Logo
|
Sunday 13th October 2024
Logo

epaper

फिटनेस र योगाको कमाल



देविका राई, फिटनेस ट्रेनर/ योगा टिचर

विगतमा म एकदमै मोटी थिएँ । शरीरको तौल ८५ केजी नाघिसकेको थियो । निरन्तर वजन बृद्धि भइरहेको थियो । रोगी मान्छे जस्तो महशुस हुन्थ्यो । यसरी चुपचाप बसेर हुँदैन भन्ने लाग्यो । सामान्य फिजिकल एक्सरसाइज सुरु गरेँ । त्यतिबेला धेरै एक्टिभिटिज गराउने फिटनेश सेन्टर थिएनन् । घरमै डान्स गरेर शरीरलाई मुभमेन्ट गराउथेँ । त्यसपछि पुल्चोकमा डान्स स्टुडियोमा जुम्बा जोइन गरेँ । जुम्बा गरेर थोरै वेट लस भयो । त्यसपछि यही काम किन नगर्ने ? भन्ने लाग्यो । अरुलाई पनि स्वस्थ बनाउने इच्छा जाग्यो । यसैलाई बिजनेसमा कन्भर्ट गर्छु भन्ने सोच आयो । त्यसपछि जुम्बा, एरोबिक र योगाको निश्चित ट्रेनिङ लिएँ । सर्टिफाइड प्रशिक्षक भएँ र आफ्नै फिटनेश सेन्टर सुरु गरेँ । अरुलाई पनि फिटनेस गराएको छु र आफूपनि फिट छु । अहिले शारीरिक तौल ५३ केजी मेन्टेन गर्न सफल छु । एकदमै खुशी छु ।

भित्री मनदेखि नै आनन्द महशुस हुन्छ ।बाहिरी रुपमा फिट देखिएर हुँदैन । मानसिक रुपमा स्वस्थ हुनुपर्छ । यसलाई योगाले जोड्छ । साथै स्प्रिरिच्युअल, आन्तरिक ह्यापिनेस सबैलाई जोडेको छ ।

अहिले ४० वर्ष हुन लागेँ । स्वस्थ महुशस गर्छु । अहिलेसम्म कुनै औषधि खानुपरेको छैन । बिहानदेखि बेलुकासम्म समान रुपमा उर्जा आउने काम गर्छु । बिहान ५ देखि ९ र बेलुका ५ देखि ८ बजेसम्म आफ्नै अलाइभ फिटनेनस एण्ड योगा सेन्टरमा समय दिन्छु । बाँकी समय प्रोजेक्ट अनुसार फ्रिल्यान्सिङ गर्छु । अहिले हरेक दिन ५० जनालाई एरोबिक, जुम्बा र योगाको एक्सरसाइज सिकाउँदै आएको छु ।

फिटनेसको क्षेत्रमा काम गर्न थालेको १२ वर्ष जति भयो । विशेषगरी एरोबिक एक्सरसाइज सिकाउँछु । एरोबिक एक्सरसाइजभित्र कार्डियो एक्सरसाइज, बडी वेट एक्सरसाइज, वेट एक्सरसाइज र जुम्बा पर्दछन् । जुम्बा एकप्रकारको डान्स शैलीमा गर्ने एक्सरसाइज हो । यसमा धेरै भेरियसन हुन्छन् । योगा पनि सिकाउँछु । यी एक्सरसाइजले मुटुलाई राम्रो गर्छ । वेट लस हुन्छ । फ्याट र क्यालोरी वर्न हुन्छ ।

बाहिरबाट हेर्दा स्लिम देखिएर मात्र हुँदैन । वास्तवमा शारीरिक, मानसिक, सामाजिक, आध्यात्मिक र भावनात्मक रूपमा स्वस्थ हुन जरुरी हुन्छ । फिट हुनलाई आफ्नो दैनिक कार्य राम्रोसँग गर्न सक्नुपर्छ । स्ट्रेन्थ, फ्लेक्जिबिलिटी र इन्ड्योरेन्स पावर हुनुपर्छ ।

अहिले मानिसहरु भावनात्मक रुपमा अस्वस्थ छन् । आफ्नो भावना नियन्त्रण गर्न नसक्दा स्वास्थ्य बिगारिरहेका छन् । डिप्रेसनमा जाने, आफ्नो दैनिक कार्य कन्ट्रोल गर्न नसक्ने, एङ्ग्रिनेस (क्रोध) हुन्छन । फिट रहन जीवनशैली र सन्तुलित भोजनाको ठूलो भूमिका हुन्छ ।

तौल घटाउने डायट चार्ट
शारीरिक तौल घटाउन कम खानुभन्दा के खानुपर्छ ? र के खान हुँदैन ? भन्ने जान्न जरुरी छ । साधारणतया मानिसलाई खाना कम खाँदा र फिटनेस सेन्टर जाने गर्नाले तौल घट्न लागेको महसुस हुन्छ तर त्यो गलत हो । तौल घटाउन हामीले आहार योजनामा पोषकतत्व समावेश गर्नुपर्छ । एकैपटक धेरै खानुभन्दा पटकपटक केही समयको फरकमा स्वस्थ खाने कुरा खाइरहन आवश्यक हुन्छ । यद्यपी तौल घटाउन तपाईंको आहार योजना कस्तो हुनुपर्छ ?

खाना खान नछाड्ने
तौल घटाउन चाहने व्यक्तिले खाना खान छाड्नु हुँदैन । दिनभरमा न्यूनतम पनि ३ पटक भोजन गर्न जरुरी हुन्छ । ब्रेकफास्ट, लञ्च र डिनरमध्ये कुनै एकलाई छोड्दा अर्कोपटक धेरै खान सकिन्छ तर यो ठिक होइन ।

बिहान नाश्ता गर्ने
शारीरिक तौल घटाउन कतिपय व्यक्ति बिहानको नाश्ता खाँदैनन तर यो गलत हो । दिनभर गरिने कामलगायतका विभिन्न क्रियाकलापका लागि शारीरिक उर्जाको जरुरत पर्छ । यसका लागि बिहानको नाश्ता नखाई संभव छैन ।

नाश्तामा सँधै एउटै चिज खानुभन्दा हरेक दिन फरकफरक चिज सामेल गर्दा राम्रो हुन्छ । कुनै दिन दूधसँग मकै, चना वा जौको सातु, कुनै दिन भेज स्याण्डवीच आदि खान सकिन्छ ।

लञ्ज कस्तो हुनुपर्छ ?
बिहानको खानामा हरियो सागसब्जी, ताजा दही, छास, खोस्टे दालसँग भात खान सकिन्छ । खानामा हरियो चट्नीको प्रयोगले शरीरमा मल्टीभिटामिन्सको कमी पूरा गर्न मद्दत गर्छ ।

चाँडै डिनर खाने
बेलुकाको खाना सुपाच्य र हल्का हुनुपर्छ । बेलुकाको खाना (डिनर) सुत्नभन्दा दुई वा अढाइ घण्टा पहिले खाइसक्नुपर्छ । यसले खाना पच्न पर्याप्त समय मिल्छ । बेलुका दाल, राजमा, भात खान हुँदैन किनभने यो सजिलैसँग पच्न सक्दैन ।

स्नैक्स
दिउँसो भोक लागेको बेला कुनै हेल्दी स्नैक्स खानुपर्छ जस्तै—सलाद, स्प्राउट्स, फलफूल, जौको च्याँख्लाको पुवा आदि खाना सकिन्छ ।

मौसमी फलफूल र सागसब्जी खाने
प्रत्येक मौसमको फलफूल र सागसब्जी फरकफरक हुन्छन् । त्यसैले आफ्नो आहार योजनामा मौसमी फलफूल र सागसब्जीको प्रयोग गर्नुपर्छ । जुसको सट्टा ताजा फलफूल खान राम्रो मानिन्छ । हरेक सागसब्जीमा फरक फरक किसिमका पोषक तत्व पाइने गर्छ ।

चिल्लो नभएका डेरी उत्पादनको मात्र सेवन गर्ने
तौल घटाउन शरीरमा बोसो बढाउने किसिमका खाने चिजहरु खान हुँदैन । टोण्ड दूधमा चिल्लो हुँदैन । आफ्नो चाहनाअनुरुप यसलाई पिउन सकिन्छ । टोण्ड दूधलाई दही बनाएर पनि सेवन गर्न सकिन्छ ।

पानी धेरै पिउने
दिनभरमा ३ देखि ४ लिटरसम्म पानी वा तरल पदार्थ सेवन गर्न जरुरी हुन्छ । पानीले शरीरमा बोसो कम गर्नुका साथै विषालु पदार्थ शारीर बाहिर निकाल्न मद्दत गर्छ । यसले भोक कम गरी कब्जियत हुनबाट रोक्छ । पानीको सट्टा नरिवल पानी, फलफूलको जूस, सूप, कागती पानी वा मोहीको प्रयोग पनि गर्न सकिन्छ ।

पेट घटाउने उपाय
साधारणतया मानिसहरु शारीरिक तौल कम गर्न लागिरहन्छन् । तर कम्मर र पेट वरपरको बोसो हटाउन सबैभन्दा धेरै समस्या हुन्छ । के तपाईलाई थाहा छ ? कोही मानिस मोटा हुँदैनन तर उनीहरुको पेटको वरिपरि धेरै बोसो हुन्छ । यसले व्यक्तिको पेट ठूलो हुन्छ र आफूलाई मोटो भएको महसुस गरी चिन्तित रहन्छन् । खासगरी, नारीहरु कम्मर पेट वरिपरि जमेको बोसोका कारण टाइट फिटिङ कपडा लगाउन पाउँदैनन् । उनीहरुले टाइड कपडा लगाए पनि यो दृश्य उनीहरुको पर्सनालिटीमा सुहाउँदैन । यदि तपाई आफ्नो पेट र कम्मर सजिलै कम होस् भन्ने चाहनुहुन्छ भने केही टिप्स अपनाउन सक्नुहुन्छ ।

मह फाइदाजनक हुन्छ
मोटोपन कम गर्न मह धेरै सहयोगी हुन्छ । दिनहुँ बिहान पानीसँग महको सेवन गर्नुपर्छ । यसले चाँडै कम्मर र पेटको मोटाइ कम गर्न मद्दत गर्छ ।

ग्रीन टी पिउनुस्
तपाईं चिया पिउन धेरै शौखिन हुनुहुन्छ भने दूध राखेको चिया पिउनभन्दा एन्टिअक्सिडेन्ट भएको ग्रीन टी, लेमन टी वा कालो चिया पिउनुहोस् ।

बिहान हिँड्ने
कम्मर र पेट वरिपरिको बोसो हटाउन सँधै बिहान हिँड्ने गर्नुपर्छ र बेलुकाको खाना खाएपछि पनि टहल्न आवश्यक हुन्छ । यसले पेट र कम्मरको अतिरिक्त क्यालोरी कम गर्न मद्दत मिल्छ किनकि नियमित हिँड्नाले २५ प्रतिशत क्यालोरी घट्ने विभिन्न शोधहरुले देखाएका छन् । चाँडै पेट घटाउने भएमा दैनिक ३० मिनेट वाक सेसन गर्न नभूल्नुहोला ।

सातामा एकदिन उपवास बस्ने
यदि तपाईं खानपानको धेरै शौकिन हुनुहुन्छ र आफ्नो यस किसिमको बानीबाट चिन्तित हुनुहुन्छ भने यसलाई हटाउन सबैभन्दा सजिलो तरिका सातामा एक दिन उपवास गर्नुहोला । यसका साथै सातामा एक दिन तरल पदार्थ मात्र सेवन गरेर पनि बस्न सकिन्छ । जस्तैःशुद्ध पानी, कागति पानी, जुस, दूध, सुप एवं कुनै दिन सलाद र फलफूल मात्र खानुहोस् ।

सन्तुलित खानपान
यदि तपाईंको धेरै जंक फूड र तेलयुक्त खाना खाने बानी छ भने आजैदेखि यस्तो बानी छोडिदिनुस् । खाना सामान्य आटाको भन्दा जौ र चनाको आटा मिलाइ चपाएर खानुहोस् यसले तपाई छिटै स्लिम हुनुहुन्छ ।

सधै केही बदाम खानाले कमरको साइज २४ हप्तामा साढे ६ इन्च कम हुनसक्दछ । त्यसैले आज देखि नै सधै आफ्नो डायटमा सय ग्राम बदामसामेल गर्नुहोस् । यसमा क्यालोरी को साथै फाइबर पनि हुन्छ । तपाइले दिनभरमा २ हजार क्यालोरी लिन आवश्यक हुन्छ ।

पुरा निन्द्रा सुत्ने
पेटको बोसो कम गर्न सन्तुलित खाना र नियमित एक्सरसाइजको साथै पुरा निन्द्रा सुत्न पनि आवश्यक हुन्छ । निन्द्रामा लापरवाही गर्नाले तनावको लागि जिम्मेवार हर्मोन्स रिलीज हुन्छ र पेटमा बोसो बढ्दछ । रातमा ६ देखि ७ घण्टा सुत्ने मानिसको पेटमा बोसो कम हुन्छ ।

योग गर्न जरुरी हुन्छ
कमर र पेट कम गर्न तपाईले नियमित बिहान उठेर योग गर्नुपर्दछ । त्यसै पनि तपाई योग गर्नाले निरोगी रहनुहुन्छ । तर खासगरी पेट र कम्मर घट्ने आसन गर्नुपर्दछ । सधै सूर्य नमस्कारका सबै क्रिया, सर्वागासन, भुजंगासन, व्रजासन, पदमासन, शलभासन आदि गर्ने ।

क्लासिकल र कार्डियो एक्सरसाइज
पेटको बोसो घटाउन कार्डियो एक्सरसाइज सर्वोत्तम हुन्छ । यसले पेटको मांसपेशी ४० प्रतिशत र साइड एब्स ४७ प्रतिशत एक्टिव हुन्छ । यो एक्सरसाइजले पेटको भित्री मांसपेशी पनि राम्रोसँग पुष्ट हुन्छ ।

यी कुरालाई पनि ध्यानमा राख्ने
खाना खाएपछि एक डेढ घण्टापछि पानी पिउनुपर्दछ । यसले पेटर कम्मरको मोटोपन कम हुन्छ । भोक लागेको बेला अलि कम खाने । यसले पाचनक्रिया ठीक रहन्छ र पेट पनि ठूलो हुँदैन ।

प्रतिक्रिया दिनुहोस्