशाला
बुढानिलकण्डमा राष्ट्रिय आयुर्वेद पञ्चर्क योग सेवा केन्द्रको भवन निर्माण कार्य सम्पन्न गर्न बजेट व्यवस्था गरिएको छ । नागरिकलाई शारीरिक व्यायाम, योग र आरोग्य सेवाको विस्तारमा जोड दिई स्वस्थ्य जीवनशैली अपनाउन अभिप्रेरित गरिनेछ । खुला योग तथा व्यायामशाला निर्माण तथा उपकरण खरीदका लागि बजेट व्यवस्था गरिएको छ ।


एकीकृत स्वास्थ्य विज्ञान ऐन तर्जुमा गरिने
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान लगायत सबै संघीय स्वास्थ्य विज्ञान प्रतिष्ठानको सञ्चालन र व्यवस्थापनमा एकरुपता कायम गर्न एकीकृत स्वास्थ्य विज्ञान ऐन तर्जुमा गरिनेछ ।


संघीय अस्पताललाई शिक्षण अस्पतालमा विकास
सबै संघीय अस्पताललाई विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्नसक्ने गरी सुपरस्पेशियालिटी सुविधा सहितको शिक्षण अस्पतालको रुपमा विकास गर्दै लगिनेछ ।


छात्रवृत्तिमा अध्ययन गरेकाले उपत्यकाबाहिर काम गर्नुपर्ने
सरकारी छात्रवृत्तिमा एमडी र एमएस गरेको विशेषज्ञ चिकित्सकले निश्चित समय अवधिसम्म काठमाडौं उपत्यका बाहिरका सरकारी अस्पतालमा अनिवार्य रुपमा सेवा गर्नुपर्ने व्यवस्था गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्