Logo
|
Sunday 28th April 2024
Logo

epaper

ब्रेन ट्युमरः म कति बाँच्छु ?

८० वर्ष माथिका उमेर समूहमा ब्रेन ट्युमर हुने जोखिम उच्च



प्रा. डा. राजिव झा, वरिष्ठ न्युरो सर्जन

मस्तिष्क भित्रको संवेदनशील भागमा हुने भएकाले ब्रेन ट्युमरलाई घातक मानिन्छ । ब्रेन ट्युमरको ठोस कारण चिकित्सा विज्ञानले पत्ता लगाउन सकेको त छैन । तर केही अध्ययनहरूले जीनको डिफेक्टबाट हुनसक्ने देखाएका छन् ।

ब्रेन ट्युमर बालक, वयस्क र वृद्ध जुनसुकै उमेर समुहलाई हुनसक्छ । बढ्दो उमेरसँगै ट्युमरको जोखिम पनि बढ्दै जान्छ । साधारणतया ८० वर्ष माथिका उमेर समूहमा ब्रेन ट्युमर हुने जोखिम उच्च हुन्छ ।


कसलाई हुन्छ ?
प्रायः वंशाणुगत, लामो समयअघि चोट लागेको र लामो समयसम्म रेडियसनको सम्पर्कमा रहने व्यक्तिलाई बे्रन ट्युमर हुने गरेको पाइन्छ ।


लक्षण
अत्यधिक टाउको दुख्ने, वाकवाकी लाग्ने, छारे रोग, बेलाबेलामा होस हराउने, एकापट्टी कान कम सुन्ने, दृष्टि कमजोर हुने, हिँडाइको सन्तुलन बिग्रने, बोली लरबरिने आदि ब्रेन ट्युमरका प्रमुख लक्षण हुन् ।


उपचार
करिब ९५ प्रतिशत टाउको दुखाइ आफैँ निको भएर जान्छ । करिब ५ प्रतिशतमा मस्तिष्कको समस्या वा ब्रेन ट्युमर हुनसक्छ । यस्तो अवस्थामा बारम्बार टाउको दुख्ने, दुखाइ बढ्दै जाने र दुखाइ कम गर्ने औषधिलेसमेत काम गर्दैन । यस्तो अवस्थामा शल्यक्रिया गरेर ब्रेन ट्युमर निकाल्नुपर्छ । वीर अस्पतालमा दैनिक ३–४ जनाको ब्रेन ट्युमरको शल्यक्रिया हुने गर्छ ।

ट्युमरको आकार एक सेन्टिमिटर भन्दा कम भएमा उत्कृष्ट रिजल्ट आउँछ । बिरामी आफ्नो दैनिकीमा फर्कन सक्छन् । तर ट्युमरको आकार क्रमशः ३ देखि ६ सेन्टिमिटरभन्दा बढी भएमा रिजल्ट राम्रो नआउन पनि सक्छ । साधारणतया पहिलो र दोस्रो ग्रेडको ट्युमर डायग्नोसिस भएका ९५ प्रतिशत बिरामीको शल्यक्रियापछि सामान्य अवस्थामा फर्काउन सकिन्छ । तेस्रो र चौथो ग्रेडका ट्युमर भएका बिरामीमा बेलाबेलामा स्वास्थ्य समस्या देखिनसक्छ । आफ्नो दैनिकीमा फर्कन उनीहरूलाई केही समय लाग्नसक्छ ।


आयु
ब्रेन ट्युमरलाई ४ ग्रेडमा वर्गिकरण गरिएको छ । पहिलो र दोस्रो ग्रेडको ट्यूमरलाई सजिलै शल्यक्रिया गरेर निकाल्ने गरिन्छ । तेस्रो र चौथो ग्रेडका ट्युमर अलि जटिल किसिमका हुन्छन् । यसलाई शल्यक्रिया गरेर निकालेपनि पुनः पलाउनसक्ने सम्भावना हुन्छ । साथै रेडियोथेरापी र केमोथेरापी उपचारको आवश्यकता पर्छ । चौथो ग्रेडको ट्युमरलाई ग्लीओब्लास्टोमा (जीबीएम) पनि भनिन्छ । जिबिएम ट्युमर भएका ९९ प्रतिशत बिरामीको औसत आयु करिब १३ देखि १५ महिनाको मात्र हुन्छ । तर कतिपय बिरामी भने ८–१० वर्ष समेत बाँचेका उदाहरण छन् ।

चिकित्सकीय फलोअप
साधारणतया ग्रेड वान र टु मा ६ महिनादेखि १ वर्ष र थ्री र फोर ग्रेडको ट्युमर भएका व्यक्तिले ३ देखि ६ महिनाको अन्तरालमा फलोअपमा आउनुपर्दछ । ब्रेन ट्युमर भएका बिरामीलाई नियमित फिजियोथेरापी र पुनःस्थापनाको आवश्यकता पर्दछ । बिरामी भर्ना भएर फिजियोथेरापी सेवा लिन मिल्ने छुट्टै सेन्टर हुन जरूरी पर्छ ।


खानपान र जीवनशैली
बिरामीले सन्तुलित आहार सेवन गर्नुपर्छ । खानामा मासु, अण्डा, तरकारी र फलफूल सेवन गर्न सकिन्छ । बढी चिल्लो पिरो भएको खाना खान हुँदैन । धुम्रपान र मद्यपानबाट टाढा रहनुपर्छ ।
( लेखक वीर अस्पतालको न्युरो सर्जरी विभागमा प्रमुख हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्