Logo
|
Saturday 27th April 2024
Logo

epaper

इन्डोस्कोपिक स्पाइन सर्जरी: दुरबीनको मद्दतले ढाडको नसा च्यापिएको शल्यक्रिया हुने क्रम बढेको छ



डा. निकुञ्ज योगी, न्युरो सर्जन/विभागीय प्रमुख

विगतमा ढाडको दुखाइ कम गर्न औषधि, फिजियोथेरापी, मालिस र आराम गर्न लगाइन्थ्यो । करिब १०० वर्षयता ढाड चिरफार गरी नसा च्याप्ने डिस्कलाई निकाल्ने शल्यक्रिया गरिन थालियो । सन् १९७७ मा डा. हार्वे कुशिङ (फादर अफ न्युरो सर्जरी) ले पहिलो पटक माइक्रोस्कोपबाट हेरेर ढाडको नसा च्यापिएको शल्यक्रिया सुरू गर्नुभयो । माइक्रोस्कोपको मद्दतबाट कुन डिस्क, हड्डी वा लिगामेन्टले नसा च्यापिएको छ ? भन्ने सहजै म्याग्निफाइड (वास्तविक आकारभन्दा ठुलो बनाएर हेर्नु) गरेर हेर्न सकिन्थ्यो । जसले गर्दा नसा च्याप्ने डिस्क वा लिगामेन्टका स–साना टुक्रा निकालेर नसालाई स्वतन्त्र गर्न सहज हुन्थ्यो । यो उपचार विधिलाई माइक्रोस्कोपीक डिसेक्टोमी भनिन्छ ।

अहिलेपनि माइक्रोस्कोप प्रयोग गरेर गरिने ओपन सर्जरीलाई स्ट्यान्डर्ड मानिन्छ ।


इन्डोस्कोपिक स्पाइन सर्जरीको सुरूवात्
सन् १९९० तिर केही न्युरो वैज्ञानिक तथा न्युरो सर्जनहरूले माइक्रोस्कोपको ठाउँमा दुरबिन (इन्डोस्कोप) छिराएर च्यापिएको नसा खोल्ने प्रयास गरे र सफल पनि भए । सुरूसुरूमा गुणस्तरीय इन्डोस्कोपिक उपकरणको विकास नभएकाले शल्यक्रिया गर्न कठिन हुन्थ्यो ।

सर्जनहरूलाई शल्यक्रिया गर्न धेरै समय खर्चिनुपथ्र्यो । परिष्कृत इन्डोस्कोपिक मेसिन बजारमा उपलब्ध भएसँगै विगत १ दशकदेखि दुरबीनको मद्दतले ढाडको नसा च्यापिएको शल्यक्रिया हुने क्रम बढेको छ ।


ओपन माइक्रोस्कोपिक र इन्डोस्कोपिक सर्जरीमा कुन भरपर्दो ?


‘कानलाई जताबाट समातेपनि उस्तै’ भनेजस्तै आफूलाइ सजिलो लाग्ने विधिबाट शल्यक्रिया गर्न सकिन्छ । विगतमा ओपन माइक्रोस्कोपिक सर्जरीबाट उपचार गरिन्थ्यो । आजकल दुरबीनबाट गर्न थालिएको छ । दुबै शल्यक्रिया विधि राम्रो मानिन्छ । व्यक्तिगत रूपमा म इन्डोस्कोपिक डिसेक्टोमी विधि रूचाउँछु । माइक्रोस्कोपमा नाङ्गो आँखाले माथिबाट रोग भएको ठाउँ म्यानिफाइड गरेर हेर्ने गरिन्छ । तर दुरबीन (इन्डोस्कोप) बाट रोग भएको ठाउँमा पुगेर राम्रोसँग अवलोकन गर्न सकिन्छ । क्यामरासँगै प्रकाश पनि प्रशस्त हुन्छ । प्वाल सानो पारिएको हुन्छ । त्यसबाट औजार छिराएर नसा च्यापिएको भाग खोल्नुपर्छ ।

यसले बिरामीलाई धेरै चोट लाग्दैन । त्यसैकारणले बिरामीको रिकभरी चाँडो हुन्छ र दाग पनि सानो हुन्छ । ढाडसम्बन्धी जुनसुकै समस्यामा पनि दुरविन प्रयोग गर्न सकिन्छ । पछिल्लो समय पित्तथैली, पेट, मस्तिष्क, ढाड, नाक कान घाँटी, छाती, पिसापथैली आदिको शल्यक्रिया गर्न दुरबिनको प्रयोग हुन थालेको छ ।


नेपालमा शुरुवात्

नेपालमा विगत ४–५ वर्ष पहिलदेखि दुरबीनको सहयोगमा मेरूदण्डको सर्जरी को विकास भइरहेको छ । सन् २०१९ मा पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेसमा मुम्बईका प्रा.डा. सतिशचन्द्र गोरेले ट्रान्सफरामिनल डिस्क सर्जरीबारे वर्कसप ट्रेनिङ दिनुभयो । त्यस्तै सन् २०२१ तिर भारतका प्रख्यात सर्जन डा. मालकोम पेस्टन्जीले काठमाडौं मेडिकल कलेज र मणिपाल कलेज अफ मेडिकल साइन्सेसमा दुरबीनको मद्दतबाट ढाडको सर्जरीबारे वोर्कसप तालिम दिनुभयो । त्यसपछि मात्र नेपालमा द्रूत गतिमा दुरबीनको मद्दतबाट ढाडको शल्यक्रिया सुरू भएको हो । उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पतालले गतवर्ष मात्र यस सम्बन्धि वृहत कार्यशाला आयोजना गरेको थियो । दुरबीनबाट मेरुदण्डको शल्यक्रिया गर्न आवश्यक स्रोत साधनको आवश्यकता पर्छ । हामीले विगत ७–८ महिनाको अवधिमा १५ देखि २० वटा सफल इन्डोस्कोपिक स्पाइन शल्यक्रिया गरिसकेका छौँ ।


जोखिम


दुरबीनबाट गरिएको शल्यक्रिया ९५ देखि ९६ प्रतिशतसम्म सफल पाएका छौं । शल्यक्रिया गर्दा कहिलेकाहीँ नसाको झिल्लीमा चोट लाग्ने, घाउ पाक्ने जस्ता समस्याका कारण एन्टिबायोटिक चलाउनुपर्ने अवस्था आउनसक्छ । तर यो निकै न्युन अवस्थामा मात्र हुने गर्छ ।

चोटपटक लागेर मेरुदण्डको नसा च्यापिएको बिरामीलाई दुरबीन प्रयोग गरिदैन । चोटपटकले मेरुदण्डको हड्डी भाँचिने भएकाले सर्वप्रथम त्यसलाई फिक्स गर्नुपर्छ । यसका लागि मिनिमल इन्भेजिभ सर्जरी गर्नुपर्छ ।

पहिले पुरै ढाडलाई चिरेर स्क्रु फिक्स गरिन्थ्यो । अहिले जुन ठाउँमा स्क्रु हाल्नु पर्ने हो, सो ठाउँमा प्वाल पारेर स्क्रु लगाउन सकिन्छ ।
(लेखक उपेन्द्र देवकोटा न्युरो हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्