Logo
|
Sunday 28th April 2024
Logo

epaper

आँखाको कर्नियालाई कमजोर र पातलो बनाउने रोग : ‘केराटोकोनस’




डा. शाश्वत ढुंगेल, सिनियर रिफ्र्याक्टिभ सर्जन


केराटोकोनस आँखाको नानी (कर्निया) मा देखिने एक गम्भीर रोग हो । यसले कर्नियाको आकार बदलिदिन्छ । कर्नियालाई पातलो र कमजोर बनाउँछ । त्यसपछि कर्नियाको आकार बिस्तारै कोन जस्तो चुच्चो हुन्छ । कर्नियाको आकारमा आएको यो परिवर्तनलाई केराटोकोनस भनिन्छ । यसले आँखाको फोकसिङ मेकानिजम नै बिगार्छ र बिरामीको दृष्टि कमजोर हुँदै जान्छ । बिस्तारै यो बढ्दै गएमा आँखाको नानी नै फेर्नुपर्ने हुनसक्छ । कर्नियाको आकारको परिवर्तन धेरै वर्षमा हुने गर्दछ । विगतमा नेपालमा केराटोकोनस रोग त्यति भेटिदैँनथ्यो । यसको कारण, यो रोग पत्ता लगाउने प्रविधि नहुनुले हो भन्न सकिन्छ । तर, अहिले नयाँ प्रविधि भित्रिएसँगै नेपालमा यो रोग धेरै भएको पाइएको छ ।

केराटोकोनस सामान्यतया किशोरावस्था देखि ४०–४५ वर्ष उमेर समुहमा देखिने गरेको पाइन्छ । तर बाल्यावस्थाबाट शुरू हुन पनि सक्छ । यो एक्कासी आउने समस्या होइन ।

केराटोकोनस भएको कसरी थाहा पाउने ?

कर्नियाको गोलो आकार परिवर्तन भएर कोण आकार हुन्छ । यसरी कर्नियाको अघिल्लो भाग उठेपछि भिजन स्पष्ट हुँदैन । लाइट छरिएर जाने भएकाले प्रष्ट देख्न सकिदैन । हाइ पावरको चश्मा लगाउनुपर्ने हुनसक्छ । चिल्लो सतह पनि विकृत हुन्छ । यस परिवर्तनलाई अनियमित दृष्टिवैषम्य (इरेगुलर अस्टिग्म्याटिजम) भनिन्छ । यसमा चस्मा लगाए पनि काम गर्न सक्दैन । नजिकका वस्तुलाई मात्र स्पष्ट देख्न सकिन्छ । यसले धेरै पटक नयाँ चस्मा फेरिरहनुपर्ने वाद्यता हुनसक्छ ।
सामान्यतः बिस्तारै एउटा या दुईवटै आँखाको भिजन खराब हुँदै जान्छ । उज्यालो चमकदार रोशनीमा प्रभामण्डलजस्तो देखिन्छ । एउटै चिज दुइटा जस्तो देखिन्छ ।

किशोरावस्थामा ३ देखि ६ महिनाको अन्तरालमा पावर फेरिरहने र त्यो पावर लगाउँदा पनि प्रष्ट नदेख्ने भएमा केराटोकोनस रोगको शंका गर्नुपर्दछ । आँखा धेरै मिचिरहने र स्पष्ट नदेखिएको अवस्थामा पनि शंका गर्न सकिन्छ ।

कारण र जटिलता

अहिलेसम्म यसको कारण पत्ता लाग्न सकेको छैन । केही अध्ययनहरूले वंशाणुगत कारण मानेका छन् । आँखा धेरै मिच्ने व्यक्तिहरुलाई केराटोकोनस हुने सम्भावना बढी हुन्छ । यो रोग जटिल हुँदै गएमा यसले जलविन्दु, मोतिविन्दु जस्ता समस्याभन्दा भयावह स्थिति निम्त्याउन सक्छ । धेरै कडा भएपछि कर्नियाको भित्री पत्र टुट्छ र तरल पदार्थ कर्निया (हाइड्रोप्स) मा प्रवेश गर्छ । कर्निया सुन्निने र अचानक दृष्टि कम हुनसक्छ ।

निदान र उपचार

आँखाको स्क्यान गरेर पत्ता लगाउन सकिन्छ । नेपालमा धेरै व्यक्तिलाई केरोटोकोनस भएको पाएको छ । समयमै निदान भएमा आँखा बचाउन सकिन्छ ।

केराटोकोनसको प्रारम्भिक चरणमा आँखाको नानीलाई लेजरले सेकेर चुच्चो हुने क्रमलाई रोक्न सकिन्छ । यसले आँखाको नानी बलियो बनाउन मद्धत गर्छ । केराटोकोनस बढिरहेकोे अवस्थामा कोर्नियल कोलाजेन क्रस लिकिंक (सीथ्रआर) ले यसलाई रोक्न सकिन्छ ।

त्यतिमात्र नभई अहिले मात्रिका आँखा केन्द्रले नेपालमै पहिलोपटक सी थ्री आर वीथ टीइपीआरके गरेर यो रोगको नियन्त्रण मात्र नगरी दृष्टिमा नै सुधार ल्याउन सकिन्छ । यो विश्वकै सबैभन्दा एडभान्स्ड उपचार विधि हो । यसले भविष्यमा कर्निया प्रत्यारोपणको आवश्यकता हुनबाट रोक्न मद्धत गर्छ । हल्कादेखि मध्यम केराटोकोनसलाई चस्मा वा कन्ट्याक्ट लेन्सले उपचार गर्न सकिन्छ । यो पनि नभएमा कर्निया प्रत्यारोपण आवश्यक पर्नसक्छ । (डा. ढुंगेल मात्रिका आइ सेन्टरमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्