पार्किन्सन्स के हो र किन हुन्छ ?
मस्तिष्कमा डोपामिन हर्मोन उत्पादन गर्ने टिस्यू सुक्दै गएमा पार्किन्सन्स
पार्किन्सन्सलाई चिकित्सकीय भाषामा न्यूरो डिजेनेरेटिभ (उमेर अनुसार ब्रेनको एउटा भाग सुक्दै जाने) रोग भनिन्छ । यस्तो अवस्थामा मस्तिष्कले सक्रिय रुपमा काम गर्न सक्दैन । मस्तिष्कमा डोपामिन हर्मोन उत्पादन गर्ने टिस्यू सुक्दै गएमा पार्किन्सन्स हुने गर्छ । डोपामिन मस्तिष्कको सब–स्ट्यान्सीया नाइग्रा नामक टिस्यूले उत्पादन गर्ने हर्मोन हो ।
डोपामिन हर्मोनले शरीरलाई सक्रिय बनाउने काम गर्छ । यो बिना मस्तिष्कले शरीरमा विद्युतीय संकेतहरू राम्रोसँग पठाउन सक्दैन जसले गर्दा अनियन्त्रिण गति देखापर्न थाल्छ । जस्तोः हिँड्न गाह्रो हुने, शरीर अरठ्ठ पर्ने, कम्पन हुने र सुस्तता आदि ।
प्रायजसो, क्लिनिकल लक्षणका आधारमा रोग पहिचान गर्न सकिन्छ । कतिपय अवस्थामा एमआरआई पनि गर्नुपर्ने हुनसक्छ ।
इडियोप्याथिक पार्किन्सन्स
कतिपयलाई विना कारण पार्किन्सन्स हुने गर्छ । यसलाई इडियोप्याथिक भनिन्छ । इडियोप्याथिक पार्किन्सन्स ६० वर्ष कटेपछि देखिन सुरू हुन्छ । यस्ता बिरामीलाई डोपामिन औषधिले फाइदा गर्नसक्छ ।
औषधि सेवन गरेपछि ऊर्जावान महशुस हुने र सामान्य हिँडडुल गर्न सक्ने हुन्छन् । यसलाई अन–फेनोमेनन पार्किन्सन्स भनिन्छ । बिस्तारै औषधिको मात्राले धान्न छाडेको अवस्थालाई अफ–फोनोमेनन पार्किन्सन भन्ने गरिन्छ । यस्ता बिरामीलाई शल्यक्रिया गरेर सामान्य जीवनयापनमा फर्काउन सकिन्छ ।
योङ्ग अनसेट पार्किन्सन्स
अनुवांशिक र वातावरणीय एक्पोजरका कारण योङ्ग अनसेट पार्किन्सन्स हुनसक्छ । यो ५० वर्ष भन्दा कम उमेर समुहका मानिसलाई हुने गरेको पाइन्छ । योङ्ग अनसेट पार्किन्सन्स २५ प्रतिशतमा देखिने गरेको छ । यसरी ५० वर्ष भन्दा कम उमेरमा पार्किन्सन्स देखिएमा तुरुन्तै डिबीएस सर्जरी गराउँदा राम्रो हुनसक्छ ।
पार्किन्सन प्लसमा गाह्रो
तर पार्किन्सन्स प्लस भएका बिरामीलाई डोपामिन औषधिले काम गर्दैन । यस्ता बिरामीलाई शल्यक्रिया पनि गर्न मिल्दैन । बिरामीलाई बचाउन निकै गाह्रो हुन्छ । सुप्रा न्यूक्लियर पाल्सी पनि एक किसिमको पार्किन्सन्स प्लस रोग हो ।
पार्किन्सन्सको वर्गिकरण
पार्किन्सन्सलाई पाँच चरणमा वर्गिकरण गरिएको छ । एक र दुइ सुरुवाती चरण हुन् । यो चरणका बिरामीलाई विना शल्यक्रिया औषधिले निको पार्न सकिन्छ । तीन र चार चरणका बिरामीलाई शल्यक्रियाबाट हिड्न सक्ने बनाउन सकिन्छ । पाँचौ चरणका बिरामीलाई शल्यक्रिया गरेर निको बनाउन सकिँदैन । बिरामीले ह्वीलचेयरमा बस्नु बाहेकको विकल्प हुँदैन ।
उपचार
पार्किन्सन्स भएका बिरामीलाई गरिने डीप ब्रेन स्टिमुलेशन (डीबीएस) एक वैकल्पिक सर्जिकल प्रक्रिया हो । यो बे्रेनमा पेशमेकर राख्ने शल्यक्रिया हो जसमा इलेक्ट्रोडहरू मस्तिष्कको निश्चित क्षेत्रमा प्रत्यारोपण गरिन्छ । यी इलेक्ट्रोडले असामान्य मस्तिष्क गतिविधि नियन्त्रण गर्ने विद्युतीय आवेगहरू उत्पन्न गर्छन् । नेपालमा पहिलोपटक डीबीएस सर्जरी वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठलाई गरिएको थियो । त्यसपछि झण्डै ३० ओटा डीबीएस सर्जरी भइसकेका छन् । करिब ४० वटा तार छिराएर गर्ने सर्जरी भएका छन् ।
कति खर्च लाग्छ ?
डीप ब्रेन स्टिमुलेशन सर्जरी महँगो सर्जरी हो । नेपालमा डीबीएस पेशमेकर राख्ने शल्यक्रिया गर्न झण्डै २० लाख रुपियाँ खर्च लाग्नसक्छ । पेशमेकरको ब्याट्रीको आयू १० वर्षदेखि २५ वर्षसम्म हुन्छ । ब्याट्री सकिएमा फेर्न १० लाख रुपियाँ सम्म खर्च लाग्न सक्छ ।
जीवनशैली
शल्यक्रिया पश्चात् सामान्य जीवनयापन गर्न सकिन्छ । अरूमा निर्भन हुनुपर्दैन । सन्तुलित आहार सेवन गर्नुपर्छ । धुमपान र मद्यपान गर्नुहुँदैन । त्यस्तै योगा र मेडिटेसनले पनि राम्रो फाइदा गर्छ ।