Logo
|
Saturday 27th April 2024
Logo

epaper

के हो डर्माटोमायोसाइटिस, कारण, लक्षण, जटिलता र उपचार

'दंगल स्टार सुहानी भटनागरको ज्यान लिने दुर्लभ रोग'



नेपाल हेल्थ न्युज, काठमाडौँ । आमिर खानको रेस्लिङ फिल्म दंगलमा बबिता फोगाटको बाल्यकालको भूमिका निभाएकी सुहानी भटनागरको १९ वर्षको उमेरमा निधन भएको छ ।

सुहानी भटनागर (बायाँ) आमिर खान र जायरा वसीमसँग। नोभेम्बर 2016 फोटो

समाचार एजेन्सी पीटीआईका अनुसार उनका बुबा सुमित भटनागरले सुहानी डर्माटोमायोसाइटिस नामक रोगबाट पीडित थिइन् ।

सुहानीलाई फेब्रुअरी ७ मा दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनको उपचार भइरहेको थियो । तर फेब्रुअरी १६ मा उनको रोगबाट उत्पन्न जटिलताका कारण उनले ज्यान गुमाए ।

डर्माटोमायोसाइटिस एक धेरै दुर्लभ रोग हो जसमा मांसपेशिहरु सुन्निन्छ र छालामा दाग देखा पर्छ । यो रोगलाई समयमै पहिचान गरी विज्ञको निगरानीमा उपचार गर्न सके यसबाट हुने समस्याबाट मुक्ति पाउन सकिने चिकित्सकहरू बताउँछन् । तर, कतिपय अवस्थामा यसले शरीरका अत्यावश्यक अंगहरूलाई यति छिटो असर गर्छ कि बिरामीको ज्यानसमेत जान सक्छ।

के हो डर्माटोमायोसाइटिस?
छाला विशेषज्ञ डा. अन्जु झा भन्नुहुन्छ–‘यो एक अटो–इम्युन डिसअर्डर हो । जसमा हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले आफ्नै अंगहरू विरुद्ध काम गर्न थाल्छ ।’

शरीरमा कतिपय एन्टिबडीहरू बन्न थाल्छन, जसले मांसपेशीहरूलाई आक्रमण गरी कमजोर बनाउन थाल्छ। जसका कारण मांसपेशीहरु कमजोर हुन्छन् । बिस्तारै यो समस्याले विभिन्न अंगलाई असर गर्छ र त्यसमा सूजन हुन थाल्छ ।

‘शरीरमा कतिपय एन्टिबडीहरू बन्न थाल्छन् जसले मांसपेशीहरूलाई आक्रमण गरी कमजोर बनाउन थाल्छ । जसले गर्दा मांसपेशी कमजोर हुन्छ ।’–डा. झा थप्नुहुन्छ ।

छाला विशेषज्ञ डा. अन्जु झा

कस्ता लक्षण देखिन्छन् ?
डर्माटोमायोसाइटिसको लक्षणबारे बताउँदै डा. झा भन्नुहुन्छ–‘हरेक बिरामीलाई विभिन्न किसिमका समस्याहरू हुन सक्छन । कहिलेकाहीँ छालामा दाग आउने हुन्छ । आँखाको चक्की सुन्निने हुन्छ, कहिलेकाहीँ कमजोरी मात्र महसुस हुन्छ । जस्तो कि बिरामीलाई हात उठाउन गाह्रो हुन सक्छ । यदि हिप जोर्नी वरिपरी समस्या छ भने उसलाई उठ्न र बस्न गाह्रो हुन सक्छ।’

सुरुमा अनुहारमा रातो वा बैजनी दाग वा जोर्नी दुख्ने समस्या मात्र हुन्छ । तर, पछि धेरै बिरामीहरूलाई हिड्न गाह्रो हुन थाल्छ र फोक्सोको मांसपेशी प्रभावित भएपछि उनीहरूलाई सास फेर्न गाह्रो हुन थाल्छ ।

कारण
अमेरिकाको जोन हप्किन्स युनिभर्सिटीका अनुसार डर्मेटोमायोसाइटिसको सही कारण थाहा छैन तर यो समस्या आनुवंशिक जीन, वृद्धवृद्धामा क्यान्सर, अन्य कुनै संक्रमण, औषधि वा वातावरणमा रहेको कुनै चीजको एलर्जीका कारण हुन सक्छ ।

जटिलता
यसमा छाला र मांसपेशीमा रगत पुर्याउने रक्तनली (धमनी) सुन्निन्छ । यसले छालामा बैजनी वा रातो दाग बन्न सक्छ, जसले दुखाइ वा चिलाउने हुन सक्छ ।

कहिलेकाहीँ कुहिनो, घुँडा वा औंलाहरूमा दाग वा बैजनी दागहरू पनि देखा पर्न सक्छन् । नङ वरिपरि सुन्निने, जोर्नीहरूमा कठोरता, सुख्खा छाला र कपाल पातलो हुन सक्छ । समस्या बढेमा निल्न गाह्रो हुन सक्छ, स्वरमा परिवर्तन आउन सक्छ र थकान, ज्वरो वा तौल घट्ने जस्ता समस्या पनि सामना गर्नुपर्ने हुन्छ ।

डर्मेटोमायोसाइटिसले नङ वरिपरि सुन्निन सक्छ।

पहिचान कसरी गरिन्छ?
प्रारम्भिक लक्षण देखा पर्दा बिरामीको मेडिकल हिस्ट्री र शारीरिक परीक्षण गरेर यी लक्षणहरूको कारण पत्ता लगाउन सकिन्छ । पुष्टिका लागि रगत परीक्षण, इलेक्ट्रोमाइलोग्राम (ईएमजी) र बायोप्सीको सहयोग लिइने चिकित्सक डा. अन्जु झा बताउनुहुन्छ । उहाँका अनुसार सबैभन्दा सही तरिका भनेको प्रभावित मांसपेशीहरूको बायोप्सी (केही भाग हटाएर प्रयोगशालामा जाँच गर्नु) हो ।

उमेर समुह
डर्मेटोमायोसाइटिस ५ देखि १४ वर्ष उमेरका बालबालिका वा ४० वर्षभन्दा माथिका व्यक्तिमा बढी हुने गरेको डा. अन्जु झाले जानकारी दिनुभयो । कहिलेकाहीँ बालबालिकामा यो तीव्र गतिमा बढ्ने र बुझ्दासम्म यसले धेरै क्षति पु–याइसकेको उहाँको भनाइ छ ।

अभिनेत्री सुहानीसँग पनि यस्तै भएको हुनसक्ने उहाँको विश्वास छ । कयौं पटक यस्तो पनि हुन्छ कि शरीरमा हानी पुर्याउने प्रतिरक्षा प्रणालीलाई नियन्त्रण गर्न इम्युनोसप्रेसेन्ट (प्रतिरक्षालाई कमजोर बनाउने औषधि) दिइन्छ, जसका कारण बिरामीलाई अन्य रोग लाग्ने खतरा पनि बढ्छ ।

उपचार
जोन हप्किन्स विश्वविद्यालयका अनुसार डर्मेटोमायोसाइटिसको उपचार लक्षणका आधारमा मात्र गरिन्छ । उदाहरणका लागि, यदि मांसपेशीहरूमा कठोरता छ भने, शारीरिक उपचार दिइन्छ। छालाको दागबाट बच्न औषधि दिइन्छ । रोग प्रतिरोधात्मक क्षमता कम गर्ने औषधि पनि दिइन्छ ।

डा अन्जु भन्नुहुन्छ–‘यदि तपाईलाई डर्माटोमायोसाइटिस मात्र नभएर कुनै किसिमको अटो इम्युन डिसअर्डर पनि छ भने लगातार औषधि खानुपर्छ। एकै औषधिले तुरुन्त निको हुन्छ भन्ने हुँदैन।’

उहाँ थप्नुहुन्छ–‘पहिले लक्षणहरू ठीक पार्नुहोस्। एक पटक निदान भएपछि सही उपचार गर्नुहोस् । कहिलेकाहीँ स्टेरोइड पनि दिइन्छ । स्टेरोइड लिनु हुँदैन भन्ने धेरै भ्रम मानिसहरूमा छन तर सही डाक्टर, जस्तै छाला रोग विशेषज्ञ वा वाथ रोग विशेषज्ञ हुनु महत्त्वपूर्ण हुन्छ । विशेषज्ञ चिकित्सको सल्लाह लिएर उचित उपचार गरौँ ।’ बीबीसीहिन्दीबाट साभार गरिएको

प्रतिक्रिया दिनुहोस्