Logo
|
Friday 1st March 2024
Logo

epaper

यौन सङ्क्रमणः क्यान्सर, कटिमा दीर्घ पीडा, पाठेघरभन्दा बाहिर गर्भ बस्ने र बाँझोपनजस्ता समस्या देखापर्नसक्ने

यौन संसर्ग गर्दा ३० वटाभन्दा बढी ब्याक्टिरिया, भाइरस र परजीवी सर्न सक्ने



जनस्वास्थ्य सरोकार, काठमाडौं । यौन संसर्ग वा यौन सम्पर्कका माध्यमले एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सङ्क्रमणलाई यौन संसर्गबाट सर्ने सङ्क्रमण वा एसटीआई भन्ने गरिन्छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएओ) का अनुसार प्रत्येक दिन १० लाखभन्दा बढी मानिसमा यस्तो सङ्क्रमण हुने गर्छ।

एसटीआई हुँदा खासै लक्षण देखा पर्दैन र रोग पहिल्याउन पनि गाह्रो हुने गर्छ। तर सङ्क्रमण भएर रोग लागिसकेपछि लक्षणहरू देखा पर्न थाल्छ। त्यसलाई यौनरोग (एसटीडी) भनिन्छ। अधिकांश यौनरोगहरू यौन संसर्गबाट सर्छन्। तर कतिपय अवस्थामा अन्य यौनिक गतिविधिका क्रममा छालाबाट छालामा सर्न सक्छन्।

कतिपय त्यस्ता रोग आमाबाट गर्भावस्थामा हुँदा, जन्मिँदा वा स्तनपानको समयमा बच्चामा पनि सर्ने गर्छन्। रक्तदान गर्दा वा उही सुईको प्रयोग गर्दा पनि यौनरोगहरू सर्छन्। कतिपय अवस्थामा यौनरोगले गम्भीर परिणाम ( जस्तैः क्यान्सर, कटिमा दीर्घ पीडा, पाठेघरभन्दा बाहिर गर्भ बस्ने र बाँझोपनजस्ता समस्या देखा पर्न सक्छन्।

एसटीआई कति थरी हुन्छन् ?

यौन संसर्ग गर्दा ३० वटाभन्दा बढी ब्याक्टिरिया, भाइरस र परजीवी सर्न सक्छन्। मानिसहरूलाई एकैपटक एकभन्दा बढी एसटीआई पनि हुन सक्छ। सबैभन्दा बढी देखा पर्ने एसटीआईमा भिरिङ्गी, गानरीआ, क्लमिडिया र ट्रिकोमनाइसिस पर्छन्। यी सबै सङ्क्रमण उपचार गर्दा निको हुन सक्छन्।

एसटीआईका लक्षण के हुन् ?

यौन संसर्गबाट सर्ने सङ्क्रमणमा प्रायः लक्षण देखा पर्दैन वा सामान्य लक्षण मात्रै देखा पर्छ। सङ्क्रमण भएको भए पनि थाहा नपाउन सकिन्छ । लक्षण नदेखिँदा पनि यी सङ्क्रमणहरू यौन संसर्ग गर्दा सर्न र घातक हुन सक्छन् ।

सङ्क्रमण हुँदा यस्ता लक्षण देखा पर्न सक्छन्

लिङ्ग वा योनीबाट अस्वाभाविक रूपमा तरल पदार्थ बग्नु, यौनाङ्गमा फोका वा गिर्खा देखिनु, पिसाब हुँदा पीडा हुनु वा बारम्बार पिसाब लाग्नु, यौनाङ्गवरपर चिलाउनु र रातो हुनु, योनीबाट अस्वाभाविक गन्ध आउनु, मलद्वार चिलाउनु, रातो हुनु र रक्तश्राव हुनु
पेटमा पीडा हुनु।

एसटीआई किन निकै सामान्य बनेको छ ?

सन् २०२० मा डब्ल्यूएचओले गरेको अनुमानअनुसार कम्तीमा ३७ करोड ४० लाख जनालाई चार प्रकारकामध्ये एउटा एसटीआई भएको थियो। ती चारवटा सङ्क्रमण ट्रिकोमनाइसिस (१५ करोड ६० लाख), क्लमिडिया (१२ करोड ९० लाख), गानरीआ (८ करोड २० लाख) र भिरिङ्गी (७० लाख) हुन्। सन् २०१६ मा यौनाङ्गमा हर्पिस भएका मानिसको कुल सङ्ख्या ४९ करोडभन्दा बढी भएको अनुमान गरिएको थियो। त्यसबाहेक ३० करोड मानिसलाई एचपीभी (ह्यूमन प्यापिलोमा भाइरस) को सङ्क्रमण भएको विश्वास गरिएको थियो।

एचपीभी सङ्क्रमणले महिलाहरूमा पाठेघरको मुखको क्यान्सर र पुरुषसँग यौन सम्पर्क कायम गर्ने पुरुषहरूको मलद्वारमा क्यान्सर निम्त्याउने डब्लूएचओको भनाइ छ। “यौन जैविक आवश्यकता हो। यो खानु र पिउनु जस्तै हो। मानवीय स्वभावको अङ्ग हो,” डब्ल्यूएचओकी ग्लोबल एचआईभी, हेपटाइटिस र एसटीआईसम्बन्धी कार्यक्रमकी प्रमुख डा. टिओडोरा एल्भिरा सी वी भन्छिन्। “तपाईं यौन सम्पर्क गर्नुहुन्छ र त्यसो गर्दा तपाईँलाई एसटीआई हुन सक्छ। त्यही भएर सङ्क्रमणको सङ्ख्या यति उच्च छ।” डा. वीले अधिकांश अवस्थामा एसटीआईको लक्षण नदेखिने भन्दै थाहै नपाई उक्त सङ्क्रमण सर्न सक्ने बताइन्। यस्ता सङ्क्रमणको जोखिम यौन सम्बन्धलाई सहजै स्वीकार गर्ने संस्कृति, यौनमा बढेको पहुँच, एकैपटक एकभन्दा बढी व्यक्तिसँग सम्बन्ध कायम गर्ने क्रम र डेटिङ एपको प्रयोगले बढेको डा वी औँल्याउँछिन्।

पछिल्ला अध्ययनहरूले ‘क्याजूअल’ अर्थात् आकस्मिक रूपमा यौन सम्बन्ध कायम गर्ने एकल वयस्क पुरुषको सङ्ख्या घटेको देखाउँछन्। तर कन्डमको प्रयोगमा पनि कमी आइरहेको छ। एचआईभीको उपचार सम्भव नभएको अवस्थामा कन्डमको प्रयोगबिना जथाभाबी यौन सम्बन्ध कायम नगर्न मानिसहरू सचेत रहेको उनी बताउँछिन्। उनका अनुसार विश्वका धेरै देशका मानिसहरू आफैँ एचआईभीको परीक्षण गर्न सकिने, औषधि सेवन गर्न सकिने र त्यसपछि उपचार गर्न सकिने ठान्छन्। “त्यही भएर कन्डमको प्रयोग घटेको छ।”

सन् २०२२ मा १३ लाख मानिसमा एचआईभीको नयाँ सङ्क्रमण देखिएको डब्ल्यूएचओको तथ्याङ्कले देखाउँछ। प्रत्येक वर्ष आफूलाई एचआईभी भएको थाहा नपाउँदा वा उपचार नगर्दा अथवा ढिलो उपचार सुरु गरेका कारण छ लाखभन्दा बढी मानिसले उक्त भाइरसबाट ज्यान गुमाउने गरेको डब्ल्यूएचओले जनाएको छ।

एसटीआईबाट तपाईँ कसरी जोगिन सक्नुहुन्छ ?

“कृपया कन्डमको प्रयोग गर्नुहोस्। त्यसले तपाईँलाई एसटीआईबाट जोगाउने छ,” डा. वी भन्छिन्। “यदि आफूले नचिनेका व्यक्तिसँग यौन सम्पर्क कायम गर्नुपर्‍यो वा त्यो क्याजूअल यौन सम्बन्ध हो भने तपाईँ आफैँ त्यसका लागि जिम्मेवार हुनुहुन्छ। तपाईँले कन्डमलाई कसरी प्रयोग गर्ने र त्यसबाट कसरी सुख प्राप्त गर्ने भन्ने सिक्नुपर्छ।” ल्याटेक्स कन्डमको सही प्रयोगले एसटीआईको जोखिम उल्लेख्य रूपमा घटाउने भए पनि पूर्ण रूपमा अन्त्य नगर्ने स्वास्थ्य विज्ञहरू बताउँछन्। यदि कसैलाई ल्याटेक्ससँग एलर्जी छ भने पोलियूरेथन कन्डम प्रयोग गर्न सुझाव दिइएको छ।

त्यसबाहेक एसटीआईका लक्षणहरू देखिएको खण्डमा सुविधासम्पन्न स्वास्थ्य केन्द्रमा गएर तत्काल गएर परीक्षण गराउनु र उपचार गराउनुपर्छ। डा वे भन्छिन्, “औषधि पसलमा गएर आफैँ उपचार गर्ने कोसिस नगर्नुहोस् किनभने त्यसबाट तपाईँलाई लाभ हुँदैन। बरु त्यसो गर्दा बाँझोपनजस्ता गम्भीर समस्या निम्तिन सक्छ।”
एसटीआईलाई बेवास्ता गर्दा स्वास्थ्यमा क्षति पुग्न सक्छ। त्यसले पेल्भिक इन्फ्ल्यामटरी डिजीज (कटीमा जलन हुने रोग), गर्भसम्बन्धी गम्भीर परिणाम र गानरीआ र क्लमिडियाका कारण १० देखि २० लाख जनामा बाझोपनको समस्या निम्तिन्छन् ।”

गर्भावस्थामा हुने भिरिङ्गीले प्रत्येक वर्ष तीन लाख ५५ हजार शिशुमा जन्मसम्बन्धी समस्या निम्त्याउँछ। त्यसमा १४३ वटा मृत शिशुको जन्म र ६१ हजार नवजात शिशुको मृत्यु पर्छन्। एचभीपीले निम्त्याउने पाठेघरको मुखको क्यान्सरका कारण झन्डै तीन लाख ४२ हजार जनाको ज्यान जाने गर्छ।

एसटीआईको उपचार के हो ?

ब्याक्टेरिया वा परजीवीका कारण लाग्ने एसटीआई एन्टिबायोटिक प्रयोग गरेर निको पार्न सकिन्छन। तर भाइरसबाट सर्ने हर्पिजजस्ता एसटीआईको उपचार छैन। उपचारले लक्षणलाई घटाउन र सङ्क्रमण फैलिन कम गर्न भने सहयोग गर्छ। एचभीपी र हेपटाइटिस बीविरुद्ध खोपहरू पनि उपलब्ध छन्। डा वेका अनुसार डब्लूएचओले गनरीआविरुद्ध खोप बनाउन सकिन्छ कि भनेर विचार गर्दै छ भने यौनाङ्गमा देखिने हर्पिसको उपचार गर्ने खोप पनि बन्ने क्रममा छ। त्यसका लागि कोभिड १९ खोप विकास गर्दा प्रयोग गरिएको एमआरएनएजस्तै विधि प्रयोग गर्न सकिने उनको भनाइ छ। उनका अनुसार क्लमिडियाको खोप विकासका लागि प्रारम्भिक काम भइरहेको छ। त्यसबाहेक भिरिङ्गीको खोपको विकासको सम्भावित संयन्त्रबारे प्रारम्भिक अनुसन्धान भइरहेको छ।

एसटीआई रोकथाममा सरकारको भूमिका कस्तो ?

विश्वको अधिकांश ठाउँमा एसटीआई रोकथाम र नियन्त्रणसम्बन्धी कार्यक्रमका लागि निश्चित बजेट छुट्ट्याइएको हुन्छ। “एसटीआईसँग जोडिएको लज्जाका कारण यो विषय प्राथमिकतामा परेको छैन। एसटीआईसँग सम्बन्धित सेवाका लागि रकम उपलब्ध गराउने कुरा राजनीतिक महत्त्वको छैन। त्यसले तपाईँलाई निर्वाचनमा मत दिलाउँदैन।” सरकारले स्वास्थ्य सेवालाई सजिलो गरी आर्थिक स्रोत उपलब्ध गराउनुपर्ने र नियमित रूपमा देखा पर्ने एसटीआईहरूको पहिचान र उपचारका लागि स्रोतहरू वृद्धि गर्नुपर्ने धारणा वीको छ। “एसटीआईलाई सङ्क्रामक रोगको रूपमा पूर्ण रूपमा उपेक्षा गरिएको छ। त्यससँग जोडिएका सामाजिक बहिष्करणलाई घटाउनुपर्छ र सामान्य सङ्क्रमणको रूपमा लिएर त्यसको उपचार गर्नुपर्छ।”

श्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस्