Logo
|
Wednesday 1st May 2024
Logo

epaper

तपाईंलाई ड्रेनड्रफ नभएर सोरायसिस पनि हुनसक्छ

निर्मुल नभएपनि औषधि प्रयोगले नियन्त्रण गर्न सकिने



जनस्वास्थ्य सरोकार, काठमाडौं । अधिकांश मानिसहरू सोरायसिसलाई कत्ले रोग भनेर चिन्ने गर्छन् । कत्ला सुख्खा हुँदै गएपछि चिलाउन थाल्छ । यदि पस्टुलर सोराइसिस भएमा कत्ला पाकेर पिप निस्किन सक्छ । सुरुवाती अवस्थामा छालाको कुनै एक भागमा रातो भएर कत्ला झर्न सुरु गर्छ । कोही मानिसको कत्ला टाउकोमा सिमित रहन्छ ।

उनीहरू कपालमा कडा ड्रेनड्रफ भएको बुझ्छन् । कसैको हत्केला र पाइतालामा कत्ला जान थाल्छ । तर कसैलाई टाउकोदेखि खुट्टा सम्म सबै भागको छाला जाने गरी कडा किसिमको सोरायसिस पनि देखिन सक्छ । सोरायसिसलाई हेर्ने बित्तिकै यसले पछि लिने रुप थाहा पाउन सकिदैन ।

सोरायसिस एकचोटी आइसकेपछि शरीरका अन्य भागमा विस्तारै फैलिन सक्छ । तर यो रोग सँगै बसेर, छोएर, जुठो खाएर, एउटै कपडा लगाएर सर्ने रोग भने होइन । सोरायसिस हुने/नहुने वाह्य वस्तु भन्दा आन्तरिक जीनमा निर्भर हुन्छ ।

यो कुनै पनि उमेरमा हुनसक्छ । कसैलाई सानै उमेरमा लक्षण देखिनसक्छ । सोरायसिस हुने/नहुने तय गर्ने जीन पहिलादेखि नै हाम्रो शरीरमा हुन्छ । यसलाई सोरा जीन भनिन्छ । यो जीन आमाबुबाबाट वंशाणुगत हस्तान्तरण हुने गर्छ । सोरायसिसको धब्बा आएको भाग रातो हुन्छ । बिस्तारै कत्ला निस्किन थाल्छ । यसलाई सिल्भरी ह्वाइट स्केल भनिन्छ । कत्लाको प्रकार र कत्ला निकाल्ने बेला छाला मुनिको रातोपना हेरेर क्लिनिकल डायग्नोसिस गर्नुपर्छ ।

क्रोनिक सोरायसिस (एकदुइ ठाउँमा कत्ला आउने), गटेट् सोराइसिस (शरीरभर राताम्मै हुने गरी पाप्रा आउने), सोराटिक आर्थराइटिस (हड्डी खाने), हातगोडामा मात्र सँधै कत्ला आइरहने र अर्काे ज्यानलेवा इराइथ्रोेडर्मिक सोरायसिस (शरीरभरी कत्ला जाने) आदि सोराइसिसका प्रकारहरु हुन् । सामान्य अवस्थाको सोरायसिसमा मल्हम प्रयोग गरिन्छ ।

कडा हुँदै गएको सोरायसिसमा खाने औषधि दिइन्छ । यदि लगाउने मल्हम र खाने औषधिले पनि काम नगरेमा सुईसमेत दिनुपर्ने हुनसक्छ । संसारमा अहिलेसम्म सोराइसिस निर्मुल पार्ने उपचार पद्धति उपलब्ध छैन । तर औषधि प्रयोगले सोरायसिसलाई नियन्त्रण गर्न सकिन्छ । जसबाट जीवनयापन सहज गराउन सकिन्छ । विभिन्न सोधबाट चुरोट र रक्सी सेवनले सोरायसिस रोगलाई झन् जटिल बनाउन सक्ने तथ्य पत्ता लागेकाले यो लत त्याग्नु सबैभन्दा उत्तम उपाय हो ।
(डा. लैला स्किन आर्टसमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्