मिलनसार विप्लवको सफलताः जब औषधिको प्रोफेसनतिर छिर्नुभयो…
विप्लव रञ्जित नेपाल न्युट्रास्युटिकल एण्ड कस्मास्युटिकल एसोसिएसन (एनएनसिए) को अध्यक्ष हुनुहुन्छ । उहाँले लामो समयदेखि खाद्य पुरक एवं औषधिको क्षेत्रमा काम गर्दै आउनुभएको छ । निकै मिलनसार हुनुहुन्छ । बि.सं. २०५७ सालमा इन्डियाको बैङ्गोरस्थित एङ्लो फ्रेन्च ड्रग एण्ड इन्डस्ट्रीमा एमआरको जागिरबाट करियर शुरु गर्नुभएको थियो । बि.सं २०५९ सालमा नेपालका लागि ट्रान्सफर हुनुभयो । बि.सं. २०६१ मा कन्ट्री म्यानेजर सम्म हुनुभयो । बि.सं.२०६७ सालदेखि नेपालमा न्युट्रिस्युटिकल्स व्यवसाय सुरुवात गर्नुभयो । अहिले न्युट्रा किङ्ग फर्मुलेसन र टाटा ललना इन्टरप्राइजेज कम्पनि सञ्चालन गर्दै आउनुभएको छ । अन्य दुई तीन वटा औषधि उद्योगमा साइलेन्ट पार्टनरका रुपमा लगानी गर्नुभएको छ । जनस्वास्थ्य सरोकारको यस अंकमा हामीले विप्लवको विगत र वर्तमान प्रस्तुत गरेका छौं । जानौं उहाँको आफ्नै शव्दमा ।
म ९ वर्षको हुँदा बुबा बित्नुभयो । आमा गृहीणी । बुबा तुुलसी रञ्जित कन्या मन्दिरको इङ्लिस टिचर हुनुहुन्थ्यो । मेरा पाँचजना दिदीबहिनीमा म एक्लो छोरा हो । मेरो बुबाका पाँच जना दाजुभाइ । हजुरबुबाको सम्पतिको अझै अंशबण्डा भएको छैन । काठमाडौंको मजिपाट लाखेननी, सितापाइलालगायत ठाउँठाउँमा पैतृक सम्पतिहरु छन् । अहिलेसम्म पनि अदालतमा पाँच जना दाजुभाइमा मुद्धा मामिला चलिरहेको छ ।
मेरो सबैभन्दा ठूलो अभिभावक आमा सोसरह ठूली दिदी ललना रञ्जित हुनुहुन्छ । जो अहिले अमेरिकामा बस्नुहुन्छ । शुरुमा औषधिको प्रोफेसनमा छिर्ने ठूली दिदी नै हो । उहाँ काभ्रा ग्रुपको एकाउन्टेन्ट हुनुहुन्थ्यो । मेरो कम्पनी पनि दिदिकै नाममा छ ।
नेवारी भाषामा सबैभन्दा ठूलो दिदीलाई टाटा भन्ने गरिन्छ । दिदीकै नाममा कम्पनीको नाम टाटा ललना राखिएको छ । ठूलो दिदी ललना रञ्जितको मिहिनेतले अरु चार दिदी र मेरो स्कुलिङदेखिको अध्ययनमा ठूलो टेवा पुग्यो । मेरा सबै जना दिदी हुनुहुन्छ । म एक्लो छोरा हो ।
मैले स्नातक तहसम्मको अध्ययन पूरा गरेको छु । त्यो बेला अलिअलि चञ्चल स्वभावको थिएँ । साथीभाइसँग बढी घुम्न जाने, अलिकति बेसी रमाइलो गर्ने खालको थिएँ । ठूलो दिदीले यसरी हुँदैन भनेर औषधिको प्रोफेसनतिर छिराउनुभयो । दिदीले सबै भाइबहिनीलाई आमा सरह माया गर्नुहुन्छ । उहाँले आजसम्म बिवाह समेत गर्नुभएको छैन । उहाँले परिवारका लागि स्याक्रिफाइज गर्नुभयो ।
सुरुमा माइली दिदीको बिबाह भयो । उहाँबाट एकजना भान्जी छन् अहिले भान्जी अजुर रञ्जित २३ वर्षकी भइन् । हाल उनी अमेरिकामा चिकित्सा शिक्षा अध्ययन गरिरहेकी छिन् । आजभन्दा २१ वर्ष अगाडि भान्जी एक वर्षजतिको उमेर हुँदा माइली दिदीलाई अमेरिकाको डिभी पर्यो । डिभी परेपछि उहाँहरु अमेरिकातिर लाग्नुभयो ।
माइली दिदी अमेरिका गएको केही समयपछि मेरो आमा मंगल लक्ष्मी रञ्जित पनि जानुभयो । त्यसपछि बिस्तारै हाम्रो परिवार सबै अमेरितकातिर सिफ्ट हुँदै गयो । मेरी श्रीमती अञ्जु थापा आम पुलिस फोर्स हस्पिटलमा इन्स्पेक्टर नर्स छिन् । उनको अव्वल कार्यक्षमताको मूल्यांकन भएर अफ्रिकाको जुवामा दुईपटकसम्म शान्ति सेनामा जान सफल भएकी छन् । छनौट भएर अहिले नेपालमा म, छोरी अजला र श्रीमती मात्र छौँ ।
नेपालमा नराम्रो केही पछि छैन । मैले मिहेनतका साथ फुडसप्लिमेन्ट, औषधि लगायत धेरै काम गर्दै आएको छु । आफ्नै मिहेनत र पारिवारिक सहयोगले स्ट्याब्लिष्ट भइएको छु ।
कान्छी दिदी मञ्जिमा रञ्जित अमेरिकाको कोलोराडो युनिभर्सिटीमा रजिष्ट्रर्ड नर्स हुनुहुन्छ । माइली दिदिको टिपार्टमेन्ट स्टोर छ । जेठी दिदी अहिलेपनि अमेरिकामा एकाउन्टेन्टकै काम गर्नुहुन्छ । अहिले आमा ७० वर्ष पुग्नुभयो । अहिलेपनि सक्रिय हुनुहुन्छ । परिवार मज्जाले चलिरहेको छ । साइली दिदी लक्ष्यणा रञ्जित त्रिभुवन विश्वविद्यायमा प्राध्यापक हुनुहुनछ । उहाँको अजलकाजी ताम्राकार नाम गरेका छोरा छन् । कक्षा १० मा अध्ययनरत उनी राष्ट्रिय पौडी खेलाडी हुन् । हालै मात्र उनले राष्ट्रिय पौडी प्रतियोगितामा २ वटा कृतिमान कायम राख्न सफल भइसकेका छन् । काइली दिदी अञ्जना रञ्जित मेरो व्यवसायमा सम्पूर्ण कामकाज हेर्नुहुन्छ । उहाँबाट पनि एउटा छोरा आलज रञ्जित छन् । उनी पनि पौडी खेलाडि दिने नै हुन् । हाल कक्षा ८ मा अधययन गर्छन् ।
सन्तुष्टी
एक हिसावले आफ्नो जीवन सफल नै देख्छु । श्रीमती पनि आत्मनिर्भर छिन् । यसबाट परिवार मज्जाले अगाडी बढ्न मद्धत पुगेको छ । दुवैजना आ–आफ्नो काममा व्यस्त छौँ । श्रीमती कहिले नाइट ड्युटी जान्छिन् त कहिले डे । कहिलेकाँही त हप्तामा एकदुइपटक मात्र भेटघाट हुन्छ । उनको नर्सिङ प्रोफेसन भएकाले कोरोना र डेङ्गु संक्रमण भएको समयमा महिनौसम्म भेट हुँदैनथ्यो ।
अहिले छोरी १० वर्षकी भइन् । उनी स्वस्ती श्री गुरुकुल स्कुलमा कक्षा ६ मा अध्ययन गर्छिन् । विहान ४ बजे नै उठेर स्वीमिङ जान्छिन् । अहिले राष्ट्रिय खेलाडीको दाबेदारमा छिन् ।
बच्चै बेलादेखि स्वीमिङको शौकिन भएकाले ३ कक्षादेखि नै सातदोबाटोमा पर्सनल कोच राखेर स्वीमिङ अभ्यासका लागि पठाउने गरेका थियौँ । छोरी बिहान ४ बजे उठ्छिन । स्वीमिङमा जान छुट्टै गाडीको व्यवस्था छ । स्वीमिङ सिकेर सिधै स्कुल जान्छिन् । गाडीमै बे्रकफास्ट गर्छिन् । स्कुलमा ११–१२ बजेतिर लञ्च हुन्छ । ३ बजे स्कुल सकेर आउँछिन । एक घण्टा घरमा बसेर फेरि ४ बजे सातदोबाटो पुग्छिन । मिहेनती छिन् । बेलुका ११ –१२ बजेसम्म आफ्नो अध्ययनमा व्यस्त हुन्छिन् । गर्छु भन्नेलाई अवसर दिनै पर्छ । पढाइ पनि राम्रो छ । स्कुलमा फस्ट नै हुन्छिन् ।