Logo
|
Saturday 27th July 2024
Logo

epaper

कृत्रिम गुलियो : न वजन घटाउँछ न जोखिम कम गर्छ



‘मानिसहरूले चिनीको खपत कम गर्न अन्य विकल्पहरू खोज्नुपर्छ, जस्तैः फलफूल वा खाना र पेयहरू, जसमा प्राकृतिक गुलियो होस् र थप गुलियो पदार्थ राखिएको हुनहुँदैन ।’ नेपाल होस् या भारत, घरमा आएका पाहुनालाई चिया पानी सोध्ने चलन छ । पाहुनाले सर्वत वा लस्सीको साटो चिया पिउने इच्छा व्यक्त गरेपछि अर्को प्रश्न उठ्छ कि चिनी भएको चिया वा चिनी नभएको चिया ?

तपाईँले प्रायः पाहुनालाई यसो भनेको सुन्नु भएको होला—‘मैले स्वास्थ्यलाई ध्यानमा राखेर चिनी खान छाडेको छु । आजकल म चिया वा कफीमा ‘सुगर फ्री’ मात्र प्रयोग गर्छु ।’ तर चिनी छोडेर ‘सुगर फ्री’ वा ‘आर्टिफिसियल स्वीटनर’ प्रयोग गर्दा तौल घट्छ भन्ने लाग्छ भने त्यस्तो होइन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यही भनेको छ ।

डब्लुएचओले के भन्छ ?
संयुक्त राष्ट्रसंघीय स्वास्थ्य एजेन्सी र डब्ल्यूएचओले आफ्नो नयाँ दिशानिर्देशमा ननसुगर स्वीटनर (एनएसएस) प्रयोग नगर्न सल्लाह दिएको छ । एनएसएस भनेको गुलियो हुने तर चिनी होइन । डब्लुएचओले केही समीक्षाका आधारमा यो सिफारिस गरेको हो ।

समीक्षाहरूले पत्ता लगाएका छन् कि कृत्रिम गुलियोले वजन घटाउन वा सम्बन्धित रोगहरूको जोखिम कम गर्न मद्दत गर्दैन । यो पनि फेला परेको छ कि चिनीको सट्टा एनएसएस प्रयोग गर्नाले वयस्क वा बच्चाहरूलाई लामो समयसम्म तौल घटाउन मद्दत गर्दैन ।

डब्ल्यूएचओका पोषण र खाद्य सुरक्षा निर्देशक फ्रान्सेस्को ब्रान्का भन्छन्–‘मानिसहरूले चिनीको खपत कम गर्न अन्य विकल्पहरू खोज्नुपर्छ, जस्तैः फलफूल वा खाना र पेयहरू, जसमा प्राकृतिक गुलियो होस् र थप गुलियो पदार्थ राखिएको हुनुहुँदैन ।’ उनकाअनुसार एनएसएसमा कुनै पौष्टिकता हुँदैन । मानिसले आफ्नो स्वास्थ्यमा सुधार ल्याउन चाँडै खानामा चिनीको मात्रा घटाउन थाल्नुपर्छ ।


कृत्रिम गुलियोमा के के पर्दछ ?
एनएसएस टूथपेस्ट, स्किन क्रिम र औषधिहरूमा पनि प्रयोग गरिन्छ, त्यसोभए हामीले यो पनि प्रयोग गर्नुहुदैन ? डब्ल्यूएचओका अनुसार, स्वःहेरचाह र सरसफाईका लागि प्रयोग हुने उत्पादनहरूमा लागू हुँदैन । सामान्यतया प्रयोग हुने एनएसएस सुक्रालोज, एस्पार्टम, निओटेम र स्टेभिया हुन् । भारतको सर गंगाराम अस्पतालका इन्डोक्राइनोलोजी तथा मेटाबोलिज्म विभागका डा. सुरेन्द्र कुमार यी सबै कृत्रिम गुलियो भएको बताउँछन् । यदि तिनीहरू एक वा दुई हप्ताका लागि प्रयोग गरिन्छ भने यो ठीक छ, तर लामो समयसम्म प्रयोगले प्रतिकूल प्रभाव पार्छ । एक उदाहरण दिँदै उनी भन्छन्—‘स्टेभियाको बिरुवाको पातलाई गुलियोका लागि सिधै प्रयोग गर्ने हो भने ठिकै छ, तर जुनसुकै किसिमको प्रशोधित रूपमा अर्थात चक्की प्रयोग गर्दा हानिकारक हुन्छ ।

मधुमेह रोगीहरूले चिनीको सट्टा यस्तो कृत्रिम गुलियो खानु कस्तो हुन्छ भन्ने प्रश्नको जबाबमा डा. कुमार भन्छन्– ‘मधुमेहका बिरामीले कुनै पनि रूपमा एनएसएस लिनुहुँदैन । यदि तपाइँ यसलाई स्वादको लागि लिन चाहनुहुन्छ भने त्यसपछि यसलाई धेरै नियन्त्रित मात्रामा लिनुहोस् ।

डा. सुरेन्द्रका अनुसार कृत्रिम गुलियो चिनीभन्दा ७ सय गुणा बढी शक्तिशाली हुन्छ । तिनीहरूले मस्तिष्कको एक भागलाई असर गर्छ र यसले तपाईंको मेटाबोलिज्मलाई पनि असर गर्छ । यसको असर तपाई धेरै खान थाल्नुहुन्छ र जसका कारण मानिसको तौल बढ्न थाल्छ । त्यसपछि विभिन्न रोग लाग्ने खतरा बढ्छ ।

कस्ता रोग लाग्न थाल्छन् ?
डब्ल्यूएचओका अनुसार एनएसएसको लामो समयसम्म प्रयोगले टाइप–२ मधुमेह र मुटुसम्बन्धी रोगको जोखिम बढाउँछ । यसका साथै यसबाट मृत्यु हुने सम्भावना पनि रहन्छ । डा. निरु गेरा एनएसएसको प्रयोगले तौल बढ्नुका साथै रक्तचाप, कोलेस्ट्रोलको समस्या र यसले मुटुसम्बन्धी रोगको जोखिम बढ्ने बताउँछिन् ।

मानिसहरूले आइसक्रिम वा अन्य खानेकुराहरू चिनीमुक्त भएको सोचेर खान्छन्, तर आफूले जे भए पनि क्यालोरी खाइरहेको छ भन्ने बिर्सन्छन् । तिनीहरूले बुझ्नुपर्छ कि यी सबै पदार्थहरू शून्य क्यालोरी होइनन् । यस्तै गर्मीमा मानिसहरु डाइट कोला पिउने गर्दछन् तर यसमा फस्फोरस धेरै पाइन्छ जसले मिर्गाैलालाई असर गर्छ ।

एनएसएसको प्रयोगबाट हुने अन्य रोगका बारेमा डा. सुरेन्द्र कुमार भन्छन्—‘यसको लामो समयसम्म प्रयोगले डिप्रेसन, टाउको दुख्ने, मधुमेह, मुटु रोग, मस्तिष्कघात र क्यान्सरको जोखिम बढ्छ ।’

चिनी कति खाने ?
चिकित्सकहरूका अनुसार गुलियो खाँदा हामीलाई खुसी मिल्छ, जसले तनाव कम गर्छ, तर कति मात्रामा गुलियो खाने भन्ने जान्न पनि जरुरी छ ।

डाक्टरले सन्तुलित मात्रामा चिनी खाने सल्लाह दिन्छन् र यस बाहेक ब्राउन सुगर, मेपल सिरप, मह, सखरलाई चिनीको विकल्पका रूपमा सिफारिस गर्छन् ।

उनका अनुसार हरेक खानेकुरामा चिनी खाँदा शरीरमा यसको मात्रा बढ्छ । चिया, कफी पिउनुअघि मुखको कुनामा अलिकति चिनी हालेर चिनी नभएको सादा चिया पिउनुहोस् । उनी भन्छन्—‘कुनै पनि खानेकुरा अघि यसो गर्न सकियो भने नियन्त्रित स्तरमा खान सकिन्छ र पूरा स्वाद पनि आउँछ ।’ त्यसैगरी सख्खर खाँदा यो कुरामा ध्यान दिनुस् कि यसलाई मुखमा हालेर नचबाउनु, बरु चुसेर खानुहोस् । यसको एउटा फाइदा यो हुनेछ कि तपाईले सख्खर बारम्बार खानु हुन्न र लामो समयसम्म मुखमा राखेर गुलियोको मजा लिन सक्नुहुनेछ । यो भन्दा बढि खाने चाहना रहने छैन । चिकित्सकहरूका अनुसार चिनीले एक किसिमले आनन्दको अनुभूति गराउँछ तर आवश्यकताभन्दा बढी सेवन गर्दा यो शरीरका लागि तीतो हुन सक्छ । —बीबीसी

प्रतिक्रिया दिनुहोस्