नेपाल आहारपुरक सौन्दर्यवद्र्धक संघ (एनएनसिए) को राष्ट्रिय अधिवेशन शनिबार काठमाडौंमा हुँदै
अध्यक्ष विप्लव रञ्जित भन्नुहुन्छ—‘आहारपुरक र सौन्दर्यवद्र्धक व्यवसायमा धुमिल भन्दा बाहिर जाने व्यवसायीलाई कारबाही र सरोकारवाला निकायको समन्वयमा बजार अनुगमनमा सहजीकरण एवं सहयोग गर्छौं’
नेपाल हेल्थ न्युज, काठमाडौं । मुलुकभर रहेका ६ सय भन्दा बढी न्युट्रास्युटिकल र कस्मास्युटिकल सामाग्रीहरुको आयात र बजारीकरण गर्ने व्यवसायीहरुको एक साझा संस्था नेपाल आहारपुरक सौन्दर्यवद्र्धक संघ (एनएनसिए) को शनिबार राजधानीमा पहिलो राष्ट्रिय अधिवेशन हुने भएको छ ।
व्यवसायिक हकहित, सुरक्षा र सामाजिक उत्तरदायित्व अन्तर्गतको उद्देश्य लिई बि.सं.२०८० साल चैत २२ गते स्थापना भएको थियो । आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा एनएनसिएका केन्द्रीय अध्यक्ष विप्लव रञ्जितले, आहारपुरकको महत्वदेखि सुरक्षित मर्यादित र अनुशासित व्यवसाय सञ्चालनका लागि सम्पूर्ण व्यवसायीहरुलाई एकत्रित गर्ने एवं बजारको अस्वस्थ प्रतिस्पर्धालाई रोक्न बानेश्वरको एभरेष्ट होटलमा हुने राष्ट्रिय अधिवेशनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने जानकारी दिनुभयो ।
सम्मेलनमा देशभर रहेका व्यवसायीलगायत सरोकारवाला सरकारी निकायहरुको उत्साहपूर्ण सहभागिता रहने उहाँले स्पष्ट पार्नुभयो । ‘उत्कृष्ट जीवनको लागि उत्तम पोषण’ भन्ने उद्देश्य बोकेको एनएनसिएका अध्यक्ष रञ्जितले आहारपुरक र सौन्दर्यवद्र्धक व्यवसायमा धुमिल भन्दा बाहिर जाने व्यवसायीलाई कारबाही गर्ने र सरोकारवाला निकायको समन्वयमा बजार अनुगमनमा सहजीकरण र सहयोग गर्ने समेत जानकारी गराउनुभयो ।
आम उपभोक्ता तथा बिरामीहरुलाई पोषणतत्वको अभावले विविध रोग लाग्न सक्ने र त्यसलाई रोक्न न्युट्रास्युटिकल्स प्रोडक्टको महत्व विश्वव्यापी रुपमा बढेको परिप्रेक्ष्यमा नेपालमा पनि यसको आवश्यकता र महत्व बढिरहेको छ । यस्तो अवस्थामा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमति लिएर गुणस्तरीय सामाग्रीहरुको आयात र बजारीकरण गरिरहेको एनएनसिएका वरिष्ठ उपाध्यक्ष सुशान्त मुररकाले बताउनुभयो ।
‘नेपालमा कोराना महामारी र डेङ्गु फैलदा औषधि थिएन । रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने र पौष्टिक आहारयुक्त खानेकुरा खाएर रोगसँग लड्ने क्षमता बढाउनुबाहेक विकल्प थिएन । न्युट्रास्युटिकल शरीरको रोगप्रतिरोधात्मक क्षमता बलियो बनाउने आहारपूरक खाद्य हो । विदेशतिर फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) ले सबै हेर्ने गर्छ । फार्मेसी पसलमा कस्मास्युटिकल र न्युट्रास्युटिकलका सामान छुट्टा छुट्टै र्याकमा राखिएको हुन्छ । आफूलाई मन पर्ने कम्पनीको क्रिम, सन–प्रोटेक्सन खरिद गर्न सकिन्छ । न्युट्रास्युटिकल र कस्मास्युटिकलका उत्पादनहरू उपभोक्ताले छानीछानी खरिद गर्न सक्छन् । तर नेपालमा औषधि, फुड, र कस्मास्युटिकल्स हेर्ने निकाय छुट्टा छुट्टै छ । यसले पनि समस्या सिर्जना गरेको छ । ।’—अध्यक्ष रञ्जितले भन्नुभयो—‘आम उपभोक्ताहरूले न्युट्रास्युटिकल र कस्मास्युटिकल छानेर लिन सक्ने व्यवस्था गर्नुपर्छ ।’
विकसित मुलुकमा न्युट्रास्युटिकलको व्यापार ४ सय गुणाले बढेको छ । यो अधिकांशले प्रयोग गर्छन् । नेपाली आम–उपभोक्तालाई न्युट्रास्युटिकलबारे त्यति ज्ञान छैन । चिकित्सकले बिरामी हुनाको कारण पहिचान गरेर निकट भविष्यमा पुनः बिरामी नहोस् भनेर न्युट्रास्युटिकल प्रेस्क्राइब गर्दै आउनुभएको छ । कतिपय न्युट्रस्युटिकल रोगको उपचारसँगै दिइन्छ । जस्तोः मिर्गौला, क्यान्सरका बिरामीहरुको कपाल झर्ने, जलन, कमजोरीपना, शरीर सुकेर जाने इत्यादि जटिल समस्या देखिन सक्छ । बिरामीको शरीरलाई चाहिने जति पौष्टिक तत्व दाल, भात, तरकारी र मासुले मात्र पुग्दैन । यस्तो अवस्थामा न्युन्ट्रास्युटिकलले आहारपूरक खाद्यको पूर्ति गर्दछ । बिरामीलाई स्वस्थ राख्न सहयोग गर्छ । बिरामीको इम्युनिटी बुस्ट गर्न चिकित्सकहरूले सिफारिस गर्नुहुन्छ ।
खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१ वैशाख २३ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेसँगै यो खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बाट कार्यान्वयनमा आएको छ । यसमा आहारपूरक, न्युट्रास्युटिकल, प्रोपाइटरीलगायतका खाद्य पदार्थको खाद्य स्वच्छता व्यवस्थापन प्रणालीको विकास गर्ने तथा खाद्य पदार्थ सम्बन्धी मापदण्ड निर्धारण गर्ने खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागको जिम्मेवारी उल्लेख गरिएको छ ।
‘वि.सं. २०७१ सालतिर एक जना व्यापारीले विदेशबाट आहारपुरक खाद्य पदार्थ आपूर्ति गर्ने क्रममा भन्सारमा रोकिएको थियो । क्याप्सुल र जेलको रुपमा रहेको आहारपुरकबारे राय लिन भन्सार विभागले औषधि व्यवस्था विभागमा पत्र पठाइयो । तर आफ्नो कार्यक्षेत्र भित्र नभएको भन्दै विभागले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई सिफारिस गर्यो । यसमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पहल गरेको थियो ।’—अध्यक्ष रञ्जितले भन्नुभयो—‘त्यो बेला पनि खाद्य ऐन २०२३ त थियो । तर यसलाई नियमन गर्ने आधार थिएनन् । अमेरिका, बेलायत, भारत, चीनलगायतका देशहरुमा खाद्यले नै यसको नियमन गर्दा रहेछन् । त्यसपछि आहारपूरक खाद्य पदार्थ नियमन कार्यविधि २०७२ तत्कालीन मन्त्रीस्तरीय निर्णयबाट स्वीकृति भएको थियो । हाल अन्तर्राष्ट्रिय गाइडलाइनका आधारमा प्रोडक्ट रजिष्ट्रेसन हुने गरेको छ । खाद्य स्वच्छता ऐन २०८१ अन्तर्गत बन्दै गरेको नियमावलीले खाद्यान्नको गुणस्तर नियन्त्रण, नियमन, मापदण्ड, कारबाही, जरिवानाबारे विस्तृत व्याख्या गरेको छ । बन्दै गरेको नियमावलीमा यसको के कसरी नियमन गर्ने हो भन्ने बारेको विवरण स्पष्ट रुपमा आउने नै छ । ’