Logo
|
Saturday 28th September 2024
Logo

epaper

विप्लव रञ्जितको अध्यक्षतामा नेपाल आहारपुरक सौन्दर्यवद्धक संघ (एनएनसिए) मा १५ सदस्यीय नयाँ कार्यमिति निर्वाचित

सुरक्षित मर्यादित र अनुशासित व्यवसाय सञ्चालनका लागि सम्पूर्ण व्यवसायीहरुलाई एकत्रित गर्ने नवनिर्वाचित अध्यक्ष रञ्जितको उद्घोष



नेपाल हेल्थ न्युज, काठमाडौं । मुलुकभर रहेका ६ सय भन्दा बढी न्युट्रास्युटिकल र कस्मास्युटिकल सामाग्रीहरुको आयात र बजारीकरण गर्ने व्यवसायीहरुको एक साझा संस्था नेपाल आहारपुरक सौन्दर्यवद्धक संघ (एनएनसिए) मा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ ।

काठमाडौंको एभरेष्ट होटलमा भएको संघको प्रथम केन्द्रिय महाधिवेशनले विप्लव रञ्जितको अध्यक्षतामा १५ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो । ६ महिनाभित्र प्रथम केन्द्रिय महाधिवेशन गर्नुपर्ने विधानको प्रावधान अनुरुप २ वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

यसअघिको तदर्थ समिति विघटन गर्दै नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुशान्त मुररका, उपाध्यक्षमा विनोद विष्ट र डा.चन्दन न्यौपाने, महासचिवमा सुरज पौडेल, कोषाध्यक्षमा परशुराम भट्टराई, सचिवमा श्यामसुन्दर श्रेष्ठ, सहकोषाध्यक्षमा अनिल थापा निर्वाचित हुनुभएको छ । संघको सदस्यहरुमा विजय मिश्र, रैनक अग्रवाल, अजय कुमार, सुदिप राज सुवेदी, चिरञ्जिवी अधिकारी, पूर्ण कुँवर, शैलेन्द्र कुमार सिंह निर्वाचित हुनुभएको छ ।


महाधिवेशनको समुद्घाटन गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले हरेक व्यवसायीले उपभोक्ताको हितलाई ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले कसैले गैरकानुनी रुपमा काम गर्न नहुने सुझाव दिनुभयो । महानिर्देशक पौडेलले उपभोक्तालाई मर्का नपर्ने गरी स्वस्थ्यवद्र्धक आहारपुरकको मूल्य निर्धारण गर्नसमेत आग्रह गर्नुभयो ।

सो अवसरमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल बिक्रम कार्कीले शुभकामना दिँँदै आवश्यकता हेरेर खाद्यपुरक वस्तुहरु बिरामीलाई सिफारिस गर्ने गरेको जानकारी गराउनुभयो ।

सो अवसरमा गृह मन्त्रालयका सहसचिव गोविन्दप्रसाद रिजाल, पिडानका अध्यक्ष शिवराज बास्कोटालगायतले विना दर्ता सामान ल्याएर बिक्री गर्ने व्यवसायीहरुलाई कानुनी कठघरामा उभ्याउनुपर्ने र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

एनएनसिएका नवनिर्वाचित अध्यक्ष विप्लव रञ्जितले ‘उत्कृष्ट जीवनको लागि उत्तम पोषण’ भन्ने उद्देश्यका साथ स्थापना भएको संघले आगामी दिनमा सुरक्षित मर्यादित र अनुशासित व्यवसाय सञ्चालनका लागि सम्पूर्ण व्यवसायीहरुलाई एकत्रित गर्ने जानकारी दिनुभयो ।

व्यवसायिक हकहित, सुरक्षा र सामाजिक उत्तरदायित्व अन्तर्गतको उद्देश्य लिई बि.सं.२०८० साल चैत २२ गते नेपाल आहारपुरक सौन्दर्यवद्धक संघ (एनएनसिए) को स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्