‘उच्चरक्तचापको औषधि सेवन गर्ने भनेकै गुणस्तरीय जीवन जीउनका लागि हो’— डा. दिवाकर शर्मा
‘जीवनशैली सुधार गरेमा औषधिको उच्च डोज कम गर्न सकिन्छ’
आज विश्व उच्चरक्तचाप दिवस २०२४ । उच्च रक्तचाप सम्बन्धी जनचेतना अभिवृद्धि र रोकथामका लागि हरेक वर्ष मे १७ मा विश्व उच्च रक्तचाप दिवस मनाइन्छ । विश्व उच्च रक्तचाप दिवस २०२४ को नारा ‘आफ्नो रक्तचाप सही रूपमा मापन गर्नुहोस्, यसलाई नियन्त्रण गर्नुहोस्, लामो समयसम्म बाँच्नुहोस्’ रहेको छ ।
हाम्रो शरीरमा धमनीका पर्खालहरूमा रक्तचाप सामान्य सीमाभन्दा बढी हुँदा त्यसलाई उच्च रक्तचाप भनिन्छ । रक्तचाप १४०/९० पुगेमा उच्चरक्तचाप मानिन्छ । उच्च रक्तचाप नियन्त्रणमा समयमै ध्यान दिइएन भने यसले हृदयाघात र स्ट्रोकको जोखिम धेरै हदसम्म बढाउन सक्छ । त्यसैले उच्चरक्तचापको औषधि ‘जीवनभर औषधि सेवन गरिरहनुपर्छ ?’ ‘यसले मिर्गौलालगायतका शरीरका महत्वपूर्ण अंग असफल गराउने पो हो कि ?’ जस्ता प्रश्न उच्च रक्तचापको औषधि सेवन गर्ने व्यक्तिहरुबाट आइरहन्छ । तर उच्चरक्तचाप भएका व्यक्तिहरुले औषधि सेवन गर्नुपर्ने उद्देश्य भनेकै दीर्घकालीन रुपमा हार्ट फेलियर, मिर्गौला, हृदयघात, मस्तिष्कघात, आँखाको समस्या आदिबाट जोगाउन हो ।
उच्चरक्तचापका औषधिहरुले कतिपय व्यक्तिलाई सामान्य साइडइफेक्टहरु पनि गराउन सक्छन् । यदि साइड इफेक्ट भएमा सम्बन्धित चिकित्सकको निगरानीमा औषधि परिवर्तन गर्नुपर्ने हुनसक्छ वा परिवतर्न नगर्नुपर्ने पनि हुनसक्छ । उच्च रक्तचापको औषधि पेनकिलर औषधि जस्तो होइन । यो त जीवनभर खानुको उद्देश्य जीवन लम्व्याउनका लागि हो भने गुणस्तरीय जीवन जीउन पनि हो । डायविटिजको औषधि पनि त्यहि हो । जीवनशैली सुधार गरेर आएमा औषधिको डोज कम गर्न सकिन्छ । उच्च रक्तचाप नियन्त्रण भएपछि कसैकसैलाई औषधि सेवन गर्न छोडाएको पनि छ । तर त्यो संख्या धेरै छैन । औषधि सेवन बीचैमा छोडेमा उच्चरक्तचाप वा डायविटिज बिस्तारै बढ्दै जानसक्छ ।
खासगरी मुटुलाई सबैभन्दा नराम्रोसँग असर गर्ने उच्च रक्तचाप हो । उच्च रक्तचापले मुुटु सुन्निने, हार्ट फेलियर, मुटुको चालमा गडबडीको समस्या ल्याउनसक्छ । हार्ट फेलियरले कोरानरी आर्टरी डिजिज र हृदयघातलाई बढाउन सक्छ । मधुमेहले शरीरमा सुगर बढाउनेदेखि मिर्गौला, आँखा, रगतको नसा, मुटुलगायत सम्पूर्ण शरीरभर असर गर्छ । मधुमेहले मुटुको मांशपेशीमा रगत सञ्चालनमा अवरोध ल्याउने, मुटुका नसाहरु अवरुद्ध गराउने, धेरै हार्ट फेलियरको समस्या ल्याउन सक्छ । रगतमा बोसोको मात्रा बढेपछि हुने कोलस्टेरोलले मुटुलगायत शरीरका अन्य भागका रक्तनलीहरुमा ब्लकेज भएर हृदयघात गराउनसक्छ । मोटोपनले ब्लडप्रेसर, डायबिटिज, कोलेस्टेरोललगायतका समस्या बढाउँछ । यस्तो समस्याले बिस्तारै शरीरका अंगहरुमा असर गर्छ । जीवनशैलीसँग सम्बन्धित चुरोट, सूर्तिको सेवन, धेरै मध्यपान गर्ने, जंकफूडको सेवनले मुटुलाई असर गर्छ ।
जुनसुकै संक्रमणजन्य रोगले सैद्धान्तिक रुपमा मुटुमा असर गर्नसक्ने सम्भावना रहन्छ । सरुवा रोगहरुमा भाइरसजन्य रोगहरु (जस्तैः कोभिड—१९), विभिन्न ब्याक्टेरिया र परजीवीहरु आदि पर्छन् । कोभिङ—१९ ले मुख्य त घाँटी र फोक्सोमा असर गर्छ । यसले मुटुमा पनि असर गरेर मायोकार्डाइटिस गराएको पाइन्छ । साथै मुटुको मांशपेशीलाई कमजोर र मुटुको चालमा गडबडी ल्याउँछ । त्यस्तै क्षयरोगले पेरिकार्डाइटिस गराउने धेरै सम्भावना रहन्छ । सामान्य रुघाखोकी गराउने भाइरसले पनि मायोकार्डाइटिस गराएर मुटुलाई असर पार्नसक्छ । टाइफाइडले पनि मुटुमा असर पार्नसक्छ । सामान्यतः कतिपय सरुवा रोग आफैं निको हुन्छन् भने कतिपय औषधोपचारले निको पार्न सकिन्छ । तर केही समस्या आंशिक रुपमा निको हुने गर्छन् । यदि स्थायी रुपमा मायोकार्डाइटिस भएमा व्यक्तिको मृत्युसमेत हुनसक्छ ।
योग ध्यान स्वास्थ्यका लागि लाभदायक हुन्छन् । तर यो गर्दैमा आफूखुशी औषधि सेवन छोडन् हुँदैन । औषधि घटाउने, बढाउने, छोडाउने चिकित्सकको हातमा हुन्छ । उच्चरक्तचाप, डायविटिज, खानपान र उचित जीवनशैली, अन्य खालका जोखिम कारक आदिलाई राम्रोसँग नियन्त्रणमा राख्न सकेमा मुटु जोगाउन सकिन्छ । (डा.शर्मा ह्याम्स हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)