Logo
|
Monday 16th September 2024
Logo

epaper

गुणस्तरहीन खाद्यपुरक ल्याई चर्को मूल्यमा बेच्ने आपूर्तिकर्तालाई सख्त जरिवाना र दण्ड दिने नयाँ खाद्य नियमावली बन्दै

खाद्यपुरक व्यवस्थित र प्रभावकारी बनाउन पूर्ण साथ र सहयोग हुने एनएनसिएका अध्यक्ष विप्लव रञ्जितको प्रतिवद्धता



नेपाल हेल्थ न्युज, काठमाडौं । विना दर्ता गुणस्तरहीन खाद्यपुरक ल्याउने आपूर्तिकर्ताहरुलाई सख्त जरिवाना र दण्डको व्यवस्थासहितको नयाँ खाद्य नियमावली बन्न लागेको छ ।

नेपाल न्युट्रास्युटिकल्स एण्ड कस्मास्युटिकल्स एसोसिएसन (एनएनसिए) ले शुक्रबार शुभकामना दिने क्रममा खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागका नवनियुक्त महानिर्देशक संजिव कुमार कर्णले सो कुरा बताउनुभएको हो । महानिर्देशक कर्णले भन्नुभयो— ‘प्रतिबन्धित खाद्यपुरक ल्याउने आपूर्तिकर्तालाई के कस्तो जरिवाना र दण्ड सजायको व्यवस्था गर्ने भन्ने कुरा नयाँ खाद्य नियमावलीले निर्धारण गर्ने छ ।’


गुणस्तरहीन खाद्यपुरक कसरी पहिचान गर्ने भन्ने नेपाल हेल्थ न्युजको प्रश्नमा उहाँले भन्नुभयो —‘त्यसका धेरै विधि भएकाले ल्यावमा विश्लेषण नै गर्नुपर्छ भन्ने छैन । डकुमेन्टका आधारमा पनि कतिपय स्क्रिनिङ हुन्छ । कतिपय उद्योगहरुले प्रयोग गरेका इन्ग्रिडियन्ट, मेसिनलगायत प्रयोग गरिएका कच्चा पदार्थ र उपकरण आदिका आधारमा पनि गुणस्तर पहिचान गर्न सकिन्छ । सिस्टम सेफ्टी मेनेज्मेन्ट भएका उद्योगहरुको वस्तु ल्याएको अवस्थामा स्वत गुणस्तरयुक्त हुन्छन् । त्यसलाई ल्यावमा जाँच गर्न आवश्यक हुँदैन । तोकिएको विधि र प्रक्रिया अपनाएर उत्पादन गरिएको वस्तु आयात भएको हुनुपर्छ । त्यसलाई हामीले ख्याल गर्दछौं ।’


अहिले विभाग नियमावलीका लागि छलफलमा जुटेको छ । ऐनलाई कसरी व्यवस्थित गर्ने, त्यसलाई कसरी प्रभावकारी बनाउने भनेर नियमावली बनाउने क्रममा रहेको महानिर्देशक कर्णले स्पष्ट पार्नुभयो ।


पछिल्लो समय दर्ता नगरी कतिपयले खाद्यपुरक वस्तु अत्यधिक मूल्यमा बेचिरहेको भन्ने कुरा आइरहेको छ । जनताहरु अत्यधिक मूल्यमा गुणस्तरहीन खाद्यपुरक वस्तु उपभोग गर्न वाद्य छन् । विभागमा गुणस्तर मापन गर्ने भनेर उपकरण राखिएको भएपनि रिएजेन्ट्सको अभावका कारण खाद्यपुरकको गुणस्तर जाँच हुने गरेको छैन ।


आहारपुरक खाद्यवस्तु गुणस्तरयुक्त हुनुपर्ने भएकाले टास्क फोर्स बनाएर अनुगमन गर्ने अभियानमा लागेका छौं । डाक्टरले सिफारिस गर्नुपर्ने खाद्यपुरक ओटिसीमा राखिएको छ । यसबारे नियमावलीमा समेट्ने कि नसमेट्ने भन्ने प्रश्नमा भन्नुहुन्छ—नियमावली बनाउँदैछौं । हामी हेर्छौं । आवश्यक कुरा सम्बोधन गर्दछौं ।


उहाँले उपभोक्ता र आपूर्तिकर्ता दुवैलाई सचेत गराउनुपर्ने आवश्यकता औंल्याउनुभयो । एनएनसिएका अध्यक्ष विप्लव रञ्जितले नवनियुक्त महानिर्देशक कर्णको कार्यकालको शुभकामना दिँदै बजारमा खाद्यपुरक वस्तु व्यवस्थित र प्रभावकारी बनाउन एनएनसिएको पूर्ण साथ र सहयोग हुने बताउनुभयो ।

खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१ वैशाख २३ गते राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै यो खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बाट कार्यान्वयनमा आएको छ । सो ऐनको परिच्छेद ६ ‘ विभाग र प्रयोगशाला’ शीर्षकको २६ नम्बरमा विभागको काम, कर्तव्य र अधिकार अन्तर्गत ख मा ‘आहारपूरक, न्युट्रास्युटिकल, प्रोपाइटरीलगायतका खाद्य पदार्थको खाद्य स्वच्छता व्यवस्थापन प्रणालीको विकास गर्ने तथा खाद्य पदार्थ सम्बन्धी मापदण्ड खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले निर्धारण गर्ने’ उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्