Logo
|
Saturday 27th July 2024
Logo

epaper

चीनका बालबालिकामा ‘निमोनिया’को प्रकोप, के भन्छ डब्ल्यूएचओ ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चीनले केही स्थानमा बालबालिकामा फैलिएको निमोनियामा कुनै असामान्य वा रोग लगाउने नयाँ कीटाणु नभेटिएको जानकारी दिएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ।

डब्ल्यूएचओका अनुसार चीनले कोभिड नियन्त्रण गर्ने उद्देश्यले पहिला गरिएका कडाइहरू हटाएपछि फ्लूजस्तो रोगमा वृद्धि भएको बताएको छ।

चीनमा श्वासप्रश्वास प्रणालीमा हुने सङ्क्रमण बढेपछि डब्ल्यूएचओले अहिलेको प्रकोपबारे थप विवरण दिन आग्रह गरेको थियो। उसले चीनमा खोप र मास्क लगाउने जस्ता सावधानी अपनाउन आग्रह गरेको छ।

अस्पतालमा बिरामीको चाप
चीनका स्थानीय सञ्चारमाध्यमहरूले हालैका दिनहरूमा त्यहाँ श्वासप्रश्वास प्रणालीमा हुने सङ्क्रमणका कारण अस्पतालहरूमा बिरामीको चाप बढेको जनाएका थिए।

बुधवार एउटा वक्तव्यमा डब्ल्यूएचओले सञ्चारमाध्यममा आएका समाचारबारे ‘प्रोमेड’मार्फत् थप विवरण मागेको जनाएको थियो। ‘प्रोमेड’ विश्वव्यापी प्रकोप निगरानी प्रणाली हो।

डब्ल्यूएचओले उत्तरी चीनका बालबालिकामा देखिएको र हालसम्म कारण पत्ता नलागेको निमोनियाको बारेमा थप जानकारी दिन चीनलाई अनुरोध गरेको थियो।

फोक्सोमा हुने सङ्क्रमण र फोक्सो सुनिने लक्षणयुक्त सङ्क्रमणलाई चिकित्सकीय भाषामा निमोनिया भनिन्छ। भाइरस, ब्याक्टेरिया वा ढुसीबाट हुने सङ्क्रमणका कारण निमोनिया हुन सक्छ।

चीन के भन्छ ?
डब्ल्यूएचओको अनुरोधपछि चिनिया सरकारी समाचारसंस्था सिन्ह्वाले निमोनियाको नयाँ प्रकोपबारे एउटा लेख प्रकाशित गरेको छ।

त्यसमा चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) का अधिकारीहरूलाई उद्धृत गर्दै श्वासप्रश्वाससम्बन्धी रोग भएका बालबालिकाहरूको निदान र उपचारमा ध्यान दिइएको जनाएको छ।

बिहीवार जारी अर्को एउटा विज्ञप्तिमा डब्ल्यूएचओले चीनले निमोनियाको नयाँ प्रकोपबारे जानकारी दिँदै त्यसमा कुनै पनि असामान्य कुरा पत्ता नलगाएको जानकारी दिएको उल्लेख गरेको छ।

चीनले देशको उत्तरमा फैलिएको श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण पहिले नै थाहा भएका विभिन्न खाले ‘रोगकारक’ का कारणले भएको बताएको छ।

डब्ल्यूएचओका अनुसार यही अक्टोबरदेखि उत्तरी चीनमा विगत तीन वर्षको सोही अवधिको तुलनामा इन्फ्लूएन्जाजस्तो रोगमा वृद्धि भएको विवरण चीनले दिएको छ।

ती वृद्धिहरू कोभिडसम्बन्धी प्रतिबन्धहरू हटाउँदा अस्वाभाविक नभएको पनि चीनले जनाएको छ।

निगरानी जारी
डब्ल्यूएचओले पछिल्लो परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको र चिनियाँ अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ।

सन् २०१९ मा चीनबाटै कोभिड महामारी फैलिएकाले चीनमा नयाँ सङ्क्रमणको लहर आएको कुराले विश्वभरिका मानिसहरूलाई चिन्तित बनाउन सक्छ।

त्यसैले डब्ल्यूचओले नयाँ सङ्क्रमणहरूबारे चीनलाई निरन्तर सोध्ने गर्छ। डब्ल्यूएचओका लागि रोगको प्रकोपबारे देशहरूसँग थप जानकारी माग्नु असामान्य होइन। उसले लगभग हरेक दिन त्यसो गर्ने गर्छ। बीबीसीबाट साभार

प्रतिक्रिया दिनुहोस्