तौल घटाउने औषधिः कति फाइदा कति जोखिम ?
नेपाल हेल्थ न्युज, काठमाडौँ । वजन घटाउने औषधिहरूले मानिसको समग्र स्वास्थ्यस्थितिलाई कसरी असर गर्छ भनेर गरिएको पहिलो अध्ययनले त्यसबाट मानव शरीरमा आँखा खोलिदिने खालको प्रभाव पर्ने देखिएको अनुसन्धानकर्ताहरूले बताएका छन्।
करिब २० लाख मानिसहरू सङ्लग्न एउटा तथ्याङ्क विश्लेषणमा त्यस्ता औषधिका कारण मुटुको स्वास्थ्य राम्रो भएको, सङ्क्रमण घटाएको, लागूऔषध दुरुपयोगको जोखिम कम गरेको र डिमेन्सिया हुने मानिसहरूको सङ्ख्या घटाएको देखिएको उल्लेख छ।
अमेरिकी अनुसन्धानकर्ताहरूले तर त्यस्ता औषधि जोखिमरहित भने नरहेको र तिनले हाडजोर्नीको दुखाइ बढाउने र प्यान्क्रियाजमा घातक खालको सूजनको जोखिम बढ्ने चेतावनी पनि दिएका छन्। यद्यपि, यी परिणामहरूको एकदम सावधानीपूर्वक व्याख्या गरिनु आवश्यक छ।
मानिसको शरीरको वजन घटाउने औषधिहरूले निकै धेरै चर्चा पाउने गर्छन् ( तर शरीरमा तिनले पार्ने असरबारे सबै कुरा बुझ्न अझै धेरै कुरा थाहा हुन बाँकी छ।
यो नयाँ क्षेत्र हो, वासिङ्टन युनिभर्सिटीस्थित क्लिनिकल इपिडिमियोलोजिस्ट तथा अनुसन्धानका अगुवा डाक्टर जियाद अल–अलीले भने।
सुरुमा, टाइप टू डाइबिटिजका लागि यिनीहरू प्रमाणित उपचार थिए। त्यसपछि ति औषधीको अतिरिक्त(असरको रूपमा ति औषधी सेवन गर्नेहरूमा उल्लेख्य रूपमा वजन घटेको देखियो। त्यसपछि त ति औषधीहरू, ओजेम्पिक र विगोभी घरघरको नाम बन्न पुगे।
अध्ययनका क्रममा टाइप टू मधुमेह भएका अमेरिकी भूतपूर्व सैनिकहरूबाट प्राप्त तथ्याङ्कको प्रयोग गरिएको थियो जसमध्ये केहीलाई ओजेम्पिक र वीगोभी दिइएको थियो भने केहीलाई नियमित उपचारका औषधी। अन्य १७५ प्रकारका रोगहरूमा ति औषधीहरूको प्रभाव जाँच गर्ने प्रयास गरिएको थियो।
वजन घटाउने नयाँ औषधि लिएकाहरूमा तिनको मुटुको स्वास्थ्यमा सुधार भएको , हृदयाघात र मस्तिष्क घातको जोखिम कम भएको र उच्च रक्तचाप घटाउन पनि मद्दत गरेको पाइयो।
ती औषधिहरूले (मदिरा, ओपिओइड र क्यानाबी) जस्ता मादक तथा लागुपदार्थ दुरुपयोगको जोखिम पनि घटाएको देखियो साथै स्किजोफ्रेनिया, आत्महत्याको विचार आउने र छारे रोग हुने जस्ता जोखिम पनि कम गरेको देखियो।
उक्त अध्ययन छोटो भए पनि र नयाँ औषधी भएकाले, मानिसहरूले साढे तीन वर्षअघि देखि मात्र तिनको सेवन गरिरहेको हुँदापनि ति औषधीले अल्जाइमर्स रोग समेत १२ प्रतिशतले कमी ल्याएको बताइएको छ।
औषधी प्रयोग गरेकाहरूमा कलेजोको क्यान्सर कम भएको, मांसपेशीको दुखाइ र जटिल मिर्गौला रोग र ब्याक्टेरियाको सङ्क्रमण र ज्वरो पनि कम भएको देखिएको छ। अर्को तर्फ, ओजेम्पिक वा वीगोभीको प्रयोग गर्दा मानिसहरूको पाचन प्रणालीमा धेरै समस्या हुनसक्ने देखिएको छ।
बिरामी भएको महसुस हुने, पेट दुख्ने, पेटमा सूजन हुने, आन्द्रामा दुख्ने गरेर गांठाहरू देखिने र रक्तस्राव हुने जस्ता लक्षणहरूको सम्भावना ओजेम्पिक र वीगोभी प्रयोगकर्ताहरूमा देखिएको छ।
पक्कै पनि आँखा–खोलिदिने
नेचर मेडिसिन जर्नलमा प्रकाशित उक्त डेटा अनुसार रक्तचाप कम हुने, बेहोस हुने, टाउको दुख्ने, निद्रा बिग्रिने, मिर्गौलामा पत्थरी हुने र सुन्निने र हाडजोर्नीमा दुखाइका साथै बाथरोग समेत हुने देखिएको छ।
‘विभिन्न अङ्ग प्रणालीमा थुप्रै असर पर्न गएको देखिँदा यो मेरो लागि आँखा खोलिदिने प्रकारको अनुभव भएको भएको छ–डाक्टर अलीले बीबीसी न्यूजसँग भने।
औषधिको व्यापक प्रभावको व्याख्या स्पष्ट र रहस्यमयी दुवै देखिन्छ। अतिसय रूपमा बढेको वजन घट्दा त्यसबाट स्वास्थ्यमा सुधार आउँछ। उदाहरणका लागि, स्लीप एप्निया भएका मानिसहरूको वजन घट्दा त्यसले निदाएका बेला सास रोकिदिने गरि बढेको जिब्रो र घाँटीको क्षेत्रबाट पनि वजन घट्न पुग्छ। तर यि औषधिले शरीरका कोश र तन्तुहरूलाई प्रत्यक्ष रूपमा परिवर्तन गरिरहेको पनि देखिएको छ।
डाक्टर अली भन्छन–‘मोटोपना मष्तिष्का लागि खराब हो। मानसिक स्वास्थ्यका लागि खराब हो। मुटुका लागि खराब हो। सबै बिमारीको जननी नै मोटोपना बन्न सक्छ।’
ओजेम्पिक र वीगोभीमा दुवैमा उही सक्रिय तत्व हुन्छ, सेमाग्लुटाइड, तर भिन्नभिन्न मात्रामा। र त्यसले हर्मोन ग्लुकागन(जस्तो पेप्टाइड–१ को नक्कल गरेर काम गर्छ।
खानेकुरा खाएपछि पेटमा उत्सर्जन हुने त्यस्तो जीएलपी–१ रगतको माध्यम हुँदै बगेर मस्तिष्क कोशिकाहरूको सतहमा हुने साना रिसेप्टरहरूमा टाँसिन पुग्छ।
यसले मस्तिष्कलाई पेटमा खानेकुरा छ भनेर बताउँछ र त्यसैले गर्दा खाना खाइसकेपछि मानिसलाई भोक कम भएको अनुभव हुन्छ। यद्यपि, जीएलपी–१ लाई प्रतिक्रिया दिने रिसेप्टरहरू हृदय र प्रतिरक्षा प्रणालीको केही भागहरू सहित सम्पूर्ण शरीरमा पाइन्छ।
‘यो एकदमै स्पष्ट छ कि यस वर्गको औषधिले मस्तिष्कमा पुरस्कृत गर्ने संयन्त्रलाई दबाउन सक्छ, त्यसैले यसले रक्सी, सुर्ती, जुवा खेल्न खोज्ने प्रवृत्तिप्रतिको आशक्तिलाई रोक्छ–डा अलीले भने।
यसैबीच तल्लो स्तरको सुजन, जुन प्रतिरक्षा प्रणालीमा हुने सावधानीको सूचक हो, त्यसबाट स्वास्थ्यमा विभिन्न प्रकारका प्रभावहरू पर्न सक्छ।
ओजेम्पिक बच्चाहरू
डाक्टर अलीका अनुसार स्वास्थ्यमा पुग्ने फाइदाहरूले गर्दा केही मानिसहरूमा यी औषधि प्रयोग गर्ने चाहनालाई बलियो बनाउन सक्छ।
‘जब यस्ता स्वास्थ्य अवस्थाको जोखिममा रहेका मानिसहरूमा यी औषधीले थप फाइदा गराउँछन् भने, त्यो थपिएको अतिरिक्त फाइदा नै हो–उनले भने।
तर जसको बढेको तौलले उनीहरूको स्वास्थ्यलाई असर गरिरहेको छैन, ‘यि औषधीको सेवनबाट उनीहरूले आफैँलाई पार्नसक्ने जोखिम ति औषधीबाट प्राप्न हुनसक्ने फाइदाको दाँजोमा वास्तवमा नै एकदम धेरै हो।’
यद्यपि, यो अध्ययनमा कमजोरीहरू छन् र तिनले यसको निष्कर्षहरूको दायरालाई सीमित गरिदिएका छन्।
अध्ययनमा समेटिएका अधिकांश भूतपूर्व सैनिकहरू श्वेत पुरुष थिए जुन कारणले गर्दा यसमा खासगरी महिलामा हुनसक्ने असर सम्बन्धी विवरण समेटिन सकेको छैन। त्यस्ता विवरणमा, यी औषधीको सेवनपछि महिलाहरूको प्रजनन क्षमतामा सुधार भएको र गर्भधारण गरेर अप्रत्याशित रूपमा ओजेम्पिक बच्चाहरू जन्माउन सकेको भन्ने जस्ता अपुष्ट दावीहरू बारे उल्लेख गरिएको छैन।
र फेरि केहीलाई अन्य औषधिको सट्टा ओजेम्पिक वा वीगोभी किन दिइयो भन्ने खास कारणहरू पनि हुन सक्छन्। र तिनले अध्ययनको नतिजाबाट जे पत्ता लागेको छ त्यसको वैकल्पिक व्याख्या पनि हुनसक्छ।
सुरक्षात्मक प्रभाव
विस्तारित क्लिनिकल परीक्षणहरूले यो औषधीले मुटुको स्वास्थ्यमा फाइदा पुर्याउने प्रमाणित भइसकेको छ र त्यसको अतिरिक्त असर, साइड इफेक्ट,स्वरूप वाकवाकी लाग्ने हुन्छ। तर अन्य अध्ययनका नतिजाहरूको पनि त्यस्तै खालको गहन परीक्षणहरू हुन आवश्यक छ।
अल्जाइमर्स रोग यस्का लक्षणहरू देखा पर्नु भन्दा एक दशकअघि नै सुरु हुन्छ ( तर यो अध्ययनले सेमाग्लुटाइडको केही वर्षको सेवनले सुरक्षात्मक प्रभाव पार्ने देखाउँछ।
यो प्रभाव वास्तविक हो कि होइन भनेर परीक्षण जारी छ। ‘यस्ता परीक्षणहरूले हामीलाई सत्यको नजिक पुर्याउँछन्,–युनिभर्सिटी अफ ग्लास्गोका प्राध्यापक नवीद सत्तार भन्छन्। ‘भाग्यवश‘ धेरैको नतिजा अर्को एक देखि चार वर्षमा सार्वजिनक हुन सक्नेछन्।’
र यो चाखलाग्दो देखिएपनि उनी भन्छन्, यो पछिल्लो अध्ययनको नतिजाहरू ती औषधिहरू विरामीलाई प्रयोगगर्नका लागि चिकित्सकहरूले सिफारिस गर्ने हालको प्रकृयालाई प्रभावित तुल्याउने गरी बलिया भने छैनन्।
केम्ब्रिज विश्वविद्यालयका प्राध्यापक सर स्टीफन ओराहिलीले यो अध्ययनको नतिजालाई होसियारीपूर्वक व्याख्या गर्न आवश्यक रहेको बताएका छन्। तर यसले मधुमेह भएका मानिसहरूमा औषधिको सुरक्षालाई लिएर ‘उपयोगी आश्वासन’ प्रदान गरेको उनी बताउँछन्।
र उनले अन्य बिरामीहरूमाथिका थप अध्ययनहरूको ‘चासोका साथ प्रतिक्षा भैरहेको’ बताएका छन्। यसमा सबैभन्दा अचम्मको नतिजा हाडजोर्नीमा बढेको दुखाइ थियो किनभने शरीरको तौल घट्दा जोर्नीहरूमा परिरहेको दबाब कम हुन जान्छ।
तर प्रतिरक्षा प्रणालीका केही कोशिकाहरूमा जीएलपी–१ रिसेप्टरहरू थिए भन्नुको मतलब यी औषधिहरूको प्रभाव केही अप्रत्याशित थियो र यसबाट सुजनका समस्याहरूमा अवस्थालाई सहज तुल्याएपनि, अन्यमा भने समस्याको अवस्था बढ्न जाने समेत हुन सक्छ, प्राध्यापक ओराहिलीले भने। बीबीसी