इन्फेक्सन कन्ट्रोल नर्सः सेवा लिने र दिने दुवैमा संक्रमणको जोखिम, प्रतिवर्ष धेरै आर्थिक नोक्सानी
अस्पताल, क्लिनिक वा स्वास्थ्य केन्द्रमा विभिन्न प्रकारका बिरामीहरू आउने गर्दछन् । यी बिरामीहरूको उपचार गर्ने क्रममा सुई लगाउँदा, दिसा, पिसाब, रगत, खकार, शरीरको भित्री स्राब, भित्री अङ्गहरूको जाँच, शल्यक्रिया आदिमा बिरामीहरूको शरीरभित्र रहेका विभिन्न प्रकारका सरुवा रोगका हानिकारक जीवाणुहरु स्वास्थ्य केन्द्रको वातावरण बाहिर निस्कन्छन् । यी हानिकारक जीवाणुहरूलाई होसियारी पूर्वक नष्ट गर्न नसकेको अवस्थामा अस्पतालमा रहेका अन्य बिरामी, स्वास्थ्यकर्मी र स्वस्थ मानिसहरूलाई पनि संक्रमण हुने सम्भावना हुन्छ ।
अस्पतालमा इन्फेक्सन कन्ट्रोल नभएमा बिरामीको ज्यान जोखिममा हुन्छ । अस्पतालबाट बिरामीलाई संक्रमणमुक्त गराएर घर पठाउनुपर्छ । कुनै बिरामी हड्डी भाँचिएको घटना लिएर उपचारका लागि अस्पताल आउँदा हस्पिटलमा बस्दाबस्दै जुनसुकै संक्रमण (इन्फेक्सन) हुनसक्ने सम्भावना रहन्छ । जस्तै निमोनिया, पिसाबमा संक्रमण आदि । पिसाबको पाइपको कारणले पनि संक्रमणको सम्भावना हुन्छ । त्यस्तै भेन्टिलेटरमा रहेका बिरामीमा निमोनियको सम्भावना हुन्छ । यस्ता थुप्रै घटनाहरु हुन्छन् जुन एउटा रोग लिएर आउँदा अर्को रोगको संक्रमणको शिकार बन्नुपर्ने अवस्था हुन्छ ।
जुनसुकै हस्पिटलमा पनि इन्फेक्सन भएका घटनाहरु पाइन्छ । यो स्वभाविक हो । आइसियूमा अझ धेरै जोखिम हुन्छ । क्याथेटर लगाएका बिरामीलाई ‘क्याथेटरको इन्फेक्सन’ हुनसक्छ । यसैगरी क्यानुला लगाउनुपर्ने बिरामीमा पनि इन्फेक्सनको सम्भावना रहन्छ । अर्थोपेडिकमा शल्यक्रियापछि संक्रमणको सम्भावना धेरै हुन्छ । जोर्नी, हिप प्रत्यारोपण र स्पाइनको सर्जरी गरी इम्प्लान्ट राख्ने शल्यक्रियामा धेरै सावधानी अपनाउनुपर्छ ।
शुरुमा अस्पतालमा इन्फेक्सन कन्ट्रोल (आईपी) नर्स भनेर मात्रै जिम्मेवारी दिएको थियो । त्यतिबेला के काम गर्ने भन्ने राम्रो ज्ञान थिएन । एक वर्ष अघि मात्र अस्पतालले छनोट गरेर ३ महिनाको इन्फेक्सन कन्ट्रोल नर्सिङ कोर्षको तालिमका लागि पठायो । त्यसपछि जिम्मेवारी र काम गर्ने तरिकाबारे धेरै थाहा पाएँ । इन्फेक्सन कन्ट्रोल (संक्रमण नियन्त्रण) स्वास्थ्य सुरक्षाको महत्वपूर्ण पाटो हो । संक्रामक एजेन्टको पहिचान र रोकथाममा इन्फेक्सन कन्ट्रोल नर्सको महत्वपूर्ण भूमिका रहन्छ । बिरामी तथा स्वास्थ्यकर्मीहरूलाई संक्रमणका कारण हुने हानीबाट बचाउन डिजाइन गरिएको वैज्ञानिक दृष्टिकोण र अभ्यास नै संक्रमण रोकथाम तथा नियन्त्रण हो । इन्फेक्सन कन्ट्रोल नर्स अन्तर्गत हस्पिटलको फोहोर व्यवस्थापन पनि पर्दछ । अस्पतालमा काम गर्न थालेको १५ वर्ष बढी भइसक्यो । सुरुवाती दिनदेखि नै वार्ड, अपरेशन थिएटर (ओटी) लगायत हरेक विभागमा काम गर्दै आएको थिएँ ।
सरकारबाट चेकिङमा आउँदा कलर कोडिङ मिले नमिलेको समेत जाँच हुने गर्छ । त्यो इन्फेक्सन कन्ट्रोल नर्सले निगरानी गरिरहेको हुन्छ । अर्थोपेडिक अस्पतालमा ७७ जिल्लाबाट धेरै हाडजोर्नी भाँचिएका घटनाहरु आउँछन । अहिले घुँडाको जोर्नी र हिप प्रत्यारोपण गर्नेको संख्या पनि बढेको छ । नेपाल सरकारले स्पाइनल इन्जुरी भएका बिरामीलाई एक लाख रुपियाँ दिने सुविधा पनि अस्पतालमा उपलब्ध भएकाले बिरामीलाई धेरै सहज भएको छ ।
सरकारले १ सय शैया क्षमता भएका अस्पतालहरुमा एक जना इन्फेक्सन कन्ट्रोल नर्सको व्यवस्था गरेको छ । विकसित मुलुकहरूमा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य बजेटको केही भाग संक्रमण नियन्त्रणका लागि छुट्याउने गरिएको हुन्छ । तर हाम्रो देशमा अझै संक्रमण नियन्त्रणलाई गम्भीर रूपमा लिइएको छैन । कोभिड महामारीमा संक्रमण रोकथाम र नियन्त्रणको मुख्य भूमिका देखिएपछि यसबारे केही हदसम्म चासो बढेको पाइन्छ ।
इन्फेक्सन कन्ट्रोल नर्सले संक्रमणको कारणबारे निगरानी (सर्भिलेन्स), तथ्याङ्क संकलन गर्ने, हात स्वच्छता (ह्याण्ड हाइजिन) लगायत थुप्रै कुरामा ख्याल राख्नुपर्छ । यसमा एजुकेशन, ट्रेनिङ र सर्भे जस्ता धेरै जिम्मेवारी हुन्छन् । इन्फेक्सन कन्ट्रोलमा सबैको प्री–प्लान प्रोटोकल हुन्छन् । क्याथेटर लगाउने छुट्टै प्रोटोकल हुन्छ । शल्यक्रिया गर्ने बिरामीको सरसफाइ (क्लिनिनेस) मा विशेष ध्यान दिनुपर्छ । संक्रमणको मुख्य स्रोत हात हो । त्यसैले बिरामी छोइसकेपछि ह्यान्ड वास, अल्कोहल बेस्ट ह्यान्ड सानिटाइजरको प्रयोग गर्न जरुरत पर्छ । साथै बिरामीमा सरसफाइ हुन जरुरी हुन्छ ।
शल्यक्रिया पूर्व बिरामीलाई नुहाउने, नयाँ कपडा (गाउन) परिवर्तन गर्नेसम्मको प्रोटोकल हुन्छ । कहिलेकाँही उच्च सुगर लेवल र मोटोपना जस्ता कारक तत्वले पनि संक्रमणको जोखिम बढाउन सक्छ । पोष्टअपमा घाउ भिज्ने सम्भावना भएकाले तुरुन्तै गाउन चेञ्ज गरिहाल्नुपर्छ । खाली हात, ग्लब्स नलगाएको र ह्याण्ड हाइजिन नगरेको हातमा स्टरलिटी मेन्टेन गर्नुपर्छ । ओटीमा प्रोपर स्टरलाइलेजसन नगरी सामानहरु प्रयोग हुुनुहुँदैन । पिसिएल, बिएस्सी नर्सिङ, व्याचलर इन नर्सिङ (बीएन) अध्ययन गरेका जो कसैले पनि इन्फेक्सन कन्ट्रोल नर्सको ३ महिने तालिम लिन पाउँछन् ।
इन्फेक्सन कन्ट्रोलसँग सम्बन्धित सबै पक्षमा विज्ञका रूपमा कार्य गर्न सक्ने शैक्षिक योग्यता र व्यावहारिक तालिमप्राप्त नर्सलाई इन्फेक्सन कन्ट्रोल (आईपी) नर्स भनिन्छ । अस्पताल इन्फेक्सन कन्ट्रोल टोलीमा पूर्णकालीन रूपमा काम गर्न र दैनिक क्रियाकलापहरूको नियमित सञ्चालनका लागि यस्ता नर्सहरूको व्यवस्था गरिएको हुन्छ । आईपी नर्सलाई संक्रमण रोकथाम तथा नियन्त्रण नर्स पनि भनिएको हुन्छ । अस्पतालमा धेरैथरी जीवाणु हुन्छन् त्यस्ता संक्रामक एजेन्टको पहिचान गरी त्यसलाई रोक्न आईपी नर्सको मुख्य भूमिका रहन्छ । उनीहरूको जिम्मेवारी संक्रामक रोगहरूबाट अस्पतालका स्वास्थ्यकर्मी, सेवाग्राही र अन्य बिरामीलाई संक्रमण न्यूनीकरण गर्न सचेत गराउँदै आवश्यक कदम चाल्नु हो । संक्रामक रोगबाट बच्न र बचाउन विभिन्न योजना बनाई कार्यान्वयन गराउनुका साथै स्वास्थ्यकर्मी, सेवाग्राही वा बिरामीहरूको सुरक्षा सुनिश्चित गर्ने अभ्यासहरू प्रभावकारी ढंगले गराउन आवश्यक तालिम र शिक्षा दिनुपर्ने हुन्छ ।
संक्रमणका जोखिमयुक्त अभ्यास र प्रक्रियाहरू पत्ता लगाउन अनुसन्धान तथा अनुगमन गर्नुपर्छ । इग्नाज सेमिमलुइस (जसलाई ‘संक्रमण नियन्त्रणको पिता’ पनि भनिन्छ) ले ‘प्युपेरल सेप्सिस’ संक्रमणका माध्यमको व्याख्या गर्दै स्वास्थ्य सेवाप्रदायकहरूबाट पनि संक्रमण वा रोग सर्न सक्छ भन्ने पत्ता लगाए । उनले स्वास्थ्यकर्मीहरूका लागि हातको सफाइको महत्वबारे पनि धेरै तथ्य बाहिर ल्याएका थिए । पहिलो इन्फेक्सन कन्ट्रोल नर्स भनेर चिनिने फ्लोरेन्स नाइटिंगेलले बिरामीको अवस्थामा सुधार आउनुमा अस्पतालको वातावरणको पनि प्रभाव रहन्छ भन्ने विषयलाई उठाउनुभएको थियो ।
अस्पताल बस्ने क्रममा बिरामीलाई र सेवापुर्याउने व्यक्तिलाई संक्रमण भएर यसबाट प्रतिवर्ष धेरै आर्थिक नोक्सानी भइरहेको छ । एउटा अनुमान अनुसार अस्पतालबाट सर्ने संक्रमणले प्रति वर्ष अमेरिकामा अमेरिकी डलर १० विलियन, मेक्सिकोमा ४५० मिलियन र थाइल्याण्डमा ४० मिलियनको नोक्सानी बेहोर्नु परिरहेको छ ।
एशिया र अफ्रिकामा अस्पतालबाट सर्ने संक्रमणको अभिलेख राख्न नसकिएकाले के कति नोक्सानी हुन्छ भनेर भन्न गाह्रो छ । यी देशहरूमा करिब ८ प्रतिशत बिरामीहरूलाई अस्पतालबाट सर्ने संक्रमण भएको अनुमान छ । यदि अस्पतालमा संक्रमण रोकथामका राम्रा कार्यहरू गर्न सकिएमा हालको संक्रमण हुने दरमा धेरै प्रतिशत कमी ल्याउन सकिन्छ ।