Logo
|
Sunday 15th September 2024
Logo

epaper

राष्ट्रिय डिजिटल स्वास्थ्य दिवस २०२३ : स्वास्थ्य सेवामा सूचना प्रविधिको प्रयोग बढाउन स्वास्थ्यमन्त्री बस्नेतको आग्रह

स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्ने प्रतिवद्धता



जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउन सूचना प्रविधिको प्रयोग बढाउन जोड दिनुभएको छ ।


‘राष्ट्रिय डिजिटल स्वास्थ्य दिवस’को अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहकार्यमा बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बेलायतबाट भिडियो सन्देश मार्फत् सम्बोधन गर्दै मन्त्री बस्नेतले ७३ प्रतिशत परिवारमा मोबाइल सेवा र ३८ प्रतिशत परिवारमा इन्टरनेट पुगिसकेको अवस्थामा सूचना प्रविधिको प्रयोग गरेर स्वास्थ्य सेवामा सबैको सहज पहुँच पुर्याउन दत्तचित्त भएर लाग्न आग्रह गर्नुभयो ।

५५ प्रतिशत स्वास्थ्य संस्थामा मात्र सूचना प्रविधिको पहुँच पुगेको तथ्यांक प्रस्तुत गर्दै उहाँले सबै स्वास्थ्य संस्थामा सूचना प्रविधिको पहुँच नपुगुन्जेलसम्म जनताले छिटो छरितो सेवा पाउन नसक्ने बताउनुभयो ।

सूचना प्रविधिको विश्वव्यापी प्रतिस्पर्धामा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्न पनि उत्तिकै जरुरी भएकाले स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिलाई पनि साथसाथै अगाडि बढाउने मन्त्री बस्नेतले जानकारी दिनुभयो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रीका जनस्वास्थ्य सल्लाहकार विश्वरूप खड्काले सूचना प्रविधिको प्रयोग एकद्वार प्रणाली मार्फत हुनु पर्नेमा जोड दिदै एकद्वार प्रणाली पूर्ण रूपमा लागु भइनसकेकाले मन्त्रालयका महाशाखा पिच्छे फरक फरक तथ्यांक आउने समस्या रहेको बताउनुभयो । सल्लाहकार खड्काले सूचना प्रविधिको प्रयोगले जनतालाई दुःख दिने कामभन्दा कसरी सहज र सरल रुपमा स्वास्थ्य सेवा दिन सकिन्छ भन्ने तर्फ ध्यान दिन स्वास्थ्य मन्त्रालयका अधिकारीलाई सल्लाह दिनुभयो ।

स्वास्थ्य सेवामा सूचना प्रविधिको पहुँच बढाउन स्वास्थ्य मन्त्रालयले आवश्यकता अनुसार नीति, नियम र निर्देशिका बनाइसकेको जानकारी दिदै खड्काले ती नीति नियमलाई परिमार्जन गरि कार्यन्वयनमा लैजानु पर्ने आवश्यकतामा जोड दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. विकाश देवकोटाले अहिलेको युग नै सूचना प्रविधिको युग भएको बताउदै टेलिमेडिसिनदेखि पेपरलेस सेवा दिनका लागि स्वास्थ्यमा सूचना प्रविधिको विकास र विस्तार आवश्यक रहेको बताउनुभयो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले स्वास्थ्य सेवाको सर्वव्यापी पहुँच स्थापना गर्न सूचना प्रविधिलाई स्वास्थ्य सेवासँग जोड्दै लैजानु पर्ने आवश्यकतामा जोड दिनुभयो ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश एस. पाण्डवले स्वास्थ्यमा सूचना प्रविधिको प्रयोगले मात्र अहिलेको अवस्थामा स्वास्थ्य क्षेत्रका चुनौतीको सामना गर्न सकिने उल्लेख गर्दै स्वास्थ्य मन्त्रालयले यसका विषयमा आवश्यक पहल गरिरहेकोमा खुशी व्यक्त गर्नुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुगमन महाशाखाका प्रमुख डा. मदन उपाध्यायले स्वास्थ्य सेवा छिटो र छरितो रुपमा प्रवाह गर्न सूचना प्रविधिले ठूलो भूमिका खेल्ने भएकाले एक दिन मात्र नभएर वर्षै भरि डिजिटल स्वास्थ्य दिवस मनाउनु पर्ने आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा विज्ञहरूले सूचना प्रविधि र स्वास्थ्य सेवाका विषयमा प्रस्तुतिकरण दिएका छन् । कार्यक्रमको अन्त्यमा ‘डिजिटल हेल्थ’ घोषणापत्र जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्