Logo
|
Saturday 27th July 2024
Logo

epaper

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कुकुरले टोकेका बिरामीको सङ्ख्या बढ्दै

एउटा एन्टिरेविज र अर्को इम्युनोग्लोबुलिन भ्याक्सिन दिने



जनस्वस्थ्य सरोकार, काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कुकुरले टोकेका बिरामीको सङ्ख्या बढिरहेको छ ।

कुकुरले टोकेपछि खोप लगाउनेको सङ्ख्या बढिरहेको अस्पतालले जनाएको छ । विगत दुई वर्षको तथ्याङ्कमा कुकुरले टोकेर रेबिजविरुद्धको खोप लगाउने आउने सङ्ख्यामा वृद्धि भएको हो । अस्पतालका निर्देशक डा.युवानिधि बसौलाका अनुसार आर्थिक वर्ष २०७८–७९ मा कुकुरले टोकेपछि खोप लगाउन आउने नयाँ बिरामी ३८ हजार सात सय ४८ रहेका थिए भने आव २०७९, ८० मा यो सङ्ख्या बढेर ५० हजार चार सय ९४ पुगेको छ ।

यस्तै आ.ब. २०७८, ७९ मा नयाँ र पुरानो गरी एक लाख, एक हजार, एक सय ९६ र आव २०७९–८० मा नयाँ र पुरानो गरी एक लाख २५ हजार ९० बिरामीले रेबिजविरुद्धको खोप लगाएका छन् ।

कुकुरले जाडोमा भन्दा गर्मी महिनामा बढीलाई टोक्ने भएकाले गर्मीमा धेरै बिरामी खोप लगाउन आउने गरेका छन् ।
आव २०७९, ८० को जेठमा पाँच हजार ५८ जना र असारमा पाँच हजार दुई ८० जना खोप लगाउन आएका छन् । यस्तै पुसमा तीन हजार आठ सय ५१ र माघमा चार हजार एक सय ३२ जनाले रेबिजविरुद्धको खोप लगाएका छन् ।

कुकुरले टोकेपछि दुई किसिमको खोप दिइने गरिन्छ ।
एउटा एन्टिरेविज र अर्को इम्युनोग्लोबुलिन भ्याक्सिन दिने गरिन्छ । यदि भुस्याहा कुकुरले टोकेको खण्डमा इम्युन्नोग्लोविन खोप र घरपालुवा कुकुर जसले नियमित खोप लगाएका छन् ।

ती कुकुरले टोके भने एन्टिरेबिज भ्याक्सिन खोप दिइने गरिन्छ । घरपालुवा र भुस्याहा कुकुरले बढी मानिसलाई टोक्ने गरेको छ । यस्तै गत असारदेखि यतामात्र १९ हजार चार सय ४७ जना नयाँ बिरामीले रेबिजविरुद्ध खोप लगाइसकेका अस्पतालका बहिरङ्ग विभागका इन्चार्ज शङ्कर पाण्डेले जानकारी दिनुभएको छ । उहाँका अनुसार साउनमा चार हजार आठ सय ८५, भदौमा चार हजार सात सय २८, असोजमा चार हजार सात सय ३१ र कात्तिकमा पाँच हजार ९९ जनाले बिरामीले रेबिजविरुद्धको खोप लगाएका छन् ।

उहाँका अनुसार अहिले दैनिक एक सय ३० जना रेबिजविरुद्धको खोप लगाउन अस्पताल आउने गरेका छन् । मासु र छालामा लगाइने उक्त खोप सरकारले निःशुल्क वितरण गर्ने गरेको छ । मासुमा लगाउने खोप चारपटक र छालामा लगाउने खोप तीनपटक दिइने गरिन्छ । बच्चा र वृद्धालाई मासुमा खोप लगाइने गरिन्छ ।

विश्व स्वास्थ्य सङ्गठनले छालामा लगाइने खोपलाई बढी प्रभावकारी मानेको छ । कुकुरले टोकेपछि रेबिजविरुद्धको खोप नलगाएको खण्डमा रेबिज रोग लाग्ने गर्दछ । अस्पतालका प्रमुख कल्सन्ट्यान्ट फिजिसियन डा विमल चालिसेले कुकुरले टोकेपछि जतिसक्दो चाँडै खोप लगाउनुपर्ने बताउँछन् । उहाँले
खोप नलगाएको खण्डमा २० देखि ९० दिनसम्म रेबिज रोगको लक्षण देखिने र लक्षण देखिएको सात दिनभित्रमा बिरामीको मृत्यु हुने गरेको बताउनुभयो ।

चालिसेका अनुसार रेबिज रोग लागेका बिरामीको मृत्युदर शतप्रतिशत रहेको छ । अस्पतालमा महिनामा दुई–तीन जना बिरामी रेबिज लागेर आउने गरेको उहाँ बताउनुहुन्छ ।

रेबिज रोग लागेका मान्छे सुरुमा पानी र हावासँग डराउने र त्यसपछि अचेत अवस्था भई मृत्यु हुने गरेको उनले बताए ।

रेबिजबाट सङ्क्रमित भएको कुकुर, जङ्गली जनावरजस्तै स्याल, फ्याउरोले टोकेमा, चिथोरेमा तिनीहरूको र्यालबाट रेबिज रोग सर्दछ । रेबिज भाइरसले मस्तिष्कमा असर पुर्‍याउँछ र लक्षण देखिएपछि रेबिज घातक हुन्छ ।

कुकुरले टोकेमा टोकेको घाउमा १५ मिनेटसम्म साबुनपानीले सफा गर्ने, त्यसपछि तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई रेबिजविरुद्धको खोप लगाउने गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्