Logo
|
Saturday 27th July 2024
Logo

epaper

जथाभाबी एन्टिवायोटिक्स औषधि सेवन : स्वास्थ्य क्षेत्रका लागि चुनौती



जनस्वास्थ्य सरोकार, जनकपुरधाम । जथाभाबी रुपमा एन्टीवायोटिक्स औषधिको सेवन गरेका कारणले मान्छेहरूमा रोगबाट लड्ने क्षमताको ह्रास हुनुका साथै एन्टिवायोटिक्स औषधि काम गर्न छाडेका कारणले यसले स्वास्थ्य क्षेत्रका लागि गम्भीर चुनौती थपेको विज्ञहरूले बताउनु भएको छ ।

एन्टिवायोटिक्सको कम प्रयोग गर्ने र चिकित्सकलाई पनि नभई नहुने अवस्थामा मात्रै प्रयोगका लागि बिरामीलाई प्रेस्किप्सन लेख्नका लागि उत्प्रेरित गर्ने उद्देश्यले जनकपुरधाममा एन्टिवायोटिक्स सम्बन्धि सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज प्रदेश भरिका अगुवा स्वास्थ्यकर्मीहरूको सहभागितामा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको सहयोग तथा मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयको संयोजनमा भएको सो कार्यक्रममा चिकित्सकहरूलाई कम भन्दा कम एन्टिवायोटिक्स औषधि खानका लागि बिरामीहरूलाई सुझाव दिनका लागि आग्रह गरिएको छ ।

अहिले संसारमा थोरै जीवन रक्षक एन्टिवायोटिक्स औषधिको उत्पादन भएको र यसको जथाभाबी प्रयोगले यसले काम गर्न छाडेपछि मानव जीवन नै सङ्कटमा पर्ने भएकाले कम प्रयोग गर्नका लागि कार्यक्रमको आयोजना गरेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित प्रादेशिक अस्पतालका निर्देशक डा। रामनरेश पण्डितले जानकारी दिनु भयो ।

अहिले सामान्य भन्दा सामान्य स्वास्थ्य समस्यामा पनि औषधि पसलहरूमा गएर एन्टीवायोटिक्स औषधि किनेर खाने प्रचलन सर्वसाधारणमा बढ्दै गएकाले यसलाई निरुत्साहित गर्नका लागि औषधिका विक्रेताहरूको साथ र सहयोग आवश्यक भएको मधेश प्रदेशका स्वास्थ्य निर्देशक डा. राजीव कुमार झाले जानकारी दिनु भएको छ । विना चिकित्सकको पूर्जी विना औषधि नै नदिनका लागि उहाँले औषधि बिक्रेताहरूसँग अनुरोध गर्नु भयो ।

अहिले संसारमा विभिन्न समूहका गरेर ५० देखि १ सय प्रकारको एन्टिवायोटिक्स औषधि उत्पादन भइरहेको छ । अत्यधिक एन्टिवायोटिक्सको सेवनले कतिपय व्यक्तिमा ती औषधिले काम गर्न छाडेपछि मान्छेको मृत्यु हुनुको कुनै विकल्प हुँदैनन् डा. पण्डितले जानकारी दिनु भयो ।

एन्टिवायोटिक्स औषधि अति आवश्यक भएको खण्डमा कम भन्दा कम मात्र लेख्न आवश्यक भएको बताउँदै यसका लागि सबै चिकित्सकको साथ र सहयोग आवश्यक भएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका प्रमुख डा। श्रवण कुमार मिश्रले जानकारी दिनु भयो । रेडियोनेपाल

प्रतिक्रिया दिनुहोस्