Logo
|
Saturday 27th July 2024
Logo

epaper

इन्डोनेशियामा खोकीको प्राणघातक औषधि बनाएको अभियोगमा कम्पनी प्रमुखलाई जेल सजाय



जनस्वास्थ्य सरोकार । इन्डोनेशियामा २०० जना बालबालिकाको मृत्युसँग सम्बन्धित खोकीको औषधि उत्पादन गर्ने कम्पनीका प्रमुख र अन्य तीनजना अधिकारीहरूलाई जेल सजाय सुनाइएको छ।

उनीहरूलाई दुई वर्षको जेल सजाय तोकिनुका साथै एक अर्ब इन्डोनेशियाली रुपैयाँ जरिवाना पनि गरिएको छ।

आफी फार्मा नाम गरेको उक्त कम्पनीलाई विषालु पदार्थहरूको मात्रा अत्यधिक देखिएको खोकीको झोल औषधि बनाएको अभियोग लगाइएको थियो।

सो कम्पनीका वकिलहरूले भनेका छन्- आरोपितहरूले हेलचक्र्याइँ गरेको भन्ने अभियोग अस्वीकार गरेका छन् र उक्त कम्पनीले त्यस्तो सजायकाविरुद्ध पुनरावेदन गर्नेबारे विचार गरिरहेको छ।

सरकारी वकिलहरूले आफी फार्माका प्रमुख आरिफ प्रासेट्या हाराहापलाई नौ वर्षको र अन्य प्रतिवादीहरू प्रत्येकलाई सात वर्षको जेल सजायको माग गर्दै मुद्दा दायर गरेका थिए।

औषधि विषालु रासायनिक मिश्रण
इन्डोनेशियाको महान्यायाधिवक्ताका अनुसार उक्त कम्पनीले सन् २०२१ को अक्टोबर र सन् २०२२ को फेब्रुअरी महिनाको बीचमा खोकीको औषधि बनाउन प्रयोग हुने गरेको प्रोपाइलिन ग्लाइकोल रासायनिक पदार्थको दुई खेप प्राप्त गरेको थियो।

ती दुवै खेपका रासायनिक पदार्थमा ९६ प्रतिशत देखि ९९ प्रतिशतसम्मै इथाइलिन ग्लाइकोलको मात्रा रहेको उनले बताएका छन्। ती दुवै रसायन झोल औषधिमा प्रयोग हुने गर्छन्।

प्रोपाइलिन ग्लाइकोल विषालु नभएको र औषधि, सौन्दर्य प्रसाधन तथा खानेकुरामा पनि प्रयोग हुने गर्छ। तर इथाइलिन ग्लाइकोल विषालु हुन्छ र त्यो रङ, कलम र ब्रेकको फ्लुइडमा प्रयोग गरिन्छ।

अभियोजन पक्षका वकिलका अनुसार उक्त कम्पनीले खोकीको औषधिमा प्रयोग गर्नु अघि यी रसायनहरूको परीक्षण गरेको थिएन।

त्यसो गर्नुको साटो सो कम्पनी ती रसायन उपलब्ध गराउने सप्लाएरले दिएको गुणस्तर र सुरक्षा सम्बन्धी प्रमाणपत्रहरूमा मात्रै निर्भर रहेको थियो।

आफी फार्माका वकिल समसुल हिदायतले बीबीसीसँग कुरा गर्दै इन्डोनेशियाको औषधि नियामक निकायको नियम अनुसार औषधि उत्पादन गर्ने कम्पनीहरूले औषधिमा मिसाइने तत्त्वहरूको गहन परीक्षण गर्न अनिवार्य नभएको बताएका छन्।

पूर्वी जाभाको केडिरी क्षेत्रीय अदालतका न्यायाधीशले ती चारै जना प्रतिवादीहरूलाई सुरक्षा मापदण्ड पालन नगरिएका औषधिहरू जानाजान नै उत्पादन गरेको भन्ने अभियोगमा दोषी ठहर गरेका हुन्।

चेतावनी
सन् २०२२ यता दूषित खोकीको औषधि सेवन गरेका कारण मिर्गौलामा गम्भीर क्षति पुग्दा धेरैजसो पाँच वर्षभन्दा मुनिको उमेरका २०० जना इन्डोनेशियाली बालबालिकाहरूको ज्यान गएको बताइएको छ। अन्यत्र द गाम्बिया र उज्बेकिस्तानमा पनि त्यस्तै कारणले १०० जना भन्दा बढीको ज्यान गएको बताइएको थियो।

विश्व स्वास्थ्य सङ्गठनले भारत र इन्डोनेशियामा निर्मित खोकीका विभिन्न ६ प्रकारका औषधिका सम्बन्धमा चेतावनी जारी गरेको छ।

जाकार्ता इन्डोनेशियाबाट जेरोम विरावानको थप रिपोर्टिङ। बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्