Logo
|
Friday 26th April 2024
Logo

epaper

स्तन क्यान्सरलाई जित्दै गरेकी नर्सको अपराजित आत्मबल, टिकटकले जोडिएको आत्मीयता

जसको उपचारका क्रममा हरेक पटक ४ सय देखि ७ सय जना क्यान्सरका बिरामीहरू टिकटक लाइभमा जोडिन्थे



सञ्जु पराजुली पेशाले सिनियर अनमी हुनुहुन्छ । हाल सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर २ हतपते स्वास्थ्य चौकी राँगेमा काम गर्नुहुन्छ । जानौं क्यान्सर कथा उहाँको आफ्नै शव्दमा ।


बहिनी (नन्द) सुत्केरी भएकाले हस्पिटलमा थिएँ । दूध नआएपछि भान्जा रून थाले । बट्टाको दूध तयार गर्दै आफैंले चुसाउन थालेँ । सोही बेला बायाँ स्तनमा नदुख्ने गाठाँ भेटेँ । नन्दलाई अस्पतालबाट डिस्चार्ज गरेपछि आफैँले एन्टिबायोटिक औषधी किनेर खाएँ । गाँठो कम भएन । क्यान्सर भयो कि भनेर जँचाउन जनकपुर अञ्चल अस्पताल गएँ । अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. रामनरेश पण्डितसँग परामर्श लिएँ । उहाँले केही समय एन्टिबायोटिक र भिटामिन ई सेवन गर्नुपर्ने र सुधार नभए शल्यक्रिया गर्नुपर्ने बताउनुभयो ।


करिब १५ दिन औषधी सेवन गर्दा सुधार नआएपछि उपचारका लागि भक्तपुर क्यान्सर अस्पताल पुगेँ । सर्जिकल अंकोलोजिस्ट डा. दीप लामिछानेसँग जँचाए । एफएनएसी, टुकट बायोप्सी, यूएससी र म्यामोग्राम जाँच गर्दा पनि क्यान्सर पहिचान हुन सकेन । त्यसपछि स्तनको गाँठो निकालेर बायोप्सी गरियो । रिपोर्टमा सुरुआती चरणको क्यान्सर माइक्रो–इन्भेजिभ कार्सिनोमा डायग्नोसिस भयो । पहिलो शल्यक्रिया गरेको २१ दिनपछि अर्को शल्यक्रिया गरेर आधा स्तन काटेर फालियो । काठमाडौँ क्यान्सर सेन्टरमा ३० साइकल (चक्र) रेडियसन थेरापी लिएँ । त्यसपछि इआरपिआर पोजेटिभ आएको भन्दै चिकित्सकले १० वर्षसम्म हर्मोनल औषधी खान सिफारिस गर्नुभयो ।

कार्यालयका साथीहरुसँग सञ्जु


नियमित औषधी सेवन गर्न थालेँ । हरेक ६/६ महिनाको अन्तरालमा फलोअपका लागि अस्पताल जान्थेँ । साढे चार वर्षपछिको फलोअपमा सिटी स्क्यान गराउँदा फोक्सोमा दाग देखियो । बायोप्सी गर्दा ‘ब्रेस्ट प्राइमरी मेटास्ट्यासिस’ देखियो । स्तनको क्यान्सर फैलिएर फोक्सोमा पुगेको रहेछ । दोस्रो राय लिन श्रीमान्सँग दिल्लीको राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टर गएँ । चिकित्सकले बायोप्सी र पेट सिटी रिपोर्ट हेरेपछि कुल १८ वटा टार्गेटेड थेरापी चलाउनुपर्ने बताए । केमोथेरापी उपचार सुरू भयो । ६ सेसन केमो दिल्लीमा बसेर लिएँ । २१ दिनको अन्तरमा इलेफ्ता नामक केमो–इन्जेक्सन दिइन्थ्यो । करिब ६ महिनापछि रेफर लेटर लिएर नेपाल फर्किएँ । भक्तपुर क्यान्सर अस्पतालबाट १२ सेसन टार्गेटेड थेरापी लिइसकेको छु । १८ सेसन टार्गेटेड थेरापी पूरा भएको छ । फलोअपका लागि छिट्टै दिल्ली जाँदै छु ।

श्रीमानसँग रमाउँदै सञ्जु


अहिले ३९ वर्षकी भएँ । आत्मबल बलियो छ । स्वास्थ्य अवस्था सामान्य छ । घरपरिवारको माया र समर्थन छ । श्रीमान्को साथ र मायाले अहिले यो अवस्थामा छु ।


टिकटकले जोडिएको आत्मीयता

दिल्लीमा केमोथेरापी चलिरहँदा आफन्तसँग कुराकानी गर्न र माइन्ड फ्रेस बनाउन टिकटकमा लाइभ बस्न थालेँ । आफूले लाइभमा केमो थेरापी उपचार लिइरहेको उल्लेख गरेपछि बिस्तारै दर्शक (भ्यूअर) को संख्या बढ्न थाल्यो । क्यान्सरका बिरामीले लाइभ कमेन्टमा आफ्ना जिज्ञासा सोध्न थाले । आफू स्वास्थ्य क्षेत्रकै कर्मचारी समेत भएकाले जानकारी भएसम्म जिज्ञासा मेटाउने प्रयत्न गरेँ । विस्तारै लाइभमा जोडिने र फलो गर्नेहरूको संख्या बढ्न थालेपछि टिकटक यूजर नेम ‘क्यान्सर सर्भाइभर टिम सञ्जु’ परिवर्तन गरेँ । हरेक पटक ४ सय देखि ७ सय जना क्यान्सरका बिरामीहरू लाइभमा जोडिन थाले । आफूले जानेको जिज्ञासा मेटाउँदै गएँ ।

टिकटकले जोडिएका साथीहरुसँग सञ्जु


६ महिना दिल्ली बसाइका क्रममा टिकटक लाइफ जोडिने बिरामीसँग भावनात्मक सम्बन्ध बन्यो । नेपाल फर्किएपछि बिरामीकै आग्रहमा भेटघाट गर्ने योजना बन्यो । गत साउन १६ गते पशुपति परिसरमा पहिलो भेटघाट भयो ।

पहिलो भेटमा २० जनाको सहभागिता थियो । सबैसँग घुलमिल बढ्यो । त्यसयता नियमित भेटघाट भइरहेको छ । गत मंसिरदेखि मासिक एक सय बचत र भेटघाट कार्यक्रम सुरू गरेका छौँ । हाल २६ जना सदस्य सहभागी हुनुहुन्छ । अहिले नेपालमा टिकटक प्रतिबन्ध भएकाले म्यासेन्जर ग्रुपमार्फत कुराकानी हुन्छ । क्यान्सरका बिरामीलाई प्रेरणा दिन थोरै फलफूल बोकेर भए पनि चार पाँच जना क्यान्सर सर्भाइभरहरू भेट्न जान्छौँ । यसले बिरामीको आत्मबल र हौसला बढ्छ ।

छोराछोरीसँग रमाउँदै सञ्जु


पहिलो पटक स्तन क्यान्सर डायग्नोसिस हुँदा डराइनँ । स्वास्थ्यकर्मी भएकाले आफूलाई सम्हालेँ । आत्मबल बलियो बनाएँ । सुरुआती चरणको क्यान्सर भएकाले निको हुन्छ भन्ने विश्वास थियो । त्यतिबेला एक थोपा आँसु पनि खसेन । तर, दोस्रोपल्ट क्यान्सर हुँदा रातभर रोएँ । अब बाँच्दिन होला भन्ने लागेको थियो । दोस्रो सल्लाह लिन दिल्ली जान्छु भन्दा डाक्टरले रेफर कार्ड बनाइदिनुभएन । जीवनमरणको कुरा रहेकाले रेफर कार्डबिनै दिल्ली गएँ । देशबाहिर उपचार गराएकाले सञ्चय कोषबाट पाउने १० लाखको सुविधा पाइनँ । सरकारी कर्मचारी भएकाले मासिक पाँच हजार भत्ता पनि दिइएको छैन ।


प्रतिक्रिया दिनुहोस्