Logo
|
Saturday 27th July 2024
Logo

epaper

इङ्ल्यान्डका जुनियर डाक्टरहरूले तलब विवाद बढ्दै गएपछि सुरु गरे हडताल



जनस्वास्थ्य सरोकार, लन्डन। इङ्गल्यान्डमा जुनियर चिकित्सकहरूले तलब र सर्तहरूलाई लिएर सरकारसँग लामो समयदेखि जारी विवादमा बुधबार तीन दिने हडताल सुरु गरेका छन् ।

राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का सबै चिकित्सकमध्ये करिब आधा जुनियर चिकित्सकहरूले बुधबार स्थानीय समयअनुसार बिहान ७ बजेदेखि शनिबार बिहानसम्म हडताल सुरु गरेका हुन् । 

अर्को हडताल आगामी वर्ष जनवरी ३ देखि सुरु हुने र यो छ दिनसम्म चल्ने घोषणा गरिएको छ । एनएचएसको इतिहासमा यो सबैभन्दा लामो हडताल हुनेछ । एनएचएसले उसको वेबसाइटमा चेतावनी दिँदै अन्य चिकित्सकले अझै पनि काम गरिरहने भए पनि कर्मचारीमा हुने अवरोधले ऐच्छिक गतिविधिमा उल्लेखनीय कमी ल्याउने र यसबाट केही नियुक्ति र प्रक्रियाको पुनः तालिका बनाइने बताएको छ । 

“हडतालका दिनहरूमा दुर्घटना र आपत्कालीन विभागहरू तथा एनएचएस १११ (डिजिटल ट्राइएज सेवा) अत्यन्त व्यस्त हुने सम्भावना छ, यसमा सामान्यदेखि धेरै समयसम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ”, उसले भनेको छ । 

ब्रिटिस मेडिकल एसोसिएसन (बिएमए) का अनुसार सन् २००८ पछि जुनियर चिकित्सकहरूको तलबमा एक चौथाइभन्दा धेरैले कटौती गरिएको छ । उनीहरूले बेलायतमा जारी जीवनयापनको लागत सङ्कटका बीच ३५ प्रतिशतले तलब वृद्धि हुनुपर्ने माग गरिरहेका छन् । 

हालै गरिएको कुराकानीमा चिकित्सकहरूलाई आठ दशमलव आठ प्रतिशत तलब वृद्धिमा थप तीन प्रतिशत वृद्धिको प्रस्ताव गरिएको थियो तर बिएमएले चिकित्सकहरूको ग्रेडमा असमानरूपमा फैलिने भएकाले यस वर्ष पनि धेरै चिकित्सकहरूको तलब कटौती हुने बताएको छ ।  

वित्तमन्त्री जेरेमी हन्टले एक अन्तरवार्तामा हडताललाई ‘अविश्वसनीयरूपमा निराशाजनक’ भन्नुभयो । उहाँले स्वास्थ्य तथा सामाजिक हेरचाह सचिव भिक्टोरिया एटकिन्सले ‘उहाँको ढोका रचनात्मक छलफलका लागि खुला’ रहेको बताउनुभएको जानकारी दिनुभयो । 

एनएचएस कन्फेडरेसन तथा पेसेन्ट्स एसोसिएसनसहित पाँच सङ्गठनले खुला पत्र लेख्दै सरकार र बिएमए दुवैसँग ‘वार्ताको टेबलमा फिर्ता हुन’ र ‘समाधान खोजेर आफ्नो विवाद समाप्त’ गर्न आह्वान गरेका छन् । 

संयुक्त अधिराज्य (युके) मा एज युके नामक परोपकारी संस्थाका क्यारोलिन अब्राहमले भन्नुभयो, “एनएचएसमा वर्षको सबैभन्दा व्यस्त समयमा भइरहेको र हुन गइरहेको हडतालले वृद्धहरूको स्वास्थ्यका लागि ठूलो सम्भावित खतरा उत्पन्न गर्न सक्छ ।”सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्