Logo
|
Friday 27th December 2024
Logo

epaper

चिसो पस्योः जाडोका रोगबाट बच्न यसो गरौं



डा. लक्ष्मी अवा मेडिकल डाइरेक्टर एवं वरिष्ठ छातिरोग÷श्वासप्रश्वास विशेषज्ञ कान्तिपुर अस्पताल, तीनकुने काठमाडौं ।
डा. लक्ष्मी अवा
मेडिकल डाइरेक्टर
एवं वरिष्ठ छातिरोग/श्वासप्रश्वास विशेषज्ञ
कान्तिपुर अस्पताल, तीनकुने काठमाडौं ।

मंसिर अन्तिम साता परेको हिउँदे झरीसँगै मुलुकभर जाडोको प्रकोप बढिसकेको छ । यो बेला विशेषगरी, श्वासप्रश्वास, छातिका रोग र नाक कान घाँटीको समस्या धेरै देखिने गर्छ । यो चिसो मौसमको एलर्जिक डिस्अर्डर हो । जाडो मौसममा खानपानमा ध्यान नदिने र धेरै चिसोमा रहने कारण मान्छेको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने गर्छ । यस्तो अवस्थामा चाँडै ब्याक्टेरिया र भाइरसले आक्रमण गर्छ । यस्तो बेला बालबालिका, बूढाबूढीहरु बढी जोखिममा रहेका हुन्छन् । पहिलादेखि नै श्वासप्रश्वासको समस्या भएकाहरुमा चिसो मौसममा दम अझ बढ्न सक्छ । खासगरी चिसो मौसममा रुघाखोकी, भाइरल इन्फ्लुएन्जा, ब्रोङ्काइटिस, दम, श्वासप्रश्वास, पिनास, निमोनिया, दादुरा, ठेउला, चिसोको एलर्जी, घाँटीको संक्रमण हुन्छ ।  छाला फुट्ने, चिलाउने, सुन्निने, सेतो कत्ला निस्कने, छाला सुख्खा तथा फुस्रो हुने, चाउरी पर्ने, अनुहारमा कालो र सेतो दाग हुने समस्या देखिनसक्छ । हातखुट्टाका औंला, कान रातो हुने, चिलाउने, सुन्निने र कहिलेकाहीं घाउ हुने, दाद, ओठ फुट्ने, हातखुट्टा फुट्ने, शरीर चिलाउने, हातखुट्टा र जोर्नी सुन्निने अवस्था पनि त्यत्तिकै निम्त्याउ“छ । जोर्नी, श्वासप्रश्वास र दमका पुराना बिरामी, कुपोषित बालबालिकालाई चीसाले बढी आक्रान्त पार्छ ।
जाडोमा सत्रु, दम
बाहिरबाट अक्सिजन लिने र शरीरभित्रबाट कार्बनडाइअक्साइड बाहिर फ्याक्ने प्रक्रियालाई श्वासप्रश्वास भनिन्छ । बाहिरबाट अक्सिजन लिने क्रममा शरीरलाई हानी गर्ने विभिन्न चिजहरु श्वासप्रश्वासको माध्यमबाट शरीरभित्र प्रवेश गरी एलर्जी गराउने कारण श्वासप्रश्वासका रोगहरु हुने गर्छन् । यसले विशेषगरी फोक्सोमा समस्या ल्याउन सक्छ ।
ब्रोन्कीएल आस्थामा (दम) का बिरामीहरुका लागि जाडो मौसम  अभिशाप नै हो ।  चिसो मौसममा प्रायःयस्ता बिरामीहरुलाई एलर्जी हुने गर्छ । चिसो मौसममा ठण्ठी हावा फोक्सोभित्र प्रवेश गर्दा एक्कासी ब्रोंक इस्पाजम अर्थात श्वास नली खुम्चिने कारण निकै समस्या ल्याउन सक्छ । सिओपिडी (क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज)  का बिरामीहरुलाई  चिसो मौसममा समस्या आउँछ । विशेषगरी छातिको समस्या भएका बिरामीहरुको लक्षण उस्तै उस्तै हुने गर्छ ।
लक्षण

  • रुघाखोकी लाग्नेASTHMA-SLEEP-APNEA-facebook
  • ज्वरो आउने
  • छाति दुख्ने (कतिपयमा नदुख्न पनि सक्छ)
  • दम बढ्ने
  • शरीर कमजोर हुने
  • खान मन नलाग्ने
  • जिउ दुख्ने
  • घ्यार घ्यार हुने
  • अक्सिजनको मात्रा कम भई छालाको रंग निलो हुने ।

त्यसैले चिसो मौसममा शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पोषणयुक्त खाना खाने, न्यानो कपडा लगाउने, चिसो पेय पदार्थको प्रयोग नगर्ने, मनतातो पानी पिउने, चिसो पानीले नुहाउन हुँदैन ।

रुघाः जाडोसँगै आउँछ
जाडोयामको मुख्य समस्या भनेको रुघाखोकी हो । कसैलाई छातिको कारणले रुघा लाग्नसक्छ भने कसैलाई नाक कान घाँटीको समस्याले पनि हुनसक्छ । त्यसैले शरीरलाई न्यानो पारेर राखेमा केही हदसम्म चिसोको एलर्जीबाट बच्न सकिन्छ । चिसो मौसममा मन तातो तरल पदार्थ पर्याप्त सेवन गर्नु राम्रो मानिन्छ । सामान्य रुघाखोकी तीनदेखि एक हप्तासम्म रहनसक्छ । यदि लामो समयसम्म रुघा लागिरहेमा सम्बन्धित चिकित्सकको सल्लाह लिन राम्रो हुन्छ ।

परीक्षण गराउनुपर्ने अवस्था

  • सामान्य रुघाखोकीमा कुनै असमान्य लक्षण देखिएमाcommon cold
  • ज्वरो आएमा
  • छातिमा घ्यार, घ्यार भएमा
  • छाती दुखेमा
  • पहेँलो वा हरियो कफ आएमा
  • सास फेर्ने गारो परेमा तुरुन्त अस्पताल गएर परीक्षण गराउनुपर्छ ।  ।

निमोनियाः जाडोको खतरनाक रोग
निमोनिया भनेको फोक्सोको संक्रमण हो । यो ब्याक्टेरिया, भाइरस, फंगसहरुजस्ता शुक्ष्म किटाणुबाट हुन्छ । निमोनिया प्रायः जाडो महिनामा बढी संक्रमण भएको पाइन्छ । यसका धेरै कारणहरु छन् । मुख्य कारण भनेको चिसोको समयमा शरीरको रोग प्रतिरोधात्मक शक्ति कमी हुने भएकाले हुने गर्दछ । निमोनिया बढीजसो बूढाबूढी, धुम्रपान गर्ने व्यक्ति, फोक्सोको दीर्घरोगी, एचआईभी संक्रमित आदिजस्ता व्यक्तिहरुलाई भएको पाइन्छ । निमोनियालाई रोगको किटाणु, फोक्सोको निश्चित ठाउँ र स्थानअनुसार वर्गिकरण गरिएको छ । जस्तैः Community acquired and Hospital acquired। त्यसैगरी स्ट्रेप्टो कोकल, स्टामीलो कोकल, लेगियोनेला, क्लेब्सियला, मोराक्सीला निमोनिया आदि । त्यस्तैगरी फोक्सोको भाग अनुसार भन्नुपर्दा लोबुलार निमोनिया र सेगमेन्टल निमोनिया आदि ।

लक्षण

  • ज्वरो आउने
  • खोकी लाग्ने
  • छाति दुख्ने
  • सास बढ्ने
  • कमजोरीपना महशुस हुने
  • जिउ, टाउको दुख्ने
  • खाना नरुच्ने
  • अक्सिजनको कमी मै ओठ, हात खुट्टा निलो हुने आदि ।
  • रक्तचाप घट्ने
  • कम्फ्यूजन हुने
    यी लक्षणहरु बालबालिकामा पनि उस्तै प्रकारले भएता पनि स—साना बालबालिकाहरु बोल्न नसक्ने भएकाले च्याँठीएर रुने, नखाने, छटपटिएर सुत्न नसक्ने हुन्छन् ।

बच्ने उपाय
चिसोबाट बच्ने, छातिका दीर्घरोगीहरुले नियमित चिकित्सकको सल्लाह लिएर उपचार गराउने, खानपानमा राम्रो ध्यान दिने, पोषण, भिटामिनयुक्त खानेकुरा खाने, धुम्रपान नगर्ने, गुम्सिएको कोठामा नबस्ने (कोठा अक्सिजन आवतजावत गर्ने  किसिमको हुनुपर्छ ।)
उपचार
निमोनियाको उपचार त्यसको अवस्था, कारण र लक्षणअनुसार गरिन्छ । मुख्य रुपमा उपचार भनेको चिकित्सकको सल्लाहअनुसार, एन्टिबायोटिक, एन्टि—फंगल, एन्टीभाइरल औषधिहरु सेवन गर्ने हो । थप उपचार रोगको अवस्थामा भरपर्छ । जस्तैः ज्वरो आएमा ज्वरोको औषधि, भिटामिन, अक्सिजनको मात्रा कम भएमा अक्सिजन लिनुपर्छ । यसका साथै अवस्थाअनुसार सम्बन्धित चिकित्सकसँग जाँच गराएर डायुरेटिक्स, स्टेरोइडहरुपनि लिन सकिन्छ ।

पहिचान
निमोनिया कुनै पनि बिरामीको समयमै उपचार नभए यसले उग्ररुप लिनसक्छ । यसको लक्षणको आधारमा समस्या निर्धारण गर्नुपर्छ । यसलाई CURBS 65 भनिन्छ । बिरामीको यस्तो अवस्था भएको खण्डमा निदान गर्न निकै गा¥ह«ो हुनसक्छ र यस्ता बिरामीहरुलाई आईसीयू, भेन्टिलेटरसम्मको सेवा आवश्यक पर्नसक्छ ।

हाइपोथर्मिया ( शीताङ्ग)
सन् १८१२ मा रसियामा पुगेका नेपोलियन बोनापार्टका धेरै सेना शीताङ्गबाट प्रभावित भएका थिए । शीताङ्ग यस्तो स्थिति हो, जसमा शरीरको तापक्रम सामान्य अर्थात ३५ डिग्री सेल्सियस ९५ डिग्री फरेनहाइट भन्दा कम हुन्छ  । यस्तो बेला हातखुट्टा मात्रै चिसो हुने हैन, सास फेर्नसमेत असजिलो हुन्छ । मुटुको चाल बढ्न थाल्छ, रक्तचाप कम हुन्छ । शरीरको तापक्रम कम भएपछि मृत्युसमेत हुन सक्छ । विज्ञहरूका अनुसार शरीरको तापक्रम सामान्यभन्दा एकदेखि दुई डिग्रीसम्म कम हुने स्थितिमा हातलाई काम गर्न असजिलो हुन्छ, थाकेको अनुभव हुन्छ । यस्तै, दुईदेखि चार डिग्रीसम्म तापक्रम कम हुँदा जीउ काम्न थाल्छ, रक्तनलीहरू खुम्चिन थाल्छन, प्रभावित व्यक्ति पहेँलो हुँदै जान्छ, उसका ओठ र कान नीलो देखिन थाल्छन । शरीरको तापक्रम ९० डिग्री फरेनहाइटभन्दा कम हुँदा प्रभावित व्यक्तिको जीउ काम्न बन्द हुन्छ, उसलाई सोच्न र बोल्न असजिलो हुन्छ । यस्तै, शरीरको तापक्रम ८६ डिग्री फरेनहाइटभन्दा कम हुँदा बिरामी हिँड्न सक्दैन । शरीरका सबै अंगहरूले काम गर्न छोड्छन । शीताङ्गलाई हल्का, मध्यम, गम्भीर र उच्च गरी चार प्रकारमा बाँडिएको छ

  • हल्का शीताङ्गमा शरीरको तापक्रम ९०/९५ डिग्री फरेनहाइट हुन्छ ।
  • मध्यम शीताङ्ग हुँदा शरीरको तापक्रम ८२ देखि ९० डिग्री फरेनहाइटसम्म ।
  • गम्भीर हुँदा ८२ देखि ६८ डिग्री फरेनहाइटसम्म हुन्छ ।
  • ६८ डिग्री फरेनहाइटभन्दा कम तापक्रमको स्थितिलाई उच्च मानिन्छ । यो निकै जोखिमपूर्ण अवस्था हो ।

कसरी जोगिने ?

  • न्यानो लुगाहरू लगाउने ।
  • आवश्यक नभएसम्म चिसोमा धेरै ननिस्कने र घर बाहिर निस्कदा टाउको, घाँटी र कान छोप्ने कपडाहर लगाउने ।
  • न्यानो ठाउँमा बस्ने
  • तरल  पदार्थ पर्याप्त सेवन गर्ने
  • थाकेका बेला आराम गर्ने

फोस्र्टबाइट –हिउँले खाने समस्या
यो हातगोडा हिउँले खाने समस्या हो । यो प्रायः हिउ धेरै पर्ने ठाउँमा देखिन्छ । नेपालमा सगरमाथा चढ्ने क्रममा हिउले औंला, गोडा झर्ने, नाक झर्ने जस्ता समस्या देखिने गर्छ । चिसोले रक्त सञ्चार हुन नसक्दा यस किसिमको समस्या भएको हो । तिब्बत, मंगोलिया, क्यानडा रसिया जस्ता हिउ पर्ने ठाउँहरुमा यस किसिमको समस्या देखिनसक्छ । शरीरको कुनै पनि अंग धेरै लामो समयसम्म हिँउको सम्पर्कमा रहिरहेमा यस किसिमको समस्या हुन सक्छ । त्यसैले शरीरलाई हिँउ वा चिसो वस्तुबाट जोगाउनुपर्छ ।

कार्बनमोनोअक्साइड पोइजनिङ
शरीरका लागि अक्सिजन अति नै आवश्यक पर्छ । कार्वनमोनोअक्साइड धुँवा, गुम्सिएको कोठा आदिमा हुने गर्छ । यसले शरीरलाई निकै हानी गर्छ । यो जाडोयाममा खासगरी आफ्नो लापरवाहीले गर्दा देखिने समस्या हो । चिसोको कारण झ्याल ढोका बन्द गरेर आगो ताप्दा होस पु¥याउनुपर्छ । ढोका थुनेर हिटर ताप्दा कोठामा कार्बनमोनोअक्साइड भन्ने ग्याँसको मात्रा बढ्न जान्छ र सो ग्याँस धेरै समयसम्म शरीरमा प्रवेश गर्दा विभिन्न प्रकारको समस्या देखिन सक्छ वा व्यक्तिको मृत्यु पनि हुनसक्छ । जाडोयाममा ग्याँस गिजरका कारण मृत्यु हुने घटना पनि यसैले गर्दा हो । त्यसैले आगो वा हिटरको प्रयोग गर्दा राम्रोसँग हावा वारपार हुने ठाउँमा बसेर मात्र गर्नु राम्रो मानिन्छ ।

जाडोमा स्वस्थ रहन

  • जाडो याममा बिहानको चिसोमा सकेसम्म हिँडडुल नगर्दा नै धेरै फाइदा हुन्छ । हिँडडुल गर्नैपर्ने भए न्यानो लुगा, टोपी लगाएर बाहिर निस्किनु उचित हुन्छ ।
  • बन्द कोठाभित्र बसेर आगो वा हिटर नताप्ने । राम्रोसँग हावा आवत जावत गर्ने कोठामा मात्र बसेर हिटर वा आगो ताप्ने
  • तातो पानी सकेसम्म धेरै पिउने । चिसो कुराको सेवन नगर्ने
  • भाइरल फ्लु लागेका मानिसहरूबाट दुरी कायम गर्ने
  • मौसमी फलफूल विशेषगरी भिटामीन सि युक्त फलफूलको सेवन धेरै गर्ने
  • श्वासप्रस्वासका समस्या भएकाहरूले यो मौसममा विशेष सतर्कता अपनाउने र समय समयमा चिकित्सकसँग परामर्श गरिरहने ।
  • बालबालिकालाई धेरै बाक्लो लुगा लगाइदिएर गुम्साउनु हुँदैन । भित्र भित्रै तातो भएर पसिना आउँछ र त्यसैको चिसोले अन्य समस्या नित्याउँछ ।
  • जाडो मौसममा तुँवालो लागेको बेला माक्सको प्रयोग गर्नाले पनि धेरै प्रकारका स्वासप्रस्वासका समस्याबाट जोगिन सकिन्छ ।
  • हातगोडा र ओठ फुट्ने वा छाला फुस्रो हुने समस्या भएकाहरूले मोस्चराइजर क्रिमको प्रयोग गर्ने

जाडोमा ओठ फुट्ने समस्याको समाधान
चिसो मौसममा बाहिर निस्कनुभन्दा अगाडि कुनै तैलीय पदार्थ ओठमा दल्ने र केहि छिनपछि सुतीको कपडाले हल््का पुछेर निस्केमा केहि रक्षा हुनसक्छ । राती सुत्दा विशेष गरी ग्लिसरीनमा कागती र गुलाबजल हालेर ओठ, गाला, हात र खुट्टामा दल्नाले फुट्ने प्रक्रिया कम हुन्छ । सुत्ने बेलामा घरमै पाइने घिउ, मखन, दूधको तर आदि हलुका तरीकाले ओठमा दल््नाले फाइदा पुग्छ । शरीरमा पानीको मात्रामा कमी हुँदा ओठ, गाला, हात, खुट्टा फुट्न सक्छन । त्यसैले गर्मी र जाडो दुवै मौसममा पानी पर्याप्त पिउनुपर्छ । ओठ फूटेको बेला बारम्बार ओठ चाटिरहन हुँदैन ।

प्रतिक्रिया दिनुहोस्