नेपालका १५ हजार एचआइभी संक्रमित बेपत्ता
नेपालका १५ हजारभन्दा बढी एचआईभीबाट संक्रमित बिरामीको रेकर्ड सरकारसँग छैन । ती संक्रमितहरु सरकारी सूचीबाट बेपत्ता भएका कारण अन्य मानिसहरुमा एचआइभी संक्रमण फैलने खतरा बढेको छ ।
सरकारी तथ्याङ्क अनुसार, नेपालमा अहिले ४० हजार ७ सय २३ जना मानिसमा एचआइभी भएको अनुमान गरिएको छ । तर, सरकारी सेवामा आएर परीक्षण गराउनेमा भने जम्मा २५ हजार २ सय २२ जना रहेका छन् । सरकारी सेवा बाहिर रहेका १५ हजार ५ सय १ एचआइभी संक्रमित कहाँ छन् भन्नेबारे स्वयं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पनि थाहा छैन ।
औषधि खाइरहेका संक्रमित बीचमै भागे
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको पछिल्लो तथ्याङअनुसार एचआइभी संक्रमितमध्ये आधा पनि नियमित उपचारमा आएर औषधि खाएको पाइँदैन । केन्द्रका निर्देशक डा . दिपेन्द्र सिंहका अनुसार नेपालमा एचआईभी संक्रमित मध्ये ९ हजार ८ सय १८ जनाले एआरभी (एन्टी रेट्रो भाइरल थेरापी ) सेवा लिइरहेका छन् । तर, औषधि लिने बिरामीहरु पनि भटाभट बीचमै औषधि खान छाडी भाग्ने क्रम बढ्दै गएको छ ।
केन्द्रको तथ्यांकअनुसार गत वर्ष औषधि खाइरहेका एक हजार ५५ संक्रमित औषधि छाडेर लुके । निर्देशक सिंहका अनुसार औषधि छाड्नेमध्ये अधिकांश संक्रमित भारत तथा अन्य देशमा गएको पाइएको छ । तर, संक्रमित बिरामीहरु भने यसलाई मान्न तयार छैनन । संक्रमितका अनुसार औषधि खाने बिरामीहरुलाई अन्यको तुलनामा थप पौष्टिक आहार चाहिने र सरकारले महिनामा जम्मा पाँच केजी मात्र पौष्टिक खानेकुरा दिने हुँदा छाड्नेको संख्या बढेको हो ।
यस्तो छ संक्रमितको तथ्याङ्क
१५ देखि २५ बर्ष उमेर समुहका युवावर्ग एचआइभीमा सचेत भएको दाबी केन्द्रको छ । केन्द्रका अनुसार २००१ देखि २०११ सम्म नेपालको संक्रमितको दर करीब २५ प्रतिशतले घटेको छ । तर यौनकर्मी, समलिङ्गी र तेस्रो लिङ्गीहरुको समुह तथा सुईबाट लागूपदार्थ सेवन गर्नाले एचआईभी एड्स संक्रमण बढी मात्रामा सर्ने गरेको विज्ञहरुले बताएका छन् । सरकारी सेवामा आएकाहरुमा १५ हजार ८ सय ३७ पुरुष, ९ हजार ३ सय ४४ महिला र ४१ जना तेस्रो लिंगी रहेका छन ।
महिला संक्रमित बढी
परीक्षणमा आएका संक्रमितमध्ये सबैभन्दा धेरै महिला यौनकर्मीका ग्राहक छन् । २५ हजारमा यौनकर्मीका ग्राहक मात्रै ९ हजार ४ सय ८८ जना रहेका छन् । त्यसपछि गृहिणीहरु रहेका छन् । भारत ल्गायतका अन्य मुलुकबाट फर्किएका श्रीमानहरुका कारण तथा यौनकर्मीसँग सम्पर्क गरेका पुरुषका कारण गृहिणीमा संक्रमण सरेको हो । तथ्यांकअनुसार अहिले ५ हजार ९ सय ९९ गृहिणी, १८ सय ६४ बालबालिका, बिदेशमा काम गरेर फर्किएका १५ सय ३८, नसाद्धारा लागु पदार्थ सेवन गर्ने ३ हजार ८, यौनकर्मी महिला १२ सय ३५, पुरुषले पुरुषलाई नै यौन सम्पर्क गर्ने ३ सय ६३, रगत तथा अन्य अंग लिनेमध्ये १ सय ५, महिला यौनकर्मीका पुरुष साथि १ सय ४७, विदेशिएका कामदारका श्रीमती ९ सय ७० र अन्य केही ५ सय ५ जनालई संक्रमण छ ।
बेपत्ताको खोजी भइरहेको छ डा. सिंह
एचआइभी नियन्त्रण तथा रोकथामको जिम्मा पाएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. दिपेन्द्ररमण सिंह पनि ‘बेपत्ता’ एचआइभी संक्रमितहरु कहाँ छन् भन्नेमा खोजी भइरहेको बताउँछन् । समयमै ती संक्रमितलाई पत्ता लगाएर उपचारका दायरमा नल्याए देशमा एचआइभीको भयाभह अवस्था आउने उनी बताउँछन् ।
शिक्षित नै परीक्षण गराउँदैनन
उनले बढ्दो शैक्षिक जमात र आधुनिक जीवनशैली हुँदा पनि मानिसहरु एचआइभीका बारेमा खुल््न नसक्दा परीक्षणका लागि आउन डराउने गरेको बताए । ‘शिक्षा र आधुनिक जीवनशैली हुँदैमा मानिसहरु रोगको परीक्षणका लगि आउँछन् भन्ने होइन रहेछ’ उनले भने, ‘एचआइभी र एड्सका सम्बन्धमा जतिसुकै खुलापन र उदारता आएपनि अझै एचआइभी भएकाहरुलाई भेदभाव गर्ने र अवसरवाट बञ्चित गर्ने कारणले उनीहरु उपचारमा आउन नसकेका हुन् ।’
केन्द्रका निर्देशकले भेदभाव र अवसरबाट बञ्चित गर्ने कारण एचआइभि संक्रमितहरु उपचारको दायरमा नआएको बताए पनि एचआइभीका क्षेत्रमा कार्यरत अन्य संघसंस्थाहरु भने यसलाई मान्न तयार छैनन । उनीहरु सरकारल्ो एचआइभीका लागि आएको रकमको सही सदुपयोग गर्न नसक्दा धेरै मात्रामा रहेका संक्रमित परीक्षणको दायरमा आउन नसकेको बताउँछन् । नेपालमा सन १९९० देखि एचआइभी नियन्त्रण तथा रोकथामका कार्यक्रम सुरु भएको थियो । दुई दशकभन्दा लामो समयसम्म पनि एचआइभीको क्षेत्रमा सरकारले उल्लेख्य प्रगति गर्न नसक्दा सरकारी सेवाबाट बाहिर रहेका ती एचआइभी संक्रमितले अन्य व्यक्तिलाई पनि थाहा नपाई एचआइभी संक्रमित बनाउने जोखिम रहन्छ ।
खर्चको सही सदुपयोग भएन
यो शताब्दीको सबैभन्दा ठूलो महामारी एचआइभी एड्स नियन्त्रणका लगि विश्वभर वाषिर्क अर्बौ डलर खर्च हुने गरेको छ । एचआइभी रोकथाम र नियन्त्रणका नाममा नेपालमा पनि बिदेशी डलरको ओइरो त लाग्छ, तर त्यसको तुलनामा उपलब्धी निकै कम छ । विभिन्न दातृ निकायको सहयोग तथा नेपालकै बजेटका आधारमा नेपालमा एचआइभी र एड्स नियन्त्रणका लागि पछिल्लो पाँच वर्षमा ५ अर्बभन्दा बढी खर्च भइसकेको छ । एचआइभीको क्षेत्रमा कार्यरत संस्था राष्ट्रिय एचआईभी र एड्स महासंघ नेपाल (एनएपीएन) का पूर्वअध्यक्ष राजीव काफ्लेले एचआइभी परीक्षणको सेवा विस्तार, उपचार, संक्रमितलाई विभिन्न अवसर तथा भत्ताका नाममा करोडौँ रकम आउने भएपनि त्यसको सही सदुपयोग नहुँदा एचआइभी संक्रमित उपचारको दायरमा आउन नसकेका बताए ।
‘एचआईभी र एड्स नियन्त्रणको लागि दातृ निकायबाट प्राप्त सहयोगको सही सदुपयोग हुन नसक्दा नै नेपालमा बर्षेनी करोडौँ रकम त्यसै खर्च भैरहेको छ’ उनले भने, ‘परीक्षण सेवा विस्तार, जनचेतना अभिवृद्धि तथा संक्रमणका लागि आएको भत्ताको रकम कहाँ खर्च हुन्छ त्यसको खोजी नीति हुनुपर्दछ ।’ उनल्ो एचआइभी परीक्षणको सुविधा विस्तारमा सरकारले उल्लेख्य काम नगरेर नै भेदभावको बाहना बनाएको आरोप लगाए । एचआइभी भएका मध्ये १५ हजार भन्दा बढी संक्रमित बाहिर हुनु नेपालका लागि निकै खतरनाक अवस्था रहेको एचआइभी संक्रमित काफ्ले बताउँछन् । उनले एचआइभी नियन्त्रणका लगि सबै सम्भावित संक्रमितहरुलाई परीक्षणको दायरामा ल््याएर उपचार थाल््नुपर्ने बताए ।
पूरा भएन लक्ष्य
एचआइभीका लगि आएको रकमको सही सदुपयोग हुन नसक्दा नेपालले सन २०१५ सम्म सहश्राब्दी विकास लक्ष्य पनि पूरा गर्न नसक्ने देखिएको छ । २०१५ सम्ममा नेपालमा एड्स रोग रोकथामको प्रयासलाई प्रभावकारी बनाएर संक्रमतिको दरलाई शून्यमा झार्नुपर्ने हुन्छ । तर, नेपालमा एचआइभी नियन्त्रणका कार्यक्रम शुरु भएको दुई दशक पुरा भइसक्दा पनि त्यति धेरै संक्रमित सरकारी सेवाबाट बाहिर हुँदा अबको एक वर्षमा यो लक्ष्य पूरा नहुने पक्का भएको छ ।
नेपालको अवस्था
२०७१ साल, असारसम्म एचआइभी सङ्क्रमितको कुलसंख्याः २५२२२
- पुरुष सङ्क्रमितः १५८३७
- महिला सङ्क्रमितः ९३४४
- सङ्क्रमणको प्रमुख माध्यम यौनकर्मी : ९४८८ ग्राहक सङ्क्रमित
- एचआईभी सङ्क्रमित गृहिणीः ५९९९
- सबैभन्दा बढी सङ्क्रमित उमेर समूहः ३०–३९ वर्ष ९९६१८०
- यौनकर्मी, इन्जेक्सनबाट लागूऔषध लिने र पुरुष समलिङ्गी उच्च जोखिममा
- नेपालको ५८ प्रतिशत वयस्क जनसंख्या सङ्क्रमणको जोखिममा (सन् २०११)
विश्वमा एचआईभी - करिब तीन करोड ५० लाख मान्छेमा एचआईभी एड्स
- सन् १९८१ मा पत्ता लागेको एड्सबाट सन २०१३ मा मात्र १५ लाख मान्छेको मृत्यु । अहिलेसम्म करिब चार करोड मानिस यस रोग मरेका छन् ।
स्रोतः एजेन्सी