Logo
|
Thursday 23rd May 2024
Logo

epaper

मृत्युपश्चात् संकलित आँखाको नानीबाट १२ हजार ३ सय ४० व्यक्तिले पाए पुनः दृष्टि

दान गर्ने प्रण गरेका ९५ प्रतिशतबाट संकलन हुन सक्दैन आँखाको नानी



जनस्वास्थ्य सरोकार, काठमाडौं । मरणोपरान्त दान गर्ने प्रण गरेका व्यक्तिमध्ये ९५ प्रतिशतबाट आँखाको नानी संकलन गर्न सकिएको छैन ।

नेपाल आँखा बैंकमा हालसम्म १ लाख व्यक्तिले मृत्यु पश्चात् आँखाको नानी दान गर्ने प्रण गरिसकेका छन् । आँखाको दान तथा सामुहित श्रद्धाञ्जली सभासम्बन्धि सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा सो जानकारी दिइएको हो ।

आँखाको नानी दान गर्ने प्रण गरेका व्यक्ति र मृत्युपश्चात् दुवै गरी हालसम्म संकलित आँखाको नानीमध्ये १२ हजार ३ सय ४० व्यक्तिले पुनः दृष्टि प्राप्त गर्न सफल भएका छन् । यो गत अप्रिलसम्मको तथ्याङ्क हो ।


‘आँखा दान महादान’ भन्ने नारासहित दृष्टिविहीनहरूलाई आँखाको नानी प्रत्यारोपण गरेर नयाँ जीवन प्रदान गर्दै आएको नेपाल आँखा कार्यक्रम अन्तर्गतको नेपाल आँखा बैंकले समय समयमा मरणोपरान्त आँखाको नानी दान गरी अमरत्व प्राप्त गर्ने व्यक्तिहरूको सम्झना र सम्मान गर्दै आएको छ । यस वर्ष पनि सम्बन्धित परिवारहरूको उपस्थितिमा श्रद्धा सुमन अर्पण गर्न जेठ २७ गते शनिबार तिलगंगा आँखा प्रतिष्ठानमा सामुहिक श्रद्धाञ्जली–सभाको आयोजना गरिएको छ ।
देशभर आँखा बैंकको सेवा दिइरहेको जानकारी गराउँदै तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङ्ग भन्नुहुन्छ—‘धेरैको आँखा दान प्रति सकारात्मक सोचका कारण आँखाको नानी प्रत्यारोपण गरी पूनः दृष्टि दिलाउने काममा नेपाल आत्मनिर्भरता तर्फ अग्रसर हुँदैछ ।’


‘नेपालमा आँखाको नानीका कारण दृष्टिविहिन भएका थुप्रै व्यक्तिहरू छन् जो फेरि यो संसार नियाल्ने पर्खाइमा रहेका छन् । त्यस्ता व्यक्तिहरुका लागि तपाइ हामीले मृत्युपश्चात् आँखा दान गरिदिने हो भने २ देखि ४ दृष्टिविहिनले यो संसार पुनः देख्न पाउँछन् ।’— नेपाल आँखा बैंकका व्यवस्थापक शंखनारायण त्वाइनाले भन्नुभयो—‘त्यस्ता व्यक्तिहरुका लागि नेपाल आँखा बैंकले शुरू गरेको आँखाको नानी संकलन र प्रत्यारोपण सेवा वरदान सावित भएको छ ।’


आँखाको नानीमा संक्रमण, चोटपटक, जन्मजात फुलो परेर समयमै उपचार नपाएर, अशिक्षा, अज्ञानता र गरिबी, विभिन्न घरेलु तथा हानिकारक परम्परागत उपचारका कारण आँखाको नानी बिग्रने सम्भावना बढी हुन्छ । नेपालमा दृष्टिविहिन हुनुको दोश्रो प्रमुख कारण आँखाको नानी बिग्रिएर भएको प्रतिष्ठानले उल्लेख गरेको छ । यसको एक मात्र उपचार आँखाको नानी प्रत्यारोपण गरी पुनः दृष्टि दिलाउनु नै हो ।

पछिल्लो समयमा आँखा दान गर्न प्रण गर्नेको संख्या दोब्बरले बढेको आँखा बैंकको तथ्याङ्कले देखाएको छ ।


विभिन्न कारणवश आँखाको नानी विग्रिएर दृष्टिविहिन बनेका व्यक्तिहरूका लागि संकलित आँखाको नानी प्रत्यारोपण गरिन्छ । सन् १९९४ को सेप्टेम्बर १६ मा नेपाल आँखा बैकको स्थापना भएको थियो ।

आँखा बैकले मृत्यु पश्चात आँखाको नानी दान गर्ने दाताहरुबाट नानी संकलन,परीक्षण र संचय गरी आवश्यक परेका व्यक्तिलाई नानी उपलब्ध गराउँछ ।


पशुपतिको आर्यघाट लगायत विभिन्न ठाँउमा गएर आँखा दान सम्बन्धि जनचेतना जगाई यस सम्बन्धी बुझाइन्थ्यो भने अहिले यो सँगै आर्यघाट विद्युतीय शवदाह गृह लगायत काठमाडौंमा रहेका ४ वटा ठूला वीर अस्पताल, त्रि.वि.शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र पाटन अस्पतालबाट पनि आँखाको नानी संकलन गर्ने गरिएको छ । यसैगरी स्थानीय आँखा अस्पतालको समन्वयमा मेची, विराटनगर, लाहान, हेटौडा, भरतपुर,लुम्बिनी, पोखरा र कैलालीमा पनि क्षेत्रीय आँखा नानी संकलन केन्द्रहरुबाट नानी संकलन भइरहेको छ ।


बैंकमा शुरुको अवस्थामा विदेशबाट आँखाको नानी झिकाइन्थ्यो भने हाल आँखाको नानी देश भित्रबाटै संकलन गरि स्वदेशका अन्य अस्पतालमा समेत प्रत्यारोपण सुविधा उपल्ब्ध गराउँदै आएको छ ।

यस अभियानमा पशुपति क्षेत्र विकास कोष र अन्तराष्ट्रिय सहयोगी संस्था हिमालयन क्याट्र्याक्ट प्रोजेक्टले गरेको योगदान लगायत फ्रेड हलोज फाउण्डेसन, लायन्स क्लव अफ पशुपतिनाथ, नेपाल आँखा दान समाजको भूमिका उल्लेखनीय छ ।

प्रतिक्रिया दिनुहोस्